–रसुवाली कवि
पूर्वीय दर्शन र नेपाली साहित्यकी उल्लेखनीय प्रतिभा हुन्, प्रीति आत्रेय ज्ञवाली । काव्यका उपविधाहरूमा पनि कलम चलाइरहेकी प्रीतिको लेखनमा युगीन पीडाबोधको स्वर मुखारित भएका हुन्छन् । प्रीति आत्रेयले मुक्तकलगायत काव्यका उपविधाहरूमा संकटमय समयका दुखाइहरूलाई व्यक्त गरेकी छिन् ।
आज हामी बाँचिरहेको परिवेशका जटिलताहरूमा पनि प्रीतिका कलम चलेका छन् । पछिल्लो समय काव्यकै उपविधा मानिने मुक्तकमा पनि प्रीतिले कलम चलाएकी छिन् । हालसालै उनको मुक्तक संग्रह चुटुक्क प्रकाशनमा आएको छ । म यस मुक्तक संग्रहको भाव पक्षमा केही टिप्पणी गर्न गइरहेको छु ।
शक्ति वल्लभ अर्यालको तनहुँ भकुण्डोदेखि प्रीति आत्रेय ज्ञवालीको चुटुक्कसम्म आइपुग्दा नेपाली साहित्यमा मुक्तक विधा स्थापित भइसकेको छ । मुक्तक आजको साहित्यको प्रिय विधाको रूपमा प्रचलित छ । मुक्तक अहिले संरचनाको बहसमा अल्झेको छ । बहसहरू भइरहेका छन् । मुक्तकलाई संरचना र भावको कसिलो जुइँनोमा बाध्न जरुरी पनि छ । तर, संरचना जस्तै भावपक्षमा देखिनुपर्ने गहनताको कोणलाई छोड्न सकिँदैन, यो मुक्तकको मुख्य पक्ष नै हो । यतातिर कम बहस भएको छ ।
मुक्तक बाँच्ने शैलीमा हो । भावमा हो । मुक्तकमार्फत सम्प्रेषण हुने विचारमा मुक्तकको लामो आयु कायम हुन सक्छ । प्रीति आत्रेय ज्ञवालीका मुक्तकहरू संरचना, भाव, विचार र चतुष्पदीय विधानमा उभिएका छन् । चार हरफभित्र हुर्काउन सकिने काव्यलाई पनि प्रीतिले ध्यान दिएको प्रतीत हुन्छ ।
मनको अगाडि न जोड्दा हुन्छ नमन
मनको पछाडि न जोड्दा हुन्छ मनन
नमन गरे पनि मनन गर्ने हुन्नन सबै
किन होला यस्तो कुराको छैन जतन ।।
(प्रीति आत्रेय ज्ञवाली, चुटक्क मुक्तकसंग्रह, पेज २२)
आजको सामाजिक परम्पराहरूमा बदलावहरू आइरहेका छन् । मानिसहरूले आफू हिँड्नुपर्ने पथ भुलेका छन् । गन्तव्यलाई पहिल्याउन कठिन परेको छ । मुक्तककारले आफ्नो मुक्तकमा नमन गरिरहेकाहरू भेटेपनि मनन गर्नेहरू भेटेकी छैनन् । आजको सामाजिक यथार्थको गहिरो पीडालाई बोध गर्दै लेखिएका मुक्तकले पाठक मनलाई छुन्छन् ।
मुक्तककार ज्ञवाली अहिले देशभन्दा बाहिर छिन् । नेपाली डायस्पोरा साहित्यमा विदेश बस्ने नेपालीहरूले थुप्रै लेखेका छन् । जब मानिस आफू जन्मेको माटोलाई चटक्क छोडेर सात समुद्रपारी पुग्छ, मानिसको भावुक मन उसै दुख्छ । देश सम्झिँदै प्रवासी नेपालीहरूले पीडा र दर्दलाई लेखेका छन् । प्रीतिका मुक्तकहरू विछोड बोध यिनै भावमा पनि लेखिएका छन् । उनका धेरै जस्ता मुक्तकहरू समय पीडाकै उपज हुन् ।
चाडपर्व त रमाइलो सधैँ बालापनमा हुन्थ्यो
बाबा–आमाको काखमा र आँगनमा हुन्थ्यो
आमा भइयो छोरा–छोरीको बढ्यो जिम्मेवारी
केटाकेटीले तिहार मनाउँदा माइती मनमा हुन्थ्यो ।।
(प्रीति आत्रेय ज्ञवाली, चुटक्क मुक्तकसंग्रह, पेज ३७)
विवाहपछि एउटी नारीले बहन गर्नुपर्ने जिम्मेवारी र सामाजिक संरचनाले बहन गराउने जिम्मेवारभित्र गहिरो संवेदनशीलता लुकेको हुन्छ । प्रीतिले यस मुक्तकमा विवाहित नारीको त्यहीँ संवेदनशीलतालाई अभिव्यक्त गर्न खोजेकी छिन् । बाल्यकालको रमाइलो, भावुकता र निर्दोषपनाबाट जब मानिस उम्किदै जान्छ, मानिसभित्र बोझिलो संवेदना दुख्छ । भावुकतामा मुक्तककारले बाल्यकाल र बाआमालाई सम्झेकी छिन् । यो मुक्तक चोटिलो र मिठो छ ।
एउटै चित्रमा पनि यहाँ धेरै थरी कुरा कोरिएको हुन्छ
एउटै कवितामा पनि बहुअर्थी भाव पोखिएको हुन्छ
कुन कोणबाट कुन कुरालाई बुझेको कसले कसरी
प्रतिक्रिया व्यक्ति विशेषको भोगाइले बोलिएको हुन्छ ।।
(प्रीति आत्रेय ज्ञवाली, चुटक्क मुक्तकसंग्रह, पेज ६५ )
काव्यलाई मनन गर्न सक्ने मुक्तककारको यस मुक्तकमा कविता तत्वको गहन उपस्थिति छ । जिन्दगी पनि कहिलेकाँही अमूर्त चित्र जस्तो बनिदिन्छ । जिन्दगी कहिले संकटको भुमरीमा फस्छ, जिन्दगी कहिले सम्भावनाको उकालो चढ्छ । व्यक्तिका यिनै भोगाइहरूलाई बिम्बमार्फत भन्न खोजिएको छ । मुक्तककारले चित्र र कवितालाई उदाहरण दिएकी छन् । भनिन्छ, साहित्य र कला समाज र व्यक्तिको अन्तरमनको उपज हो । जिन्दगी र कला साहित्यको मर्मलाई जोडेर मुक्तककारले अरू पनि मुक्तक लेखेकी छन् । जुन मुक्तकहरू चोटिला छन् ।
प्रीति आत्रेयका मुक्तकहरूमा प्रेम, राजनीति, सांसारिक मायामोह, विछोड, संकट, स्वदेशप्रेमको भाव मुखारित छन् । मुक्तकहरूमा अभिव्यक्त भावको दृष्टिकोणबाट हेर्दा प्रीतिले बनाउन खोजेको चित्र मूर्त छ । जसरी आजको समाजमा विश्वासको संकट छ, त्यो संकटलाई मुक्तककारले आफ्नो मुक्तकमा समेटेकी छिन् । जसरी मानिसहरूले आफ्नो संस्कृतिलाई भुलेका छन्, त्योप्रति मुक्तककारको असहमति मुक्तकहरूमा पोखिएका छन् । भावले बेरिएर प्रीतिका मुक्तकहरू बतास लोकमा डुल्दैन । बरू यी मुक्तकहरूले टेकेको जमिन यथार्थको भूगोल बनिदिन्छ ।
आज मुक्तकको फेसन नै चलेको छ । मुक्तकमा आइरहेको बाढीले धेरै मुक्तकहरूलाई जन्माएको छ । कतिपय मुक्तक र मुक्तककारहरू फेसबुकको ‘योर स्टोरी’मा राखिएको तस्वीर जस्ता भएका छन् । उनीहरूले पाउनुपर्ने लाइक र कमेन्ट चौबीस घण्टामा आइसक्नुपर्ने हुन्छ । नत्र तस्वीर आफैं नै हट्छ । मुक्तककारहरू यसरी नै विस्तारै जन्मिरहेका छन्, तत्काल नै साहित्य वृत्तबाट हराइरहेका छन् । यस्तो हुँदैन थियो भने हामी पुराना हरिभक्त कटुवाललाई सम्झिदै आजको मुक्तकको टिप्पणी गर्ने थिएनौ ।
मलाई लाग्छ, प्रीति आत्रेयका केही जोडदार मुक्तकहरूले नेपाली मुक्तक साहित्यमा अवश्य पनि लामो समय उपस्थिति जनाउनेछन् । भाविला मुक्तकहरूको कारण नेपाली साहित्य आकाशमा मुक्तककार प्रीति आत्रेय ज्ञवालीको चर्चा हुनेछ । उनका मुक्तकले साहित्यमा हुनुपर्ने गुणलाई आत्मसात गरेका छन् । उनलाई बेग्लै पहिचान पनि दिएका छन् ।
आफैं लेख्ने आफै पढ्ने सुन्ने छैनन् कोही
के छ खबर कसो भनी बुझ्ने छैनन् कोही
बिना आश, सास चलुन्जेल काम गर्नुपर्छ
मर्दा सबै रुन्छन् जिउँदा पुछ्ने छैनन् कोही ।।
प्रीति आत्रेय ज्ञवाली, चुटक्क मुक्तक संग्रह, पेज २८ )
मुक्तककार प्रीति आत्रेय ज्ञवालीले चुटुक्क मुक्तक संग्रहमार्फत देश समाज र परिवेशलाई मुर्तरूपमा उतारेकी छिन् । मुक्तकमा रूचि राख्नेहरूका निम्ति यो पठनीय कृति हो । साहित्यका अरू विधा पढिरहेकाहरूले पनि अवश्य यो मुक्तक संग्रह पढ्दा बोर मान्दैनन् भन्ने लाग्छन् । म मुक्तककार ज्ञवालीलाई आगामी यात्राका निम्ति हार्दिक बधाई र शुभकामना भन्न चाहन्छु ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies