सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको यमुनामाई गाउँपालिकाका अध्यक्ष शेख साउदले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई मर्यादित रुपमा दिन आग्रह गरे ।
बिहीबारदेखि शुरु हुने परीक्षाका लागि दुई वटा परीक्षा केन्द्र निर्धाण गरिएको उनले बताए । दुई वटा परीक्षा केन्द्रमा परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको उनले जानकारी दिए । उनका अनुसार यमुनामाई माध्यमिक विद्यालय, झुनखुनवा माध्यमिक परीक्षा केन्द्र तोकिएको छ । परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रुपमा सम्पन्न गराउन उनले आग्रह समेत गरे । परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तोक्नुका साथै उत्तरपुस्तिका कार्यालयमा र प्रश्नपत्र जिल्ला प्रहरी कार्यालयमा पुगिसकेको शिक्षा विकास तथा समन्वय एकाई रौतहटले जनाए ।
शिक्षा विकास तथा समन्वय ईकाइ अधिकारी रामविनय सिंहले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले निरीक्षण गर्ने बताए । उनका अनुसार मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्रलगायतका निकायलाई समेटेर प्रदेशस्तरीय अनुगमन टोलीले अनुगमन गर्नेछ । जिल्लामा ९ हजार ४६९ जनाले यस वर्ष माध्यमिक शिक्षा परीक्षा एसईईमा सहभागी हुने भएका छन् ।
यहाँ ३९ वटा परीक्षा केन्द्र निर्धारण गरीएको उनले जानकारी दिए । शिक्षा विकास तथा समन्वय एकाई रौतहटले चैत्र १५ गते देखि हुन लागेको परीक्षाको तयारी पूरा भएको जनाइएको हो । परीक्षा चैत्र २७ गते मंगलबारसम्म सञ्चालन हुनेछ । मधेश प्रदेशको आठ जिल्लामध्ये सबभन्दा बढी विद्यार्थी धनुषामा र सबभन्दा कम सप्तरीमा परीक्षा दिने परीक्षार्थीको संख्या रहेको छ ।
धनुषामा ४ सय ८९ जना प्रविधिक तर्फका गरी १२ हजार २ सय १४ जना विद्यार्थी एसईई दिने शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ । धनुषामा परीक्षार्थीका लागि ४३ वटा परीक्षा केन्द्र तोकिएको छ । यसैगरी सप्तरीमा नौ हजार ३ सय २३ जना विद्यार्थी एसईईमा सामेल हुने भएका छन् । त्यस्तै, सिराहामा १० हजार ९ सय २३, महोत्तरीमा नौ हजार ४ सय ३१, सर्लाहीमा १० हजार ८ सय ९६, बारामा नौ हजार ४ सय ४४ र पर्सामा १० हजार ६८ विद्यार्थीले एसईईमा सहभागी हुने छन् । मधेश प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ८१ हजार ७ सय ६८ जना विद्यार्थी सहभागी हुने भएको शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies