कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : विपद् जोखिम न्यूनीकरणमा सहयोग पुर्याएबापत नेपाल टेलिकम सम्मानित भएको छ । एक समारोहबीच जल तथा मौसम विज्ञान विभागले टेलिकमलाई सम्मान गरेको हो ।
विभागले टेलिकमलाई विभागबाट सम्प्रेषण पूर्वसूचना सन्देशहरु २०७३ सालदेखि अनवरतरुपमा निःशुल्क मास एसएमएस सेवामार्फत सर्वसाधारणमा पुर्याएर विपद् जोखिम न्यूनीकरणमा योगदान पुर्याएकोमा नेपाल टेलिकमको भूमिकाको उच्च सम्मान गर्दै कदर पत्र प्रदान गरेको हो ।
काठमाडौंमा आयोजित नेशनल वर्कसप अन अर्ली वार्निङ सिस्टम कार्यक्रममा जलस्रोत तथा सिंचाइ सचिव सुशिल चन्द्र तिवारीले नेपाल टेलिकमलाई सो कदर पत्र प्रदान गरेका थिए ।
नेपाल टेलिकमका देशैभर रहेका दूरसञ्चार पूर्वाधारहरु जल तथा मौसम विज्ञान विभागको अर्ली वार्निङ सिस्टम कार्यक्रमअन्तर्गतको कम्यूनिकेशन र डेजिमिनेशन प्रयोजनका लागि प्रयोग भइरहेको छ । विपद् जोखिम क्षेत्रमा सूचना संकलन र सूचना प्रवाहका लागि यी पूर्वाधारहरु प्रयोग हुँदै आएका छन् ।
सूचना संकलनअन्तर्गत बाढी, पहिरोलगायतका विपद जोखिम क्षेत्रमा रहेका वेदर स्टेशनहरुबाट जल तथा मौसम विज्ञान विभागको केन्द्रीय सर्भरमा मौसमसम्बन्धी सूचना संकलनका लागि नेपाल टेलिकमका सिमकार्डमार्फत एमटुएम प्रविधिको प्रयोग गरी कनेक्टिभिटी उपलब्ध गराएको छ । नेपाल टेलिकमले यसका लागि ३०० एमबी डाटा सुविधासहितको सिमकार्ड उपलब्ध गराएको छ ।
सम्बन्धित क्षेत्रमा रहेका आमनागरिकहरुलाई सम्भावित जोखिमबाट सतर्क गराउन ११५५ कोडबाट पूर्वसूचना प्रवाह गर्दै आएको छ । नेपाल टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको नम्बर मौसम विज्ञान विभागलाई उपलब्ध गराउदै आएको छ भने सबै सेवा निःशुल्करुपमा उपलब्ध छ ।
विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकाले कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य हुँदै आएको छ । यो सहकार्य २०७३ सालदेखि नै निरन्तर रहेको टेलिकमले प्रदान गर्दै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies