-लक्ष्मी खरेल
२०५६/५७ ताका नेपालमा सशस्त्र संघर्ष चरम उत्कर्षमा थियो । उदयपुरको गाईघाटकी माया घले मगरको पनि जीवनमा संघर्षको यात्रा तय हुँदै थियो । आईए पढ्दै गरेकी मायालाई जीवनमा यसै गर्छु भन्ने त थिएन, तर सामाजिक काम गर्ने हुटहुटी भने जागिसकेको थियो । त्यही हुटहुटीले उनलाई नेपाल रेडक्रस सोसाइटीको ‘रिवार्ड प्रोजेक्ट’मा जोड्यो । उक्त संस्थाले उदयपुरका तत्कालीन ४० वटा गाविसमा महिला प्रजनन स्वास्थ्य, एचआईभी एड्स, परिवार नियोजन र बालबचाउसम्बन्धी काम गर्थ्यो ।
प्रोजेक्टमा फिल्ड वर्करका रुपमा काम गर्दा मायाले कयौं पटक माओवादी लडाकुहरूबाट केरकार खानुप¥यो । उनको मनमा गढेको सामाजिक सेवालाई अगाडि बढाउन निकै असहज भयो । उनले सहजरुपमा काम गर्न पाइनन् ।
गाउँगाउँमा महिला र बालबालिकाहरूले भोगिरहेको दुःखले उनलाई निकै छुन्थ्यो । त्यसमाथि माओवादी र तत्कालीन सरकारबीच चरिहेको युद्धले गाउँघर निकै अशान्त थियो । गाउँ समाजको मनोदशा त्रासमा थियो । कयौं महिलाहरूको जीवन उजाडिएको थियो । कतिपय बालबालिकाले अभिभावक गुमाउनुपरेको थियो । त्यस्ता दुःख देखेर उनी कयौं पटक भक्कानिएकी छिन् ।
ग्रामिण भेगका कष्ट देख्दै भोग्दै जीवन गुजारिरहेकी मायालाई पैसा कमाउन सके समाज सेवा सहज हुन्छ जस्तो लाग्यो । उनको त्यही सोचाइले विदेशको भोक जाग्यो । १० वर्षे जनयुद्ध अवतरण हुँदै थियो । द्वन्द्वको समयमा नेपाल बस्न नसकेर पलायन हुन लागेका नेपालीको समूहमा मिसिइन् माया पनि । सन् २००६ मा इजराइल सरकारले नेपालबाट केही कामदार लैजाने भएपछि मायालाई राहत मिल्यो । उनी खुसी भइन् । उनलाई लाग्यो, ‘समाजसेवालाई निरन्तर पैसा चाहिन्छ । इजरायल गएर पैसा कमाएर समाज सेवा गर्छु ।’
इजराइल जानका लागि काठमाडौं आउँदा पनि कष्टपूर्ण यात्रा भएको उनुभव छ मायासंग । ‘म गाईघाटबाट काठमाडौंका लागि आएँ । बाटोमा करिब दश ठाउँमा चेकिङ पर्दै काठमाडौं छिरेकी थिएँ । बसुन्धारामा दाइभाउजू बस्नुहुन्थ्यो, म त्यहाँ पुगें ।’ त्यो समय सम्झँदै माया भन्छिन्, ‘भोलिपल्ट बिहानै बसुन्धारा चोकमा एक व्यापारीलाई दिउँसै गोली हानी हत्या गरिएको रहेछ । त्यहाँ वरिपरि हेर्ने मानिसको भीड भएपछि म पनि गएँ । एक्कासी मलाई आएर केरकार मात्रै गरेन मेरो थाइकट कपाल हेर्दै माओवादी भएको आशंकाले एक जना आर्मीले थप्पड हान्यो । त्यसपछि आर्मीलाई दाइभाउजूको कोठामै लगेर डकुमेन्ट देखाउनुप¥यो । बल्ल आर्मी म माओवादी नभएको एकिन गरेर फर्क्यो ।’
त्यसपछि माया ठूलो जोखिम मोलेर इजरायल गइन् । छिट्टै नेपाल फकिन्छु भनेर इजरायल पुगेकी मायालाई उतैको व्यस्तताले फर्किन दिएन । इजरायल पुगेको दुई दशक पुग्नै लाग्दा पनि उनी उतै छिन् । तर मायाले इजरायल बसेर आफ्नो जन्मभूमिका लागि धेरै कामहरू गरिरहेकी छिन् । इजरायल पसेपछिका शुरुवाती दिनहरू पनि उस्तै कष्टपूर्ण रहेको अनुभव सुनाउँदै माया भन्छिन्, ‘शुरुवातका दिनहरुमा मलाई हिब्रु ( इजरायली भाषा ) को ज्ञान थिएन । भाषा कै कारणले काम गर्न गाह्रो हुन्थ्यो । तर अहिले भाषा प्रष्ट बोल्दा यहाँका हामीले केयर गर्ने बिरामी वृद्ध, वृद्धाहरुले औधी मन पराउँछन् । अहिले त यतै रमाइलो लाग्छ ।’
इजरायलमा केही समय संघर्ष गरेपछि फेरि उनले नेपाल सम्झिइन् । नेपाल मगर संघ इजरायलको कार्यसमितिको विभिन्न पदमा बसेर काम गर्दा होस् वा अन्य समयमा मायाले नेपालका क्यान्सर पीडित, मिर्गौला पीडित, मुटु रोगी, ब्रेन ट्युमर, बाढी पीडितलगायतका विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गरिन् ।
इजरायलमा कामको सम्मान पनि हुने, कमाइ पनि राम्रै हुने भएकाले उतै बस्ने र उतैबाट नेपालमा सक्दो समाजसेवा गर्ने उनी बताउँछिन् । इजरायलमा राम्रो आम्दानी हुने र महिलाहरूका लागि सुरक्षित गन्तव्य पनि भएकाले सरकारले नै सहजीकरण गर्दा गरिबीको चपेटामा परेका नेपालीहरूलाई सहज हुने उनको बुझाइ छ । उनी भन्छिन्, ‘छिट्टो र छरितो शून्य लागतमा इजरायलका लागि जीटुजी मोडलबाट कामदार पठाउने हो भने सुनमा सुगन्ध थपिने छ । निःशुल्क गर्न सकिएन भने पनि कमसेकम नेपालबाटै सहजरुपमा इजरायलमा काम गर्न आउन पाउने बाटो नेपाल सरकारले खुला गर्नु पर्छ । नत्रभने नेपाली युवाहरू भारतीय पासपोर्ट बोकेर भारतीय रूट भएर २५÷३० लाखसम्म पैसा तिरेर ऋण बोकेर भए पनि इजरायल आउने क्रम बढ्दै जान्छ । यसले त दलाल पोसिँदै जाने, देश र जनाता चाहिँ झन् झन चपेटामा पर्दै जाने स्थिति बन्छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies