मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भए । गृहमन्त्रालयको कामकारबाहीको विषयमा छलफल गर्न बोलाइएको बैठकमा सांसदह्रले सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै लामिछानेलाई प्रश्न गरे ।
नेपाली कांग्रेसले गत फागुन २४ गतेदेति नै संसदमा लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ । लामिछानको सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको माग रहेको छ ।
यही बेला बसेको संसदीय समितिको बैठकमा समेत प्रश्न उठेपछि गृहमन्त्री लामिछानेले सहकारीको रकम ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको भनी स्पष्टीकरण दिए ।
सहकारी ठगीमा आफ्नो नाम मात्रै मुछिएको गृहमन्त्री लामिछानेको प्रष्टीकरण छ । ‘जहाँ मेरो नाम छ भनिएको छ त्यहाँ मेरो नामबाहेक केही पनि छैन’ उनले भनेका छन्, ‘न हस्ताक्षर छ न ल्याप्चे छ, न मैले कुनै निवेदन दिएको छु, न सामान्य केवाइसी भरिएको छ । केही पनि भरिएको छैन । म माथि अनुसन्धान भएको छैन । उक्त प्रकरणसम्बन्धी बयानमा कसैले मेरो नाम लिएको छैन र म विरुद्ध मुद्दा पनि परेको छैन ।’
संसदीय समितिको बैठकमा गृहमन्त्री भन्दा अगाडि बोलेका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले लामिछानेको बचाउ गरेका थिए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिन शुरु गरेर नसकिँदासम्म गृहमन्त्री लामिछानेले पद छाड्नुपर्ने माग गरिरहेका बेला आईजीपी कुँवरले नै गृहमन्त्री लामिछानेको बचाउ गरेका हुन् ।
यसअघि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै लामिछानेको बचाउ गरेका थिए । चैत ६ गते प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सहकारीको ठगी प्रकरणमा लामिछानेको कुनै संलग्नता नरहेको प्रहरी बृफिङ रहेको बताएका थिए ।
सरकारमा सहभागी भएपछि एमालेले पनि लामिछानेमाथिको प्रश्न राजनीतिक भनिरहेको छ । यहीबेला आईजीपीले पनि गृहमन्त्री लामिछानेको प्रतिरक्षा गरेका हुन् ।
प्रहरी प्रमुखले समेत गृहमन्त्रीको प्रतिरक्षा गरेपछि उनीमाथिको अनुसन्धान हुनेमा आशंका भएको कांग्रेस नेताहरु बताउँछन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरण छानबिन नसकिएसम्म गृहमन्त्रीबाट बाहिरिन लामिछानेलाई सुझाव दिएका थिए । छानबिनको निष्पक्षता र विश्वासनीयताका लागि पनि गृहमन्त्री पदमा बस्न नहुने कांग्रेसको माग छ ।
जवाफमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नभएको जिकिर गरेका ह्न् । छानबिन गर्ने निकायले आफ्नै ढंगले काम गर्ने भन्दै आफू पदमा हुँदा त्यसलाई कुनै असर नपर्ने पनि उनको दाबी छ ।
गृहमन्त्रीले प्रस्टीकरण दिइरहँदा गृहसचिव र प्रहरी प्रमुख उनीसँगै थिए । सहकारी ठगीबारे सांसदका प्रश्नमा प्रहरी प्रमुख वसन्त कुँवरले गृहमन्त्रीको संलग्नता नभेटिएको दाबी गरे । गृहमन्त्रीले छानबिन गर्ने निकाय स्वतन्त्र छ भनिरहँदा प्रहरी प्रमुखले नै संलग्नता नभएको भनेर लामिछानेको प्रतिरक्षा गरेका हुन् ।
पोखरास्थित सूर्यदर्शन सहकारीको सहकारीको ठगीका सन्दर्भमा ‘सबै इस्वुको मेन जड’ जीबी राई रहेको उनले बताए । ‘सहकारी ठगीको मुख्य जड जिबी राई हुन् । उनी मलेसिया रहेको जानकारी पाएका छौँं’ उनले भनेका छन्, ‘रवि लामिछानेको विषयमा ठाडो उजुरी मात्रै परेको हो तर, अहिलेसम्मको तथ्य प्रमाण केही आएको छैन ।’
जिबी राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक भएको गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडले सहकारीबाट ऋण लिएको ५२ करोड रुपैयाँ नतिरेको भनी बचतकर्ताले उजुरी दिएता पनि प्रमाण नभेटिएको उनले बताए । आईजीपी कुँवरले अगाडि भनेका छन्, ‘रवि लामिछानेको नाम आएको हो, तर उहाँको कुनै संलग्नता देखिएको छैन ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies