दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा छन् । ९ दिने चीन भ्रमणमा रहेका श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बुधबार बेइजिङमा भेटवार्ता भएको छ । त्यसअगाडि श्रेष्ठले अन्य चिनियाँ नेताहरुसँग समेत भेटवार्ता गरेका थिए ।
भेटवार्ताका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयनबारे नेपालको तत्परताको सम्बन्धमा चीनको चासो प्रकट भएको छ । बीरआरआई कार्यान्वयनलाई लिएर नेपालमा हुने गरेका बहसप्रति पनि चिनियाँ पक्षको चासो रहेको छ । तर, परराष्ट्रमन्त्री श्रेष्ठले बिआरआई कार्यान्वयन कार्ययोजनामा चाँडै हस्ताक्षर गर्ने गरी संवाद गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा दुवै नेताले दुईपक्षीय सम्बन्धको अवस्था मूल्यांकन गर्दै थप उचाइमा पुर्याउन मिलेर काम गर्ने प्रतिबद्धता जनाएका पनि छन् । चिनिया लगानीमा नेपालमा संचालित विकास आयोजनाहरुको छिटो कार्यान्वयनमा पनि दुवै पक्षले जोड दिएका छन् ।
साथै, भेटमा वाङले गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा राष्ट्रपति सीसँग भएको भेटमा द्विपक्षीय सम्बन्धको विकासका लागि महत्वपूर्ण सहमति भएको उल्लेख गर्दै त्यसको सशक्त कार्यान्वयन र बीआरआई सहयोग प्रवद्र्धन र नागरिकस्तरको सम्पर्कमा वृद्धि गर्नमा जोड दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा भएका सहमति तथा सम्झौता कार्यान्वयनलगायत विषय स्मरण गरे । साथै, परराष्ट्रमन्त्री श्रेष्ठले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण तथा चिनियाँ विमान खरिद गर्दाको ऋण मिनाहाका लागि कूटनीतिक पहल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ व्यवसायीलाई नेपालमा लगानी गर्न समेत भनेका छन् । चीनस्थित नेपाली दूतावासले आयोजना गरेको पूर्वलगानी सेमिनारलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आउँदो महिना नेपालमा लगानी सम्मेलन हुने भन्दै सहभागिताका लागि आग्रह गरे । नेपाल चिनियाँ लगानीकर्ताका लागि उत्कृष्ट गन्तव्य हुने दाबी गर्दै उनले सरकारले आवश्यक सुविधा दिन तयार रहेको बताएका छन् ।
९ दिने भ्रमणका क्रममा मन्त्री श्रेष्ठले अन्य चिनिया नेताहरुसँग समेत भेटवार्ता गर्नेछन् । उनी छोङछिङ, तिब्बत र सिचुआन प्रान्त जाने कार्यक्रम पनि छ ।
मन्त्रीस्तरीय संयन्त्र निर्माण
नेपाल र चीनमा परराष्ट्र मन्त्रीस्तरीय संयन्त्र निर्माण भएको छ । भारतसँग नेपालको मन्त्रीस्तरीय संयन्त्र यसअगाडि देखि नै क्रियाशिल छ । भारतको जस्तै संयन्त्र नेपालले चीनसँग पनि बनाएको होे ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल–चीन सम्बन्धका सबै विषयको समीक्षा र भावी दिनको कार्यदिशा तय गर्न सन १९९६ मा दुवै मुलुकका परराष्ट्र सचिवस्तरमा संयन्त्र गठन भएको थियो । अब मन्त्रीस्तरीय संयन्त्र बनेको छ ।
यसका अलावा, नेपाल–चीन सीमा क्षेत्रमा रहेका १४ वटा परम्परागत नाकालाई सञ्चालनमा ल्याउने लगायतका समझदारी भएका छन् । चीन जाने नेपाली नागरिकलाई भिषा शुल्क निशुल्क गर्ने लगायतका विषयमा पनि चीन सकारात्मक भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies