काठमाडौं : चालु आर्थिक वर्ष (आव)को चैत ९ गतेसम्म बजेट घाटा झण्डै एक खर्ब नजिक पुग्न लागेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत ९ गतेसम्म सरकारको आम्दानीभन्दा खर्च एक खर्ब ४७ अर्ब ७१ करोड २६ लाख बढी पुगेको छ । सो अवधिसम्म सरकारले कूल छ खर्ब ८१ अर्ब छ करोड ७८ लाख बराबर आम्दानी गरेको छ भने खर्च आठ खर्ब २८ अर्ब ७८ करोड चार लाख गरेको छ ।
यो अवधिमा सरकारले कर राजस्वतर्फ पाँच खर्ब ९४ अर्ब ८२ करोड ७८ लाख र र गैरकर राजस्वतर्फ ६१ अर्ब ३७ करोड १२ लाख असुली गरेको छ भने दुई अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान उठाएको छ । जबकि, सरकारको वार्षिक लक्ष्य हेर्दा कर राजस्वतर्फ १३ खर्ब पाँच अर्ब ४७ करोड ९६ लाख, गैरकर राजस्वतर्फ एक खर्ब १७ अर्ब छ करोड २१ लाख बराबर उठाउने लक्ष्य छ ।
चालु आवमा ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान सहायता लिने सरकारको लिने लक्ष्य रहेकोमा पौने तीन अर्बमा मात्रै सीमित रहन पुगेको छ । चैत ९ गतेसम्म कूल राजस्व आम्दानी कूल राजस्व असुली वार्षिक लक्ष्यको ४६ दशमलब १३ प्रतिशत मात्रै छ । जसमध्ये कर राजस्व असुली ४५ दशमलव ५६, गैरकर राजस्व असुली ५२ दशमलव ४३ र वैदेशिक अनुदान प्राप्ति पाँच दशमलव ५२ प्रतिशत मात्रै रहेको छ । चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको आधा पनि आम्दानी सरकारले गर्न नसकेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । जसले गर्दा बाँकी चार महिनाको अवधिमा उठ्ने राजस्वले कसरी वार्षिक लक्ष्य प्राप्ति हुन्छ भन्ने प्रश्न उठेको छ ।
सरकारले समीक्षा अवधिमा आम्दानी जस्तै खर्च पनि गर्न सकेको देखिँदैन । समीक्षा अवधिमा पुँजीगत खर्च जम्मा २८ दशमलब ९ प्रतिशत, चालु खर्च ५२ दशमलब ३ प्रतिशत र वित्तीय सहायतातर्फ ४६ दशमलब ९६ प्रतिशत खर्च भएको छ ।
चालु आवका लागि लागि सरकारले चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख र वित्तीय व्यवस्थातर्फ तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन गरेको थियो । गत माघ अन्तिम साता मात्रै सरकारले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत् राजस्व र खर्चको अनुमान घटाएको छ । सुरुआती विनियोजित बजेटको ८७ दशमलव ३८ प्रतिशत अर्थात् १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख बराबर मात्रै बजेट खर्च गर्नेगरी संशोधित अनुमान तय गरेको छ । सुरुआती विनियोजनको तुलनामा चालु शीर्षकमा ८८ दशमलव ८४, पुँजीगत शीर्षकमा ८४ दशमलव १३ प्रतिशत र वित्तीय व्यवस्था शीर्षकमा ८७ दशमलव ३९ प्रतिशत खर्च हुने अनुमान सरकारको छ ।
सरकारको आम्दानी र खर्चमा खाडल बढ्दै जाँदा सार्वजनिक ऋणको परिमाण पनि बढ्दै गएको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको फागुन मसान्तसम्ममा नेपालको कूल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड नाघेको छ । यो अवधिसम्ममा आन्तरिक ऋणको दायित्व ११ खर्ब ८५ अर्ब ८२ करोड बराबर छ भने बाह्य ऋणको दायित्व १२ खर्ब दुई अर्ब ७३ करोड बराबर छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies