तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा कतार : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनएन एनसीसी) कतारको आयोजनामा इस्लाम धर्मावलम्बीहरूको पवित्र चाड इद उल फितरको अवसरमा आयोजित शुभकामना आदान–प्रदान, बृहत इफ्तार र फुटवल प्रतियोगीता सम्पन्न भएको छ । दोहामा चलिरहेको दोहा एक्सपोमा रहेको नेपाल पभिलोनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
एनसीसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत डा.नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको शुभारम्भ गर्दै धर्म गुरु हजरत मौलाना कारी कलिमुल्लाह नदबिले कुरान तिलावत वाचन गरेका थिए । त्यस्तै धर्मगुरु मौलाना गुलाब नबी रिज्वीले (नात ए कलाम) इस्लाम धर्म र रोजाको बारेमा बताउँदै पैगम्बर हजरत मोहम्मदको प्रशंसा गरेका थिए । पवित्र महिना रमदानको विशेषता, रमजान महिनाको रोजा उपवास र व्रतको बारेमा प्रोफेसर मोहमद रमजान अलि मियाले प्रस्ट पारेका थिए ।
एनसीसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य राखेको कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि ढकालले इफ्तार कार्यक्रमले नेपालीहरूको पारिवारिक माहोल बढेको बताए । जुन कुनै धर्म संस्कृति सबैको एउटै लक्ष्य मानसिक, शारीरिक, शान्ति समाज र मानव कल्याण रहेको र इस्लाम धर्मावलम्बीको मात्र धर्म नभइ हामी सम्पूर्ण नेपालीहरूको धर्म रहेको बताउँदै शुभकामना व्यक्त गरे ।
महासचिव रबिन मगरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति भट्टले हामी नेपाली हाम्रो देश नेपाल भौगोलिक जातीय एवं धार्मिक रूपमा विविधता भएपनि सबै जातजाति धर्म संस्कृति मिलेर बसेको साझा फूलबारी बताउँदै एनसीसी कतारले सबै धर्म जाती र क्षेत्रका चाडपर्वहरूलाई अपनत्व गर्दै विगतदेखि नै विभिन्न कार्यक्रम गर्दै आइरहेको र यस्ता कार्यक्रमले हामीहरु बीचको सद्भाव भाइचारा बढ्ने बताए । कार्यक्रमका लागि सहज वातावरण एक्स्पोले दिएको स्थानलाई हार्दिक कृतज्ञता प्रकट गर्दै उपस्थित धर्म गुरु लगायतलाई आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा एनआरएनए आइसीसी, एनसीसीसहित कतारमा स्थापित विभिन्न प्रदेश, जिल्ला संस्थाका प्रमुख तथा प्रतिनिधि धर्म गुरुहरूको उपस्थिति सहित मन्तव्य रहेको थियो । कार्यक्रम पश्चात् अतिथीगणले एक्स्पोरो अवलोकन गरेका थिए ।
फुटबल प्रतियोगिता सम्पन्न
इफ्तार कार्यक्रम लगत्तै अलबिदामा रहेको फुटबल ग्राउन्डमा एनसीसी कतार र सीएफसीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । ७/७ जनाको टिम निर्माण गरी ६० मिनेटको सीमा राखेर खेलाइएको खेलमा एनसीसीका तर्फबाट राज देवकोटाले २ गोल गरेका थिए भने सीएफसीले ३ गोल गर्दै प्रतियोगिताको विजयी बनेको थियो ।
एनसीसी कतारका अध्यक्ष भट्टले बल पास गर्दै खेलको शुभारम्भ गरेका थिए । आगामी बकर इदको अवसर पारेर कतारमा अवस्थित नेपाली समुदायमा रहेका खेलाडीहरू समेटेर फुटबल प्रतियोगिता आयोजना गर्ने योजना रहेको एनसीसी कतारका वरिष्ठ उपाध्यक्ष पन्थीले मध्यान्हलाई जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies