शारीरिक तथा मानसिक थकानलाई हटाउन पछिल्लो समय स्पा जाने प्रचलन बढ्दै गएको छ । आयुर्वेदिक थेरापीको रुपमा विश्वभरी नै स्पा प्रति चासो बढ्दो छ । १६ वर्षअघि पहिलो पटक नेपाल पर्यटन बोर्डबाट मान्यता प्राप्त र अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार गर्ने पहिलो नेपाली ब्रान्ड हो ट्रान्क्युलिटी स्पा । स्पा प्रति स्वदेशी र विदेशी पर्यटकको रुची बढ्दै जादाँ स्पा व्यवसाय फस्टाउँदै गएको छ । आम मानिसलाई किन आवश्यक छ स्पा थेरापी ? प्रस्तुत छ, नेपालको स्पा थेरापीबाट पर्यटन प्रवर्द्धन र विदेशी मुद्रा कसरी भित्र्याउन सकिन्छ भन्ने बिषयमा ट्रान्क्युलिटीका अध्यक्ष भुवन फैजुसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी ।
हाम्रो शरिरको लागि स्पा थेरापी कत्तिको आवश्यक छ ?
स्पा थेरोपी मानव स्वास्थ्यको लागि अति आवश्यक प्राकृतिक थेरापी हो । पछिल्लो समय शारीरिक भन्दा मानसिक काम धेरै हुने हुँदा समेत शरिरलाई फ्रेसनेसको आवश्यकता पर्छ । शरिरमा तनावबाट नै विभिन्न रोगको प्रवेश हुने हुँदा प्राकृतिक आयुर्वेदिक थेरापीको महत्व विश्वभरी नै बढेको छ । स्पामा साउना, ज्याकुजी, स्टिमदेखि शिरोधारा, बडी स्क्रब, फेस, फुलबडी मसाज, एरोमा थेरापी, स्पाइनल थेरापी र योगाध्यान जस्ता विधि स्वास्थ्यको लागि उपयोगी हुने हुँदा स्वास्थ्यको लागि स्पा थेरापी अनिवार्य जस्तै भएको छ ।
स्पा व्यवसायलाई प्रवर्द्धन गर्न के गर्नुपर्छ ?
नेपालमा ऐतिहासिक रुपमा हेर्ने हो भने हाम्रा ऋषिमुनीहरुले आयुर्वेदिक उपचार पद्दतीको प्रयोग गरेको पाइन्छ । तर, हामीले त्यसलाई बुझ्न सकेनौ । युरोपीयन मुलुकहरु यसलाई बुझे, प्रयोग गरे । विदेशीबाट हामीले अहिले सिक्नु पर्ने अवस्था छ । स्पा मानव स्वास्थ्यलाई रोग लाग्न नदिनका लागि प्रथम उपचार विधि हो । नेपालमा सरकारले कार्यविधि बनाएर स्थानीय, प्रदेश र केन्द्र सरकारबाट प्रवर्द्धन गर्न आवश्यक छ । यो क्षेत्रलाई विकृत बनाउने प्रसास हुने गरेको छ तर, भएको कमजोरीलाई सच्चाएर नेपाल स्पा थेपारीको लागि प्रमुख गन्तव्य हो भनेर प्रचार–प्रसार गर्न सकियो भने विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र पनि बन्न सक्छ ।
तपाईँले भनेजस्तै के नेपाल वेलनेस पर्यटनको लागि उत्तम गन्तव्य बन्न सक्छ ?
अवश्य सक्छ । नेपालको हावापानी नै राम्रो छ । हाम्रोमा प्रत्येक १० किलोमिटर भित्र मौसम फरक–फरक हुन्छ । कुनै पनि देशमा यस्तो हवापानी छैन । नेपालको पर्यटन विकासमा स्पा पर्यटन प्रमुख गन्तव्य बन्न सक्छ । नेपालमा धेरै पर्यटक भित्र्याउने मात्र होइन पैसा धेरै खर्च गर्ने पर्यटक ल्याउन आवश्यक छ । सरकारले थेरापी व्यवसायलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्राण्डिङ गर्न सक्छ । नेपालमा आउने पर्यटकले ४४ डलर मात्र प्रतिदिन खर्च गर्ने तथ्यांक छ, त्यो निकै न्यून हो । भुटानमा पर्यटकले एक दिनमा २ सय ५० डलर खर्च गर्छन् । नेपालमा ५० डलर समेत हुँदैन । यसलाई बढाउने हो भने स्पा वेलनेसलाई नेपालको ब्राण्डको रुपमा विकास गर्न सकिन्छ ।
यसमा हामी निजी क्षेत्र लागेका छौं, सरकारले सहयोग गर्ने हो भने यसबाट राम्रो आम्दानी गर्न सकिन्छ । पर्यटक घुम्न, हिमाल चढ्न, ट्रेकिङ गर्न मात्र आउँदैनन् । कामको तनाव, आरामदायी स्थानको खोजीमा पनि नेपाल आउँछन । त्यसैले, स्पा व्यवसाय नेपालको लागि अवसर पर्यटन क्षेत्रको थप विकासको लागि अवसर पनि हो ।
स्पा क्षेत्रको विकासका लागि अब नियामक निकायले कस्तो भूमिका निर्वाह गर्न आवश्यक छ त ?
हाम्रोमा व्यवसाय सञ्चालन गर्नका लागि नियम कानून नै स्पष्ट छैन । नियम यस्ता बनेका छन की काम नै गर्न नसक्ने अवस्था छ । व्यवसायलाई कसरी सहयोग गर्ने भन्दा पनि कसरी गर्न नदिने भन्ने नीति बन्ने गरेका छन् । अहिले पछिल्लो समय दृष्टिकोण परिर्वतन हुँदै गएको छ । यो क्षेत्रमा राम्रो सम्भावना भएकोले सरकारले व्यवसायलाई प्रवर्द्धन गर्नका लागि काम गर्नुपर्छ । सरकारले कार्यविधि बनाएर व्यवस्थित गर्न आवश्यक छ । विदेशमा यो व्यवसायलाई नम्बर वान मानिन्छ । कुनै औषधी प्रयोग नगरी मानिसलाई उपचार गर्ने प्रद्दती भएकोले समेत कुनै पनि साईड इफेक्ट हुँदैन । यो मंहगो पनि छैन । यसमा राज्यले लगानीको वातावरण बनाउन सक्नुपर्छ ।
स्पाबाट हाम्रो स्वास्थ्यलाई हुने फाइदा के–के छन् ?
यसमा फाइदै फाइदा छन् । हामीले जन्मदेखि मृत्युसम्म निरन्तर गर्नु पर्ने काम हो स्पा मसाज । यो कुनै नौलो पनि होइन । कतिपय सामान्यदेखि दिर्घरोग थेरापी गरेर निको हुन सक्छ ।
यसले मानिसमा रोगसँग लड्ने क्षमताको विकास गराउँछ । मेमोरी पावर बढाउने, ब्लड प्रेसर, सुगरजस्ता समस्यालाई समेत कम गर्छ । अनगिन्ती फाइदा छ । धेरैलाई थाहा नभएर मात्र हो । आफ्नो अनुकुल समयमा यसको प्रयोग गर्न सकिन्छ । पछिल्लो पुस्ताको यो क्षेत्रप्रति रुची बढेको पाइन्छ । बजारमा डिमाण्ड समेत राम्रो बन्दै गएको छ ।
ट्रान्क्युलिटीको व्यवसाय कस्तो छ ?
ट्रान्क्युलिटीको अहिले देशभर २२ वटा आउटलेट छन् । काठमाडौं, पोखरा, र नेपाल बाहिर मलेसियामा समेत हामीले सेवा दिएका छौं । हाम्रो व्यवसायले नेपालमा महँगा पर्यटक भित्र्याउनका लागि समेत काम गरिहेको छ जस्तो लाग्छ । अहिले विदेशी पर्यटकले नेपालमा निकै नै कम खर्च गरिरहेका छन् । हामीले पर्यटक नेपाल आएर पनि खर्च गर्ने वातावरण बनाउन सकेका छैनौं । अब सस्तो भन्दा पनि महँगो पर्यटक ल्याउन पर्छ ।
नेपाल अर्थतन्त्रलाई राम्रो बनाउन स्पा टुरिजम धेरै महत्वपुर्ण छ । अहिले जति पर्यटकले खर्च गरेका छन्, त्यो भन्दा ६ गुणा बढी खर्च गराउन सकिन्छ । ट्रान्क्युलिटी निरन्तर अगाडि बढिरहेको छ । अहिले हाम्रो प्रतिस्पर्धी नै छैन भन्दा हुन्छ । हाम्रा सर्भिसलाई गुणस्तरीय बनाइरहेका छौं । तालिम आफै दिन्छौं । नेपाली उत्पादन प्रयोगलाई विषेश ध्यान दिन्छौं ।
हामी एक दुई घण्टामात्र शान्त स्थानमा दिनभरी नै मेडिटेसन सहितको प्रोजेक्टको तयारीमा छौ । पाँचतारे होटलहरु सोल्टी, चन्द्रागरी हिल्स, र्याडिसन, चारतारे होटल शंकरका साथै पर्यटकीय नगरी ठमेलदेखि पोखरासम्म आउटलेट सञ्चालन गरेका छौं । देशबाहिर मलेसियामा समेत दुईवटा आउटलेट छन् । यसरी हामी चेन व्यवसायको रुपमा विस्तार गरेर स्पा डेस्टिनेसन नेपाल बनाउने प्रयास गरिरहेका छौं ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies