सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको आर्थिक वर्ष २०८०/२०८१ मा भएका योजनाहरुको पहिलो र दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम छत्रदेवमा सम्पन्न भएको छ । कार्यक्रममा छत्रदेव गाउँपालिकाका सबै विषयगत शाखाका प्रमुखहरु तथा ८ वटै वडा अध्यक्षहरुले आर्थिक वर्ष २०८०÷२०८१ मा वार्षिक रूपमा सञ्चालन भएका योजना आयोजना, कार्यक्रम तथा भौतिक र आर्थिक प्रगति प्रस्तुत गर्दै समग्र नगरपालिकाको विकास बारे वडा तहको संरचनाबारे जानकारी गराएका थिए ।
छत्रदेव गाउँपालिकाको भौतिक प्रगति ४६ प्रतिशत र आर्थिक प्रगति ४१ प्रतिशत भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले जानकारी दिए । गाउँपालिकाभित्र २ सय १७ वटा योजना रहेकोमा हालसम्म १ सय ५६ योजना सम्झौता भएको योजना शाखाका प्रमुख शिव बर्माले जानकारी दिए । ४४ वटा योजनाहरुको काम सम्पन्न भइ भुक्तानी समेत भइसकेको बर्माले बताए । गाउँपालिकाभित्र २ वटा योजना वहुवर्षीय रहेकोमा काम निरन्तर चलिरहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले गाउँपालिकामा प्रत्यक्ष अनुभूति गर्ने गरी र सबै जनताले देख्ने गरी विकास निर्माणका कामलाई अगाडि बढाउन सबैले सहयोग गर्नुपर्ने बताए ।
पालिका अध्यक्ष श्रेष्ठले भने,‘समग्र विकासको अवस्था हेर्दा निर्माण कार्य सम्पन्न भएका योजनाहरु व्यवस्थित र संरक्षण नहुँदा जीर्ण हुने अवस्था आएको छ, सबै कामको समग्र समीक्षासहित अगाडि बढ्नुपर्ने बेला आएको छ ।’ गाउँको दिगो विकास र समृद्धिका लागि कृषि र पर्यटन शिक्षा स्वास्थ्यलाई केन्द्र भागमा राखेर काम गर्ने भन्दै अध्यक्ष श्रेष्ठले सबै सरोकारवाला पक्ष एक भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थिले जनताको माग र आवश्यकताको आधारमा विकास निर्माणको कामलाई अगाडि बढाउनुपर्ने भन्दै सबै पक्ष तथा जनताको सहभागिताबाटै सबै काम अगाडि बढाउने बताइन् । सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले सबै सरोकारवालाहरूले सहयोग गरेमात्र पालिकाले विकासलाई तीव्रता दिनसक्ने बताउँदै अहिले जनताको चाहना अनुसार आफुले काम गरिरहेकाले पनि काम द्रुत गतिमा अगाडि बढेको बताए । उनले कर्मचारी सरुवा बढुवाले समेत काममा असर परिरहेको गुनासो गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies