एजेन्सी : मध्य म्यानमाको एउटा शहरमा शनिबार ५८ वर्ष यताकै सबैभन्दा धेरै वर्षा (एकै दिन) रेकर्ड गरिएको मौसम विज्ञान तथा जलविज्ञान विभागले जनाएको छ।
मध्य म्यानमाको मण्डले क्षेत्रको न्याउङ-उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा भएको छ । शनिबार १६१ मिमी वर्षा रेकर्ड गरिएको छ ।
चक्रवात मोकाका कारण अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको र आइतबार दिउँसोसम्म देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगलादेश–म्यानमाको तटीय क्षेत्रतर्फ अघि बढेको चक्रवात मोचाले आइतबार १२० माइल प्रतिघण्टाको गति र पश्चिमी म्यानमाको रखाइन राज्यमा १४ फिट (करिब ४.२६ मिटर) सम्मको आँधीबेहरी आउने अनुमान गरिएको छ ।
एजेन्सी : पाकिस्तानको सर्वोच्च अदालतले देशका पूर्वप्रधानमन्त्री इमरान खानको गत मंगलबार गरिएको गिरफ्तारी गैरकानूनी रहेको आदेश दिएको छ । अदालतले खानलाई तत्काल रिहा गर्ने आदेश दिएको छ ।
भ्रष्टाचार सम्बन्धी एक मुद्दालाई लिएर यसै साता उनलाई नाटकीयरूपमा अदालत परिसरबाटै पक्राउ गरिएको थियो । उनका वकिलहरूले उक्त गिरफ्तारी गैरकानूनी रहेको तर्क गरेका थिए भने उनको दल पाकिस्तान तहरिक–ए–इन्साफ (पीटिआई)ले त्यो राजनीतिक रूपमा प्रेरित रहेको जनाएको थियो ।
पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा १० जनाको मृत्यु भएको छ । ती झडपमा ७ सय ५० जनाभन्दा बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार उल्लेख गरेका छन् ।
झण्डै एक हजार ९ सय प्रदर्शनकारीलाई गिरफ्तार गरिएको छ । प्रहरी चौकीसहित विभिन्न सरकारी भवनहरू ध्वस्त भएका छन् । इस्लामाबादको एक उत्तरदायित्व अदालतले बुधबार अल कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आठ दिनको लागि हिरासतमा लिएपछि देशभर तवावको स्थिति सिर्जना भएको हो ।
केन्द्रीय महासचिव असद उमरलाई हिरासतमा लिएको केही घण्टापछि पीटीआईका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीलाई पनि पक्राउ गरिएको थियो ।
पञ्जाब, खैबर पख्तुनख्वा र इस्लामाबादमा प्रशासनले बिग्रँदै गएको अवस्थालाई व्यवस्थापन गर्ने प्रयासमा सेना परिचालन गरेको थियो । प्रदर्शनकारीहरूले कोर कमाण्डरको लाहोरको घरमा प्रवेश गरी रावलपिंडीको जीएचक्यूको एउटा गेटसमेत भत्काएका छन् ।
यसअघि पाकिस्तानका पूर्व विदेशमन्त्री, पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का उपाध्यक्ष मखदुम शाह महमूद कुरैशीलाई इस्लामावाद प्रहरीले पक्राउ गरी अज्ञात स्थानमा सारिएको थियो ।
पाकिस्तानको एक्सप्रेस ट्रिब्यूनका अनुसार बुधबार दिउँसो पीटीआई नेतालाई इस्लामाबादको गिलगिट–बाल्टिस्तान हाउसबाट हिरासतमा लिइएको थियो । मंगलबार, पीटीआई अध्यक्ष खानलाई भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको छ । उत्तरदायित्व ब्युरोले पूर्वप्रधानमन्त्रीविरुद्ध अनुसन्धान गर्दैछ । कुरेशीलाई पञ्जाब र खैबर पीमा दंगा र आगजनीका घटनामा प्रहरीको खोजीमा छन् ।
यसैबीच पाकिस्तानी रुपैयाँको मूल्य अमेरिकी डलरको तुलनामा उल्लेखनीय रूपमा घटेको छ । बुधबार अन्तरबैंक बजारमा ग्रीनब्याक २९०.२२ रुपैयाँको अत्यन्त न्यून मूल्यमा कारोबार भएको स्टेट बैंक अफ पाकिस्तानले जनाएको छ ।
मंगलबार कारोबार अमेरिकी डलर २८४.८४ रुपैयाँमा बन्द भएको थियो । बुधबार स्थानीय मुद्रा अमेरिकी डलरको तुलनामा ५.३८ रुपैयाँ (करिब १.८५ प्रतिशत)ले घटेर न्यून रेकर्ड भएको आधिकारिक तथ्यांकले देखाएको छ ।
बजार विश्लेषकहरूका अनुसार पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचारको आरोपमा राष्ट्रिय जवाफदेहिता ब्यूरोले मंगलबार पक्राउ गरेपछि देशभर व्यापक विरोध भएको र त्यसकै प्रभावले पैसाको अवमूल्यन भएको टिप्पणी गरिएको छ ।
दक्षिण एसियाली मुलुकमा चलिरहेको राजनीतिक अस्थिरतापछि अन्तर्राष्ट्रिय मुद्रा कोषको बेलआउट कार्यक्रमको पुनः शुरुवातमा आएको अनिश्चितता र विदेशी विनिमय सञ्चितिमा आएको कमीका कारण केही समयदेखि यहाँको रुपैयाँ दबाबमा रहेको छ ।
काठमाडौं : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् ।
न्यूयोर्कको एउटा जुरीले अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले म्यागेजिनकी लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार गरेको र त्यसबारे झुटो बोलेर उनलाई बदनाम गरेको ठहर गरेको हो ।
दुई हप्ता लामो सुनुवाइपछि करिब ३ घण्टा बहस गरेर जुरीले क्यारोललाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनाएको छ ।
केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । साथै उनले आफ्नो मानहानी समेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् ।
एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुरक्षा बलले इस्लामावाद उच्च अदालत परिसरबाट पक्राउ गरेको छ ।
भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका थिए । अदातल परिसर प्रवेश गरेपछि सुरक्षाकर्मीले खानलाई नियन्त्रणमा लिएर बख्तरबन्द गाडीमा राखेका थिए ।
इस्लामाबादका महानिरीक्षक अकबर नासिर खानले एक विज्ञप्ति जारी गर्दै इमरान खानलाई अल-कादिर ट्रस्ट मामिलामा पक्राउ गरिएको बताएका छन् । उनले पक्राउ पर्नु सामान्य रहेको बताएका छन् ।
खानको पक्राउ पुर्जी मे १ मा नेशनल अकाउन्टिब्लिटी ब्यूरो अध्यक्ष लेफ्टिनेन्ट जनरल नाजिर अहमदले जारी गरेका थिए । यसमा इमरान खानलाई एनएबी अध्यादेश १९९९ को धारा ९ए अन्तर्गत भ्रष्टाचारको आरोप लगाइएको छ ।
पक्राउ परेका खानलाई सोधपुछका लागि अदालतमा पेश गरिने बताइएको छ ।
एजेन्सी : भारतको मध्य प्रदेशको खरगोन जिल्लामा मंगलबार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
सो घटना मंगलबार बिहान जिल्लाको ओन प्रहरी चौकी अन्तर्गत दसङ्गा क्षेत्र नजिकै डोङ्गरगाउँ पुलमा भएको हो । घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रशासन र एम्बुलेन्स घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेको थियो ।
खरगोनका प्रहरी उपरीक्षक (एसपी) धरमवीर सिंहले भनेका छन्- "खरगोनको पुलबाट बस खसेर १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । उद्धार कार्य जारी छ ।"
प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई रु चार लाख, गम्भीर घाइतेलाई रु ५० हजार र सामान्य घाइतेलाई रु २५ हजार तत्काल उपलब्ध गराउने घोषणा गरेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
एजेन्सी : भारतको केरलामा डुंगा पल्टिँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आइतबार राति मलप्पुरम जिल्लाको तनुर क्षेत्रमा अवस्थित तूवलतीरम समुद्री तटनजिकै एउटा नदीमुखमा पर्यटकहरु चढेको दुईतले डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाग्रस्त उक्त डुंगालाई हिलोयुक्त पानीबाट बाहिर निकालिएको थियो । दुर्घटनास्थलमा खोजी तथा उद्धारकार्य जारी रहँदा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । ज्यान गुमाउनेहरूमा महिला र बालबालिका पनि रहेको प्रहरीले जानकारी दिएको छ ।
मलप्पुरम जिल्लाका प्रहरी अधिकारी अब्दुल नजारले उक्त डुंगामा क्षमताभन्दा बढी मानिस रहेको बताएका छन् । डुंगामा ५० जना सवार रहेको बताइएको छ ।
डुंगा पल्टिँदा धेरै यात्रुहरूले लाइफ ज्याकेट नलगाएको दुर्घटनामा परेर पनि ज्यान जोगिएका मानिसहरूले बताएका छन् । उद्धार गरिएका घाइतेहरु अस्पतालमा उपचाररत रहेको र केही घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । डुंगा पल्टिनुको कारण भने पत्ता लाग्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
भारतकी राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा मानिसहरूको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन् । दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री मोदीले क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
प्रधानमन्त्रीले ट्वीट गर्दै भनेका छन्, ‘केरलाको मलाप्पुरममा भएको डुंगा दुर्घटनाप्रति स्तब्ध भएकु छु । शोकसन्तप्त परिवारप्रति समवेदना । प्रत्येक मृतकका आफन्तलाई २ लाख उपलब्ध गराइनेछ ।’
यसैबीच केरला सरकारले डुंगा दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने र घटनाको न्यायिक छानबिन गरिने छ ।
एजेन्सी : अमेरिकाको डलास नजिकैको एउटा आउटलेट मलमा भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । न्युयोर्क टाइम्सले शनिबार राति अधिकारीहरूलाई उद्धृत गर्दै सो घटनाबारे जानकारी दिएको छ ।
एलेन, टेक्सासका प्रहरी प्रमुख ब्रायन ई हार्वेले शनिबार राति पत्रकार सम्मेलनमा बताएअनुसार बन्दुकधारीको अझै पहिचान हुन सकेको छैन ।
गोली चलेको समयमा मलमा अर्कोतिर रहेका एकजना प्रहरी अधिकारीले बन्दुकको आवाज सुनेपछि त्यसतर्फ दौडिएको र आक्रमणकारीलाई गोली हानेको बताएका छन् ।
न्युयोर्क टाइम्सका अनुसार दिउँसो ३.३० बजे (स्थानीय समय) अनुसार, डलासबाट २५ माईल उत्तरमा रहेको १२० भन्दा बढी खुद्रा विक्रेता भएको बाहिरी किनमेल केन्द्र, एलेन प्रिमियम आउटलेटमा गोली हानाहान भएको हो ।
यता सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कालो लुगा लगाएको, लामो राइफल बोकेको आक्रमणकारीलाई भुइँमा लडिरहेको तस्बीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
घटनास्थलबाट खिचिएको भिडियोमा सयौं उपभोक्ता सो क्षेत्र छाडेर दौडेको देखिएको छ । हवाई फुटेजमा कम्तिमा तीनवटा शव मल बाहिर छोपेर राखिएको देखाइएको छ ।
एलेन, टेक्सासका फायर चीफ जोनाथन बाँयडले नौ जना घाइतेलाई अस्पताल लगिएको बताएका छन् ।
"अस्पताल पुर्याइएका घाइते मध्ये, दुई जनाको मृत्यु भइसकेको छ। तीन जनाको गम्भीर प्रकृतिको शल्यक्रिया भइरहेको र चारजनाको स्वास्थ्य स्थिर रहेको छ," बोइडले बताएका छन् ।
एलेनमा भएको सामूहिक गोलीबारी देशभरि बन्दुक आक्रमणको लामो लाइनमा सबैभन्दा पछिल्लो हो जसले पसल, अस्पताल, विद्यालय र अन्य सार्वजनिक ठाउँहरूलाई आतंकित पारेको छ जुन सामान्यतया सुरक्षित मानिन्छ ।
यस आक्रमणलाई टेक्सासका गभर्नर ग्रेग एबोटले "अवर्णनीय त्रासदी" भनेका छन् ।
शनिबारको घटना मोन्टेरी पार्क क्यालिफोर्नियामा भएको नरसंहारपछि वर्षको दोस्रो सबैभन्दा घातक गोलीबारी हो जसमा एकजना बन्दुकधारीले गत २१ जनवरीमा बलरूममा ११ जनाको हत्या गरेको थियो ।
एजेन्सी : भारतको मणिपुरमा अखिल आदिवासी विद्यार्थी संघ मणिपुरले आयोजना गरेको सार्वजनिक जुलुस हिंसात्मक भएपछि प्रशासनले सुरक्षाकर्मीलाई घटनास्थलमा गोली चलाउने आदेश दिएको छ ।
राज्यका अधिकांश जिल्लामा कर्फ्यू लगाइएको छ । स्थिति नियन्त्रणमा लिन सेना र असम राइफल्सका जवानहरूलाई तैनाथ गरिएको छ ।
यसअघि सेनाले राज्य प्रहरीसँग मिलेर धेरै ठाउँमा हिंसा नियन्त्रण गरेको र फ्ल्याग मार्च पनि गरेको बताएको थियो ।
बुधबारदेखि तत्काल लागू हुने गरी पाँच दिनका लागि राज्यभर मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ ।
तर यो व्यापक हिंसाका सम्बन्धमा सामाजिक सञ्जालमा शेयर भएका तस्विर र भिडियोमा धेरै ठाउँमा घर जलेको देख्न सकिन्छ । भिडियोमा केही व्यक्तिहरू चुराचन्दपुरको हतियार पसलमा घुसेर बन्दुक लुट्दै गरेको देख्न सकिन्छ ।
केन्द्रीय गृहमन्त्री अमित शाहले बिहीबार मुख्यमन्त्री एन. वीरेन सिंहसँग कुरा गरी राज्यको वर्तमान अवस्थाबारे जानकारी लिएका थिए ।
यसैबीच, मणिपुरका मुख्यमन्त्रीले भिडियो विज्ञप्ति जारी गर्दै राज्यका सबै समुदायलाई शान्ति कायम राख्न अपिल गरेका छन् ।
अप्रिल १९ मा मणिपुर उच्च अदालतले राज्य सरकारलाई चार हप्ताभित्र मेइती समुदायलाई अनुसूचित जनजाति (एसटी) श्रेणीमा समावेश गर्ने अनुरोधलाई विचार गर्न भनेको थियो । आफ्नो आदेशमा, अदालतले केन्द्र सरकारलाई यसको विचारको लागि सिफारिस पठाउन पनि भनेको थियो ।
यसको विरोधमा अल ट्राइबल स्टुडेन्ट्स युनियन मणिपुरले राजधानी इम्फालबाट करिब ६५ किलोमिटर टाढा रहेको चुराचांदपुर जिल्लाको तोरबंग इलाकामा बुधबार ‘आदिवासी एकता मार्च’ र्याली निकालेको थियो । यो र्यालीमा हजारौँ मानिसको सहभागिता रहेको थियो । सो क्रममा हिंसा भड्किएको बताइएको छ ।
एजेन्सी : पञ्जाब राज्यको लुधियाना जिल्लास्थित एक कारखानमा आइतबार बिहान ग्यास चुहिँदा नौ जनाको मृत्यु भएको छ भने अन्य ११ जना अचेत अवस्थामा फेला परेका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडिआरएफ)को एक समूह घटनास्थल पुगेको छ भने दमकल र चिकित्सकको टोली पनि त्यहाँ पुगेको छ । एनडिआरएफ टोली युद्धस्तरमा उद्धारमा जुटेको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीका एक अधिकारीले ग्यास चुहिएर दुर्घटना भएको बताए पनि त्यससम्बन्धमा विस्तृत विवरण दिएका छैनन् । अनुसन्धान जारी छ ।
शहबाज खान/मध्यान्ह
कपिलवस्तु : साउदी अरेबियाले सुडानबाट विभिन्न देशका अलपत्र परेका थप १ सय ९९ जनालाई स्वदेश फर्काएको छ । साउदी परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार १० जना साउदी नागरिक र १ सय ८९ अन्य देशका नागरिक बोकेको साउदी जहाज जेद्दास्थित किंग फैसल नौसेना बेसमा पुगेको छ ।
'साउदी अरेबियाको नेतृत्वको निर्देशनमा सुडानबाट आफ्ना नागरिक र मित्र राष्ट्रका नागरिकहरूलाई सुडानबाट उद्धार गर्ने प्रयासको निरन्तरतामा १० साउदी नागरिक र मित्र राष्ट्रका १ सय ८९ नागरिकहरू जेद्दा आइपुगेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
सुडानबाट उद्धार कार्य शुरु भएदेखि हालसम्म एक सय एक जना साउदी नागरिक र २६ राष्ट्रका २५५ जना गरी ३ सय ५६ जनालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।
उद्धार गरिएकामा अमेरिका, बेलायत, स्वीडेन, इटाली, कतार, सिरिया, नेदरल्याण्ड, इराक, टर्की, तान्जानिया, लेबनान र लिबियाका नागरिकहरु रहेका छन् ।
जेद्दाहमा आफ्ना देशको प्रतिनिधित्व गर्ने एक दर्जनभन्दा बढी कूटनीतिज्ञहरू उद्धार गरिएका नागरिकलाई स्वागत गर्न उपस्थित थिए । साउदीले विदेशी नागरिकहरूलाई उनीहरूको देशमा प्रस्थान गर्नका लागि सहजीकरणसमेत गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies