पिन्टु यादव/मध्यान्ह
सप्तरी : जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीको टोली मनसुनजन्य विपद् जोखिम स्थलहरुको पहिचान गर्न बलान बिहुल गाउँपालिका पुगेको छ । टोलीले उक्त गाउँपालिकाअन्तर्गतका दुई वटा वडामा निरीक्षण गरी मनसुनजन्य विपद् न्यूनीकरण गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
मनसुनको बेला जिल्लाको पश्चिमीभागमा रहेको बलान बिहुल गाउँपालिकाका किसानहरुको टाउको दुखाइ बन्छ- बलान खोला । सिंचाइको आधुनिक व्यवस्था नरहेकाले सुख्खा बनेको यहाँका खेतीयोग्य जमिन मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको पाइएको छ । वर्षेनी गाउँमा र खेतीयोग्य जमिनमा बलान खोलाको बाढी पसेर क्षति पुर्याउँदा समेत सरकारले दिगो समाधान गर्न ठोस योजना बनाउन सकेको छैन ।
यसको दिगो समाधान गर्न तीनै तहका सरकारले तदरुकता देखाउन जरुरी रहेको समितिको भनाइ छ । सरकारको दीर्घकालीन योजनाबाट मनसुनजन्य वर्षाले खोलामा आउने अत्यधिक बाढीलाई गाउँ र खेतीयोग्य जमिनमा पस्नबाट बचाउन सकिन्छ । यसबाट स्थानीय किसानहरुको खेती बालीलगायत घरमा क्षति नपुग्ने समितिले बताएको छ ।
समितिले जिल्लाको बलान खोलाबाट भइरहेको परम्परागत सिंचाइलाई व्यवस्थित गरी आधुनिक बनाउन सके त्यहाँका खेतीयोग्य जमिन र गाउँ मनसुनजन्य विपद्को कम जोखिममा पर्ने आंकलन गरेको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा समितिले बलान बिहुल गाउँपालिका अन्तर्गत मनसुनजन्य विपद् जोखिम स्थलहरुको निरीक्षण गर्ने क्रममा यस्तो आंकलन गरिएको राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सुरेन्द्र कोइरालाले जानकारी दिए ।
गाउँपालिकाको वडा नम्बर १ मा पर्ने मल्हनिया गाउँ मनसुनजन्य विपद्को जोखिममा रहेको निरीक्षण टोलीले निष्कर्ष निकालेको छ । बलान खोलाको पानी वर्षेनी त्यहाँका खेतीयोग्य जमिन र बस्तीमा पस्दा स्थानीयहरु मारमा पर्ने गरेका छन् । बलान खोलाको करिब आठ सय मिटर बाँध भत्किएर गएकाले त्यसको पुनःनिर्माण पनि गर्नुपर्ने टोलीले औंल्याएको छ ।
गत वर्ष बलान खोलाको स्पर बाँध भत्केर जाँदा गाउँपालिकाको वडा नम्बर ४ बेल्ही गाउँमा बाढी पसेको थियो । सो गाउँमा बाढी पस्दा केही घरहरू डुबानमा परेको थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रजिअ थापाको नेतृत्वमा गएको निरीक्षण टोलीमा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।त्यस्तै बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, गाउँपालिकाको विभिन्न वडाका वडाध्यक्षहरु तथा स्थानीयहरुको सहभागितामा मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि जोखिम क्षेत्र पहिचान गरिएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies