-पदमराज जोशी
संघर्ष र सफलता एकअर्काका पर्याय हुन् । यही दुःख र संघर्षको गतिलो बिम्ब भन्दा फरक नपर्ने नाम हो, प्रोफेसर डाक्टर चन्दा कार्की । उनको अहिलेको पहिचान डाक्टर, स्त्रीरोग विशेषज्ञ, मेडिकल कलेजकी प्रिन्सिपल हुँदै सांसद पनि हो ।
यो पहिचान बनाउनका लागि उनले गरेको कठोर संघर्ष निर्मम छ । निर्मम यसर्थमा कि, सन्तानका लागि सबै चिज त्याग्न सक्ने महिला चरित्र विपरित उनले ११ दिनको शिषु छोडेर पढाइका लागि विदेश गएको समय निकै कठोर थियो ।
महोत्तरीको औरही नैनीगौरीमा माता चन्द्रदेवी र पिता शिवमानसिंह भण्डारीको सन्तानका रूपमा सन् १९५८ अप्रिल २६ मा चन्दा जन्मिइन् । छोरीलाई स्कूल नपठाउने परिवेश भए पनि चन्दाकी आमा छोरी पढाउने कुरामा सधैं महत्व दिन्थिन् । छोरी पढाउनका लागि आमाले परिवारमा निकै हठ गरिन् । आमाको त्यही हठले चन्दाको औपचारिक पढाइ सहज बन्यो । फलस्वरुप आफ्नै हजुरबुवाले स्थापना गरेको प्रसादसिंह हाइस्कुलमा चन्दा सिधै कक्षा ४ मा भर्ना भइन् ।
सामान्य तरिकाले उनको पढाइ चल्दै थियो । जीवनमा दुःख आउन के बेर लाग्दो रहेछ र ? उनी कक्षा ७ मा पढ्दापढ्दै आमा सिकिस्त बिरामी भइन् । उपचारका लागि राजधानी ल्याइएकी आमाले एक वर्ष माइतीमा बसेर बेडरेस्ट गर्नुपर्यो । आमासँगै बसेकी चन्दाको पढाइ बिग्रनेमा मामा चिन्तित भए । तर, चन्दालाई काठमाडौंमै भर्ना गर्न खोज्दा ‘तराईमा पढेकी छात्राले पढ्न सक्दैन’ भन्दै धेरै विद्यालयले उनलाई भर्ना लिन मानेनन् । ‘राम्रो पढ्न नसकेमा विद्यार्थी फिर्ता लग्छु’ भन्ने सर्तमा पद्मकन्याले चन्दालाई भर्ना लिन मान्यो ।
राम्रो नगरेमा आफैं फिर्ता जाने सर्तमा भर्ना भएकी चन्दाले त्यही विद्यालयबाट एसएलसीमा कमला स्वर्ण पदक हात पारिन् । त्यसपछि अमृत साइन्स क्याम्पसबाट आईएससी गरेपछि उनमा डाक्टर बन्ने सपना पलायो । मामा डा. लोकविक्रम थापाको व्यक्तित्वले चन्दा प्रभावित थिइन् । डाक्टर बन्नका लागि भने उनले भारतको कलकत्तामा रहेको आरजीकर (राधा गोविन्द कर) मेडिकल कलेज रोजिन् । त्यहीँबाट उनले उत्कृष्ट अंक ल्याएर एमबीबीएस सकिन् ।
एमबीबीएस सकेर कलकत्ताबाट फर्केपछि २०४३ सालमा चन्दाले परिवारको सल्लाहमा डा. टेकेन्द्र कार्कीसँग मागी विवाह गरिन् । विवाहसँगै उनको पेशागत करियर पनि अघि बढ्यो । उनकै पालादेखि डाक्टर बन्न लिखित परीक्षा पास गर्नुपर्ने व्यवस्था सुरु भएको थियो । वैवाहिक बन्धनमा बाँधिएको केही दिनमै उनी सरकारी जागिरे बनिन् । भोजपुरबाट सुरु गरेको डाक्टरी पेशामा उनले करिब आठ वर्ष विभिन्न जिल्लामा बिताइन् ।
पञ्चायती व्यवस्थाको अन्त्यको समय थियो । त्यो बेला राजाका लागि जे पनि गरिन्थ्यो । डा. चन्दाको हकमा पनि त्यही भयो । डा. चन्दाको सरुवाको कारण सुन्दा पनि रमाइलो लाग्छ । ‘राजाको सवारी जहाँजहाँ हुन्थ्यो, मेरो सरुवा त्यहीँ त्यहीँ गरिन्थ्यो । राजाको सवारी हुने जिल्लामा डाक्टर देखाउनैका लागि मलाइ पठाउथ्यो ।’
आठ वर्ष विभिन्न जिल्लामा काम गरेपछि उनले पढाइलाई अगाडि बढाउने निर्णय गरिन् । सात महिनाकी गर्भवती चन्दाको उक्त निर्णयलाई श्रीमान्ले पनि साथ दिए । र म पढ्नका लागि बंगलादेशको ढाका गइन् । ‘महिलाले करियर बनाउन आफ्नो अठोटसँगै श्रीमान्को साथ चाहिँदो रहेछ’, डाक्टर चन्दाले श्रीमानको प्रशंसा गर्दै भनिन्, ‘श्रीमान्ले हौसला र साथ नदिएको भए सायद आजको अवस्था सहज थिएन ।’
ढाका युनिभर्सिटीमा डीजीओ (स्त्री तथा प्रशुती) पढ्दापढ्दै उनको बच्चा जन्माउने समय नजिक आयो । उनी १५ दिनको बिदामा नेपाल आइन् । छोरी जन्माइन् र न्वारन गरिन् । ११ दिनकी छोरीलाई आमा र दिदी मीनुको जिम्मा छोडेर पढाइका लागि ढाका नै फर्किइन् । त्यो समय सम्झिदा पनि चन्दालाई कहाली लाग्छ । उनलाई आफू निकै कठोर र निर्मम भएको झैँ लाग्छ । उनी भन्छिन्, ‘मेरो अगाडि दुईवटा विकल्प थियो । कि बच्चासँग बस्ने र पढाइ रोक्ने कि छोरी छोड्ने । मैले छोरी नै छोडेँ । दुधे बच्चा छोडेर जिन्दगीको जुवा खेलेको हो ।’
उनको यो जटिल निर्णय देखेर साथीहरूले नै छोरीको नाम ‘मिराकल’ अर्थात् करिश्मा राखिदिए । अहिले तिनै करिश्मा अस्ट्रेलियामा विशेषज्ञ चिकित्सक छिन् । कान्छी छोरी चन्द्रिका पाटन अस्पतालमा एमडी गरिरहेकी छिन् ।
ढाकाबाट डा. चन्दाले डीजीओमा युनिभर्सिटी टप गरिन् । उनी पुनः फर्केर नेपाल आइन् । त्यसपछि पाटन, टिचिङ, प्रसूति गृहहुँदै भक्तपुर अस्पतालमा सेवा दिइन् । निकै संघर्षले पढेकी डा. चन्दालाई सरकारी सेवामा बढुवा हुन भने गाह्रो भयो उनी सातौं तहबाट आठौंमा उक्लिनै सकिनन् । त्यसमाथि निकै कम मात्रै आम्दानी हुन्थ्यो । बचत गर्न निकै असहज बन्यो । अलीअली गरेको बचत छोरीलाई विद्यालय भर्ना गर्दा, ड्रेस, किताबलगायतका सामानमा सकियो । सहज आम्दानी थिएन । उनलाई लाग्यो, ‘यसरी जिन्दगी चल्दैन । डाक्टर बनेर सेवा त जहाँबाट पनि गर्न सकिन्छ ।’ उनले १५ वर्ष बिताएको सरकारी डाक्टरबाट राजीनामा दिइन् ।
सन् २००० मा केएमसीको व्यवस्थापन नेपालीले जिम्मा लिएपछि उनले प्राइभेट क्षेत्रमा जागिर त्यहीबाट सुरु गरिन् । सरकारी सेवा छोडेर प्राइभेट क्षेत्रमा जोगिरे बनेकी चन्दा लेक्चरर डाक्टरको रूपमा केएमसी प्रवेश गरिन् । १५ वर्षको अथक मिहेनेतले उनी केएमसीको प्रोफेसर बनिन् । अहिले उनी कलेजको प्रिन्सिपल छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदमा रूपमा बिगत डेढ वर्षदेखि संसदमा पनि आफ्ना आवाज उठाइरहेकी छिन् चन्दा । देशभरका २० वटा मेडिकल कलेजमध्ये पहिलो महिला प्रिन्सिपल डा. चन्दा भन्छिन्, ‘नआत्तिएर लागिरहँदा हुँदोरहेछ । असफलता नै सफलताको पिल्लर हो । मेहनतले रङ ल्याउँदो रहेछ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies