एजेन्सी : भारतको केरलामा डुंगा पल्टिँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आइतबार राति मलप्पुरम जिल्लाको तनुर क्षेत्रमा अवस्थित तूवलतीरम समुद्री तटनजिकै एउटा नदीमुखमा पर्यटकहरु चढेको दुईतले डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाग्रस्त उक्त डुंगालाई हिलोयुक्त पानीबाट बाहिर निकालिएको थियो । दुर्घटनास्थलमा खोजी तथा उद्धारकार्य जारी रहँदा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । ज्यान गुमाउनेहरूमा महिला र बालबालिका पनि रहेको प्रहरीले जानकारी दिएको छ ।
मलप्पुरम जिल्लाका प्रहरी अधिकारी अब्दुल नजारले उक्त डुंगामा क्षमताभन्दा बढी मानिस रहेको बताएका छन् । डुंगामा ५० जना सवार रहेको बताइएको छ ।
डुंगा पल्टिँदा धेरै यात्रुहरूले लाइफ ज्याकेट नलगाएको दुर्घटनामा परेर पनि ज्यान जोगिएका मानिसहरूले बताएका छन् । उद्धार गरिएका घाइतेहरु अस्पतालमा उपचाररत रहेको र केही घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । डुंगा पल्टिनुको कारण भने पत्ता लाग्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
भारतकी राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा मानिसहरूको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन् । दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री मोदीले क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
प्रधानमन्त्रीले ट्वीट गर्दै भनेका छन्, ‘केरलाको मलाप्पुरममा भएको डुंगा दुर्घटनाप्रति स्तब्ध भएकु छु । शोकसन्तप्त परिवारप्रति समवेदना । प्रत्येक मृतकका आफन्तलाई २ लाख उपलब्ध गराइनेछ ।’
यसैबीच केरला सरकारले डुंगा दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने र घटनाको न्यायिक छानबिन गरिने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies