दिपेश न्यौपाने/मध्यान्ह
ककनी : ९ वर्षदेखि अवरुद्ध रहेको पासाङ ल्हामु राजमार्गको तीनपिप्ले-रानीपौवा सडकको निर्माण कार्य शुरु भएको छ । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले शुक्रबार निर्माण कार्यको उद्घाटन गरेका हुन् । अध्यक्ष तामाङकै सक्रियतामा तीनपिप्ले-रानीपौवा सडकको निर्माण कार्य शुरु गरिएको हो ।
उद्घाटन गर्दै अध्यक्ष तामाङले मानव जीवनस्तरसँग जोडिएको सडक मार्ग ९ वर्षदेखि लथालिङ्ग अवस्थामा रहँदा नागरिकले निकै नै सास्ती खेप्नु परेको बताउँदै निर्माण कार्य समयमा नै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन् । समय र गुणस्तरलाई ख्यालमा राख्दै काम गर्न उनले अनुरोध गरेका छ्न् ।
सडक निर्माण कार्य शुरु भएपछि यहाँका स्थानीय हर्षित भएका छन् । सडक निर्माण भएसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने र पर्यटकको आगमनसँगै स्थानीयको जीवनस्तर सुधारिने जानकारहरु बताउँछन् ।
लामो अवधिसम्म पनि निर्माण हुन नसकेको तीनपिप्ले-पिपलटार सडकखण्डमध्ये पहिलो चरणमा तीनपिप्लेदेखि रानीपौवासम्मको सडक निर्माणको जिम्मा मोतीदान कन्स्ट्रक्सन सेवाले ८३ करोड ३१ लाख रुपैयाँमा पाएकाे छ । निर्माण ठेक्का अवधि दुई वर्ष रहेको छ । २०८० फागुन ३० गते सम्झौता भएको र २०८२ फागुन २९ सम्ममा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने छ । पहिलाे चरणमा १४.५ किलोमिटर सडक कालोपत्रेसहित निर्माण हुने भएको छ । रानीपौवा बजारबाट २ किलोमिटर तलसम्म सडक कालोपत्रे गर्न सकिने निर्माण कम्पनीले जनाएको छ ।
बालाजु–रानीपौवा–पीपलटार सडकको कूल दूरी भने ५५.५ किमि हो । उक्त दूरीमध्ये केही खण्डमा काम भइसकेको छ । उक्त सडकको शुरुको ठेक्काअनुसार काम नभएपछि ठेक्का तोडेर दोस्रो ठेक्का लगाइएको हो । शुरुमा बालाजु–रानीपौवा खण्डको ठेक्का भएको थियो । तर सात पटक म्याद थप्दा गर्दा पनि काम भएको थिएन ।
काममा कुनै प्रगति नभएपछि बालाजु–रानीपौवा खण्डको ठेक्का लिने इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र शैलुङ कन्स्ट्रक्सन जेभीसँग ०७९ असार ५ मा सम्झौता तोडिएको थियो । ठेक्का तोडेसँगै ती कम्पनीलाई सडक विभागअन्तर्गत सडक सुधार तथा विकास आयोजना निर्देशनालयले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचीमा राखी कारबाही गर्न सिफारिस गरेको थियो । जसअनुसार उक्त कम्पनीलाई ०७९ भदौ ८ देखि ०८२ भदौ ७ सम्म कालोसूचीमा राखिएको छ । शैलुङ कन्सट्रक्सन प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीको कम्पनी हो ।
रानीपौवा–पीपलटार खण्डसम्म भारतीय एक्जिम बैंकको ऋण सहयोगमा काम हुँदैछ । त्यसका लागि विस्तृत परियोजना रिपोर्ट (डीपीआर) गरेपछि ठेक्का लगाइने बताइएको छ । उक्त खण्ड निर्माणका लागि २ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । रानीपौवा–पीपलटार भारतकै दिनेशचन्द्र आर अग्रवाल र नागार्जुन–कोसी एन्ड न्यौपाने जेभीले ठेक्का लिएका थिए । उक्त निर्माण कम्पनीसँग पनि ०७७ असार ९ मा ठेक्का सम्झौता तोडिएको थियो । अहिले यो कम्पनीलाई कालोसूचीमा राखिएको छ ।
नौ वर्षदेखि सडक स्तरोन्नति गर्ने भन्दै सडक भत्काएर अलपत्र पार्दा स्थानीय समस्या छन् । सडककै कारण व्यापार व्यवसाय चौपट बनेको उनीहरूको गुनासो छ । सडक भत्काएर वर्षौंसम्म नबनाउँदा स्थानीयको दैनिक जीवनयापन नै प्रभावित बनेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies