दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित केन्द्रीय सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीको भूमिका अर्थपूर्ण छ । केन्द्रीय सरकारका साथै मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा समेत समस्या हुने देखेपछि एमाले र माओवादी सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिन तयार भएका छन् ।
आफूले नपाए एमाले र माओवादी सम्मिलित गठबन्धनको उम्मेदवारलाई सहयोग नगर्ने नीति अन्तर्गत यसअघि एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्वमा कांग्रेस नेतृत्वको गठबन्धनको उम्मेदवारलाई सहयोग गरेको थियो । प्रदेश प्रमुख नजिर मियाँले २३ चैतमा १० दिनको समय दिएर संविधानको धारा १६८ को (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए ।
२ वैशाखमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका थिए । तर प्रदेश प्रमुखले नाउपाका दुई जना प्रदेश सभा सदस्यको दाबीका कारण निष्कर्षमा पुग्न नसकेको भन्दै मंगलबार फेरि दुई दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार कै दाबी पेश गर्न आह्वान गरेका छन् ।
यसअघि नाउपाका संरक्षक रेशम चौधरी पक्षका लक्ष्मणकिशोरले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा दाबी पेश गरेका थिए भने अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाशले एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
तर एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले मंगलबार प्रदेश प्रमुखलाई पत्र बुझाएर लक्ष्मणकिशोरलाई समर्थन नरहेको बताए ।
एकीकृत समाजवादीले एमाले माओवादीसहितको गठबन्धनमा सुदूरपश्चिममा मुख्यमन्त्री पाउने सहमति भएपनि तोडिएको भन्दै यसअघि सोडारीले लक्ष्मणकिशोरलाई समर्थन गरेका थिए ।
एकीकृत समाजवादीले यस्तो निर्णय लिनु अगाडि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल लगायतका नेताहरुसँग संवाद गरेका थिए ।
मंगलबार गठबन्धनको शीर्ष तहमा समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएका बेला प्रदेश प्रमुखले पनि दुवै दाबी अस्वीकृत गर्दै फेरि मुख्यमन्त्रीमा दाबी आह्वान गरेका हुन् ।
लगत्तै, एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश संसदीय दलको बैठकले सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यो सँगै केन्द्रीय सत्ता गठबन्धनमा देखा परेको संकट तत्कालका लागि टरेको नेताहरु बताउँछन् । यसका लागि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालसँग छुट्टाछुट्टै रुपमा समेत छलफल गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies