पुर्ण कुमार/मध्यान्ह
डोल्पा : डोल्पामा झारल काट्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् । त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रमा झारल मारेर काट्दै गरेको अवस्थामा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
सोमबार त्रिपुराकोट प्रहरी चौकीका इन्चार्ज रमेश बहादुर सिंह नेतृत्वको टोलीले खुकुरीसहित त्रिपुरासुन्दरी नगरपालिका-९ का ३६ वर्षीय लक्ष्मीनारायण पुनलाई पक्राउ गरेकाे हाे । प्रहरीले पुनलाई त्रिपुरासुन्दरीमा पर्ने धाउने भन्ने स्थानमा मारेकाे झारल भाग लगाउनका लागि काट्नै लागेकाे अवस्थामा पक्राउ गरेकाे हो ।
सिंहका अनुसार सोमबार बिहान धाउने भन्ने स्थानमा गाेली हानेर पुनले झारल मारेकाे बुझिएकाे छ । झारल फागुन ११ गते शे फाेक्सुण्डाे राष्ट्रिय निकुन्जकाे मध्यवर्ती क्षेत्र त्रिपुराकाेटमा देखा परेकाे थियाे । पुनले झारल मार्न प्रयाेग गरेकाे बन्दुक त्रिपुरासुन्दरी-१० दापु निवासी बद्री शाहिलाकाे रहेकाे अनुसन्धानमा खुलेकाे त्रिपुराकोट प्रहरी चौकीले बताएको छ ।
घटनास्थलमा बरामद हतियारसहित पुनलाई डिभिजन वन कार्यालय डोल्पामा बुझाउने गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोल्पा लगिएकाे छ । डिभिजन वन कार्यालय डोल्पाका प्रमुख मुन रावतका अनुसार अनुसन्धानपछि पुनविरुद्ध वन्यजन्तु चाेरी पैठारी एवम् चाेरी शिकारी ऐन अनुसार कारबाही हुने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies