-कृष्ण अधिकारी
झण्डै तीन दशकअगाडि बेल्जियम पुगेकी रजनी प्रधान अहिले त्यहाँको रैथानेजस्तै भइसकेकी छन् । युरोपका अधिकांश देशका नागरिकका बीचमा निकै लोकप्रिय छिन् उनी । काठमाडौंमा जन्मे, हुर्केर युरोपलाई कर्मथलो बनाएकी उनी नेपाल र नेपालीको पहिचानका लागि समर्पित रहँदै आएकी छन् । सन् १९९१ मा अध्ययनको सिलसिलामा बेल्जियम गएका श्रीमान रवीन्द्रमान श्रेष्ठसँगै गएकी उनले बेल्जियममा रहेर पनि अधिकांश समय नेपालको संस्कृति, धर्म, कला, नेपाली खाना, भाषा, पर्यटन प्रवद्र्धनका लागि समय खर्चिरहेकी छन् ।
लामो समयदेखि युरोपेली बजारमा नेपाली खाद्यान्नदेखि दैनिक अन्य उपभोग्य बस्तु पुर्याएर नेपाल र नेपाली चिनाउने काम गरेकाले यो दम्पत्तीलाई नेपालको व्यापारिक दूतको रुपमा लिन सकिन्छ । बसोबास बेल्जियमको राजधानी ब्रसेल्समा भएपनि उनीहरु अधिकांश समय युरोपका विभिन्न देशमा नेपालमा निर्मित खाद्यान्न, लत्ताकपडादेखि अन्य उपभोग्य बस्तुहरु बिक्री वितरणमा पुग्ने गर्छन् । बेल्जियम पुग्ने जो कोही नेपालीलाई हार्दिकताका साथ स्वागत गर्ने कारणले पनि उनीहरु धेरैको लोकप्रिय बनेका छन् ।
शुरुमा उनीहरुले नेपालमा बन्ने कार्पेट, पस्मिना, ज्वेलरी र हस्तकलाका सामानको व्यवसाय गरे । त्यतिबेला युरोपमा नेपालका यस्ता सामानहरुको धेरै ठूलो माग थियो । रजनी भन्छिन्, ‘पछि भारत, थाइल्याण्ड, बंगलादेशजस्ता देशबाट यस्तै प्रकारका नक्कली र मेसिनले बन्ने सामानहरू आउन थालेपछि हामीले प्रतिस्पर्धा गर्न सकेनौं । हातबाट बन्ने हाम्रा उत्पादनहरू महँगो हुने भएकाले नेपाली सामानको माग विस्तारै घट्दै गएपछि नेपालमा उत्पादन हुने चाउचाउ, मदिरा, चिउराजस्ता खाद्यवस्तु मगाएर व्यापार गर्न थाल्यौं । अहिले पनि हामी यहाँ यही व्यवसाय गरिरहेका छौं ।’
युरोपका विभिन्न देशमा नेपालमा उत्पादन हुने खाद्यबस्तु कतै नदेखेपछि उनीहरुले सन् २००६ मा पहिलोपटक बेल्जियममा वाईवाई चाउचाउ ल्याएर बेच्न थाले । ‘यससँगै पेय पदार्थसहित फापरदेखि मसलासम्मका बस्तु नेपालबाट आयात गरेर युरोपका धेरै देशमा वितरण गर्न थाल्यौं । नेपालबाट चाउचाउहरू मगाएर बेचेपछि नै युरोपमा पनि चाउचाउ खाने चलन शुरू भएको भन्दा हुन्छ । आफ्नो देशको उत्पादन यहाँ ल्याएर बिक्री गरी प्रवद्र्धन गर्न पाउँदा अत्यन्तै आत्मसन्तुष्टि मिल्दो रहेछ । आफ्नो देशको उत्पादनका लागि कसरी विश्वव्यापी बजार व्यवस्थापन र वितरण गर्न सकिन्छ, त्यसका लागि के–कसरी सकारात्मक भूमिका खेल्न सक्छौँ, बहस चलाउन आवश्यक भएको तर्कसहित वैकल्पिक बजार सम्भाव्यताका लागि गम्भीर हुनैपर्छ,’ रजनी भन्छिन् ।
टेस्ट ट्युबबाट तीन सन्तान
टेस्ट ट्युबबाट तीन सन्तान जन्माउने नेपालीको कीर्तिमान राख्ने पनि आफूहरू नै भएको बताउँछन् यी दम्पती । टेस्ट ट्युबबाट सन् १९९४ मा उनीहरूको पहिलो सन्तान जन्मिएको थियो । अहिले ३० वर्ष पुगिसकेका पहिलो सुपुत्र आदित्यमान श्रेष्ठ टेस्ट ट्युबबाट विदेशमा जन्मिएका पहिलो नेपाली हुन् भन्ने यी दम्पतीको दाबी छ । पछि छोरीको चाहनाले आफूसँग बाँकी रहेको एउटा अण्डालाई टेस्ट ट्युबमार्पmत जन्माउन चाहे पनि जुम्ल्याहा छोरा जन्मेको बताउँछिन् रजनी ।
एनआरएन अभियान
युरोपमा छरिएर बसेका नेपालीलाई संगठित गरी आफ्नै देशका लागि केही गर्न पाए हुन्थ्यो भन्ने सोच रजनीलाई आइरहन्थ्यो । उनी भन्छिन्, ‘यही बीचमा एनआरएनको धारणा आयो । आफ्नो सोचसँग एनआरएनको उद्देश्य मिल्न गएकाले हामी दम्पती नै यसलाई संगठित गर्नतिर लाग्यौं ।’ यहाँ बसोबास गरिरहेका नेपालीले पनि हौसला दिएपछि उनका श्रीमान नै एनआरएन बेल्जियमको संस्थापक अध्यक्ष बने । सन् २००४ मा यहाँ एनआरएनको स्थापना गरेपछि पोर्चुगल, इटली, स्पेन, लक्जेमबर्गजस्ता युरोपका अन्य मुलुकमा पनि गएर एनआरएन स्थापना गर्न सहयोग गरेको उनी बताउँछिन् ।
उनले सन् २०१३ र २०१५ गरी दुई पटक गैरआवासीय अन्तर्राष्ट्रिय महिलाको सफलतापूर्वक सहसंयोजक र एक पटक संयोजकको जिम्मेवारी निर्वाह गरिसकेकी छन् । हाल उनी विश्वभर छरिएका एनआरएन महिलाहरूको फोरम गठन गरी ‘एक नेपाली एक युरो’को नारा दिएर गरिब नेपाली महिलालाई सीपमूलक तालिम दिने प्रोजेक्टका लागि सहयोग जुटाउनमा व्यस्त छिन् । ‘विदेशमा बसेपछि नेपालको माया झनै हुँदो रहेछ । कसरी विदेशी पैसा नेपाल भित्र्याउन सकिन्छ र नेपाल समृद्ध हुन सक्छ भन्ने कुराले चिन्तित बनाउने गर्दछ,’ उनी भन्छिन्, ‘मलाई लाग्छ, अहिलेसम्म एनआरएनको अर्बाैं रुपैयाँ नेपालमा लगानी भइसकेको छ ।’
सामाजिक सेवामा समर्पित
उनी भन्छिन्, ‘मैले लामो समयसम्म एनआरएनअन्तर्गत गैरआवासीय अन्तर्राष्ट्रिय महिला विभागको सह–संयोजक भएर काम गरिरहेकी छु । यस संस्थामार्पmत नेपालका सुदूरपश्चिमका विकट ठाउँहरू डोटी, कैलाली, कञ्चनपुरमा पुगेर गरिब महिलाको आङ खस्ने रोगको निःशुल्क उपचार गरिसकेका छौं । यसबाट हालसम्म ५ सय महिला लाभान्वित भइसकेका छन् ।’ २०७२ सालमा गएको भूकम्पका बेलामा पनि उनले सिन्धुपाल्चोकमा गएर केही लत्ताकपडा वितरण गरेकी थिइन् भने सोलुखुम्बुका ६ सयभन्दा बढी विपन्न महिलालाई खास्टोसहित कपडा वितरण गरेकी थिइन् । सेवा नै धर्म हो भन्ने उनको मूलमन्त्र छ । उनले यस्तै प्रोजेक्टहरुका लागि रकम संकलन गर्ने भनेर युरोपका देशहरूमा एनआरएन महिला फोरम गठन गर्ने र युरोपमा स्थायी बसोबास गरिरहेका नेपालीहरूबाट प्रतिव्यक्ति एक युरो उठाउने अभियान पनि चलाएकी थिइन् ।
अहिले रोजगारीका लागि विदेशमा पुगेका नेपालीले धेरै दुःख झेलिरहेको र कतिपय महिलामाथि यौनशोषण भएका समाचार आइरहेका छन् । सकेसम्म महिलाहरूले विदेशिनु नपरोस् भन्ने नै उनको चाहना रहेको देखिन्छ । उनी भन्छिन्। ‘सीपमूलक तालिम लिएर स्वदेशमै आयआर्जन गर्न सकुन् भनेर हामीले फेडरेसन अफ विमन इन्टरप्रेनर्स एसोसिएसन अफ नेपाल भन्ने संस्थासँग मिलेर महिलालाई सीपमूलक तालिम प्रदान गरेका छौं ।’ पैरवी नेपाल भन्ने संस्थासँग मिलेर पनि यस्तै प्रकृतिका कामहरूलाई अगाडि बढाइरहेको उनले जानकारी दिइन् । उनी बेल्जियममा सनातन धर्म संस्कृतिको संरक्षणमा पनि उत्तिकै क्रियाशील छिन् । उनी मासा पुचःको पूर्वअध्यक्ष तथा वल्र्ड नेवा अगर्ननाइजेशनको उपाध्यक्ष पनि हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies