काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा जोड दिएका छन् । प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने प्रवल सम्भावना रहको उल्लेख गर्दै यस्तो बताएका हुन् ।
‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आजबाट शुरु भएको हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपाल सरकारको सहजीकरण र समन्वय अनि निजी क्षेत्रको लगानीबाट यो सम्भव रहेको पनि बताए । “राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ, यसका लागि नेपाल सरकारले ऐन, कानुन, नीति–नियमहरूमा सहजीकरण गर्नुपर्छ भने निजी क्षेत्रले मुलुकको हित र समृद्धिलाई सर्वोपरी मानेर लगानीलाई बढाउँदै जानुपर्छ भन्ने मलाई लाग्छ”, उनले भने ।
राष्ट्रपति पौडेलले संघीयतासँगै नेपाल लोकतन्त्रको उच्च अभ्याससहित राजनीतिक स्थिरतातर्फ लम्किरहेको र यसले स्वदेशी तथा विदेशी लगानी आकर्षण बढ्दै जाने अवस्था सिर्जना हुँदैछ भन्दै संघीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको स्पष्ट पारे ।
“नेपालको आर्थिक समृद्धिको लागि नेपाल सरकारले मुख्य आधारको रुपमा ऊर्जा क्षेत्रलाई लिएर यसलाई विशेष प्राथमिकता दिँदै आएको छ, यसकै फलस्वरुप कुनै बेला ठूलो ऊर्जा संकट भोगेको नेपालमा बढ्दो ऊर्जा उत्पादनले राष्ट्रको ऊर्जा सुरक्षालाई मजबूद बनाउँदै लगेको छ, नेपाल ऊर्जामा आयातित गर्ने राष्ट्रबाट निर्यात गर्ने राष्ट्रको रुपमा परिणत हुँदैछ”, राष्ट्रपति पौडेलले भने ।
यसले विगतमा रहेको परनिर्भरताको अवस्थालाई अन्त्य गरेर बिजुली व्यापारमार्फत नेपालको आर्थिक क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गरिरहेको भन्ने आफूलाई लागेको बताउँदै उनले नेपाल छिमेकी राष्ट्रहरूका क्षेत्रीय बजारमा स्वच्छ र हरित ऊर्जा निर्यातमार्फत नवीकरणीय ऊर्जाको उपयोग अभिवृद्धिका लागि योगदान दिने सक्ने अवस्थामा पुग्नु सन्तोषको विषय भएको धारणा व्यक्त गरे ।
त्यसअवसरमा ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत विकासको प्रचुर सम्भावना रहेको नेपालको उन्नतीको महत्वपूर्ण आधार रहेको बताए । “आगामी १२ वर्षभित्र २८ हजार सात सय मेगावाट विद्युत उत्पादन गर्ने कार्ययोजना सरकारले ल्याएको छ । यो महत्वाकाक्षीजस्तो देखिए पनि यथार्थ र आवश्यकतामा आधारित भएर गरिएको हो”, उनले भने ।
लगानीका लागि देशभित्रको स्रोतको उपयोग गर्दै वैदेशिक लगानी ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । अहिले संसदमा दर्ता भइ दफाबार छलफलमा रहेको विद्युत् विधेयक चाँडोभन्दा चााडो पारित भइ कार्यान्वयनमा आउने उल्लेख गरे । जलविद्युत परियोजना विकासका लागि नयाँ विद्युत ऐनले सहजीकरण गर्ने र लगानी अझ बढेर जाने उनले विश्वास व्यक्त गरे ।
“परियोजनाका लागि जग्गा प्राप्ति, वन र अन्य प्रक्रियागत विषयमा पनि सरकारले अझ सहजीकरण गर्दै जानेछ”, मन्त्री बस्नेतले भने । अहिले जलविद्युत परियोजना निर्माणसँगै वातावरण र जलवायुको मुद्धासमेत पेचिलो बन्दै गएको उनको भनाइ थियो । यस एक्स्पोले आसन्न लगानी सम्मेलनको लागि समेत टेवा पुग्ने उनले बताए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले रु १३ खर्ब जलविद्युत आयोजनामा लगानी भइसकेको बताए । “आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलिरहेको र दक्ष, अर्धदक्ष र अदक्ष गरी पाँच लाखभन्दा धेरै नागरिकले रोजगारी पाइरहेका छन्”, उनले भने ।
उनले पछिल्लो समयमा विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्नमा सफल भएको र यसलाई अझ वृद्धि हुदै जाने विश्वास व्यक्त गरे । सरकारले राखेको २८ हजार सात सय मेगावाट विद्युत उत्पादनका लागि वन, जग्गालगायतका विषयमा सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए ।
उनले विदेशी लगानी वृद्धि गर्नका लागि नीतिगत सुधार र प्रक्रियागत झमेलालाई सहज बनाउँदै लैजान सरकारसँग आग्रह गरे । जलविद्युत परियोजना विकाससँग स्थानीय विकासमा महत्वपूर्ण सहयोग पुगिरहेको छ । आयोजाना प्रवर्द्धकले स्थानीय सडक, खानेपानी, स्वास्थ्य चौकी, खेलमैदानलगायतका पूर्वाधारमा निर्माणमा योगदान पुर्याएको उनको भनाइ छ ।
नेपालका लागि क्यानाडाका राजदूत क्यामरुन म्याकीले भिडियो सन्देशमार्फत नेपालको समृद्धिका लागि जलविद्युतको विकास महत्वपूर्ण रहेको उल्लेख गरे । “नेपालमा जलविद्युत् परियोजना विकासका लागि क्यानाडासँग रहेको सीप ज्ञान र अनुभव उपयोगी हुने विश्वास छ”, उनले भने ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले विद्युत निर्यातभन्दा पनि देशभित्रै खपत वृद्धि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । यसका लागि सरकार, निजी क्षेत्र अन्य सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे । एक्स्पो शुक्रबार सम्पन्न हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies