काठमाडौं : वैदेशिक रोजगारका लागि माल्दिभ्स र मलेसिया पठाइदिन्छु भन्दै ५ जनालाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । श्याम लामासमेत ५ जनालाई वैदेशिक रोजगारीका लागि माल्दिभ्स र मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको उजुरीका आधारमा प्रहरीले धनुषाको बडहरी नगरपालिका वडा नं. २ बस्ने मोहन प्रसाद तिमल्सिनालाई पक्राउ गरेको हो ।
उनले प्रतिव्यक्ति ३ लाखदेखि ५ लाख रुपैयाँसम्म लाग्ने बताएर माल्दिभ्स र मलेसिया पुगेपछि एक लाख रुपैयाँ तलब हुने होटलमा काम लगाइदिन्छु भनि प्रलोभनमा पारेर पटक–पटक गरी २० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।
उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले तिमल्सिनालाई उदयपुरको उदयपुरगढी तेलतेलेबाट पक्राउ गरेको हो । उनलाई वैदेशिक रोजगार ऐनअनुसार अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ ।
हाल वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारमा युरोपेली मुलुकसहित क्यानडा र अमेरिका पठाइदिने भन्दै व्यक्ति र शैक्षिक कन्सल्ट्यान्सीले अस्वभाविकरुपमा रकम उठाएका उजुरी पर्ने गरेका छन् । विगतमा वैदेशिक रोजगार व्यवसायीले पठाएका कामदार ठगिएको, करार अनुसारको काम, तलब र सेवासुविधा नपाएको जस्ता उजुरीलाई ठूलठूला उजुरी ठान्ने गरिएको परिवेशमा विभागमा हाल व्यक्ति र शैक्षिक कन्सल्ट्यान्सीले वैदेशिक रोजगारीका नाममा उठाएको रकमको परिमाणले म्यानपावर कम्पनीविरुद्धका उजुरी रकमका हिसाबले मामुली देखिन थालेको टिप्पणी हुने गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies