छबि सापकोटा/मध्यान्ह
काठमाडौं : नागढुगा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको (छिचोलिएको) छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार स्वीच थिचेर सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरेका हुन । ‘ब्रेक थ्रु’ समारोहमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सांसद लगायतका सरकारी उच्च अधिकारीको पुगेका थिए ।
‘ब्रेक थ्रु’ संगै धादिङ र काठमाडौँ दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो । धादिङको सिस्नेखोला र काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ । ब्रेक थ्रु भएपनि सुरुङ मार्गमा सवारी साधन गुड्नको लागि अझै १ वर्ष लाग्ने आयोजनका उपनिर्देशक गोविन्द दुमरुले बताए । सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म जम्मा ३ मिनेटमै पुग्न सकिने छ ।
बि.सं.२०७६ कात्तिकमा निर्माण सुरु भएको सुरुङमार्ग २.६८८ किलोमिटरको छ भने आपतकालीन सुरुङ भने २.५५७ किलोमिटर रहेको छ । सुरुङ मार्ग प्रयोग गर्दा काठमाडौ तर्फ आउदाँ ३३ मिनेट र काठमाडौ बाहिर जादाँ २३ मिनेट समय बचत हुनेछ । नागढुंंगा सुरुङ मार्ग निमार्णको लागि सन् २०१६ डिसेम्बर २२ मा जापान र नेपाल सरकार बिच सफट् ऋण सम्झौता भएको थियो । साढे २२ अर्ब कुल लागत रहेको सुरुङमार्गको १६.६ अर्ब जापानको ऋण सहयोग रहेको छ भने बाँकी लागत नेपाल सरकारको हो । जापान सरकारको जाइका मार्फत प्राप्त भएको ऋणको व्याजदर ०.०१ प्रतिशत तोकिएको छ भने सुरुको १० वर्ष मिनाहा सहित ४० वर्ष भित्र ऋण चुक्ता गर्नु पर्ने छ । काठमाडौ उपत्यका प्रवेश गर्ने मुख्य नाका नौबिसे काठमाडौ सडक खण्डमा पर्ने नागढुंगा सुरुङ मार्ग निमार्ण गर्नका लागि २०६९ माघमा सर्वाेक्षण गरेर आयोजनाको प्रस्ताव गरिएको थियो ।
ब्रेक थु्र सँगै तिब्र गतिमा फिनिसिङको कामसँगै सुरुङभित्र लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम गर्ने आयोजनाका उपनिर्देशक दुमरुले बताए । सम्झौताअनुसार आयोजनाको समयावधि २०८० वैशाखमा सक्नु पर्ने थियो । तर कोभिडको कारण एक वर्ष ढिला भएको दुमरुले बताए । सुरुङमार्गको काम तिब्र गतिमा गर्ने हो भने अर्काे वर्ष नागढुंगा उकालोबाट मुक्त हुने सकिनेछ । सुरुङमार्गमा पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन, मोटरसाइकल र ओभरलोड सवारीले प्रयोग गर्न पाउने छैनन । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies