शहबाज खान/मध्यान्ह
कपिलवस्तु : साउदी अरेबियाले सुडानबाट विभिन्न देशका अलपत्र परेका थप १ सय ९९ जनालाई स्वदेश फर्काएको छ । साउदी परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार १० जना साउदी नागरिक र १ सय ८९ अन्य देशका नागरिक बोकेको साउदी जहाज जेद्दास्थित किंग फैसल नौसेना बेसमा पुगेको छ ।
'साउदी अरेबियाको नेतृत्वको निर्देशनमा सुडानबाट आफ्ना नागरिक र मित्र राष्ट्रका नागरिकहरूलाई सुडानबाट उद्धार गर्ने प्रयासको निरन्तरतामा १० साउदी नागरिक र मित्र राष्ट्रका १ सय ८९ नागरिकहरू जेद्दा आइपुगेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
सुडानबाट उद्धार कार्य शुरु भएदेखि हालसम्म एक सय एक जना साउदी नागरिक र २६ राष्ट्रका २५५ जना गरी ३ सय ५६ जनालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।
उद्धार गरिएकामा अमेरिका, बेलायत, स्वीडेन, इटाली, कतार, सिरिया, नेदरल्याण्ड, इराक, टर्की, तान्जानिया, लेबनान र लिबियाका नागरिकहरु रहेका छन् ।
जेद्दाहमा आफ्ना देशको प्रतिनिधित्व गर्ने एक दर्जनभन्दा बढी कूटनीतिज्ञहरू उद्धार गरिएका नागरिकलाई स्वागत गर्न उपस्थित थिए । साउदीले विदेशी नागरिकहरूलाई उनीहरूको देशमा प्रस्थान गर्नका लागि सहजीकरणसमेत गरेको छ ।
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले एक भिडियो सन्देश जारी गर्दै राष्ट्रपतीय निर्वाचनमा पुनः उममेदवारी दिने घोषणा गरेका हुन् ।
अमेरिकाका ४६ औँ राष्ट्रपति बाइडेनले भिडियोमा गर्भपतनको अधिकार, लोकतन्त्रको संरक्षण, मतदानको अधिकार र सामाजिक सुरक्षालाई सन् २०२४ मा हुने चुनावमा सबैभन्दा महत्वपूर्ण विषय हुने बताएका छन् ।
उनले आगामी पुस्तालाई ‘अधिक वा कम स्वतन्त्रता’ र ‘अधिक वा कम अधिकार’ दिने विकल्प मतदातासँग हुने बताए ।
भिडियोको साथमा जारी गरिएको एक प्रेस विज्ञप्तिमा बाइडेनले ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार जुली चाभेज रोड्रिग्वेज उनको अभियान प्रबन्धक हुने उल्लेख गरेका छन् ।
८० वर्षीय बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन् । सन् २०२४ मा हुने चुनाव जितेमा २०२९ मा दोस्रो पूर्ण कार्यकालपछि उनी ८६ वर्षका हुनेछन् ।
‘अमेरिकी भावनाको पुनर्स्थापन’ गर्ने वाचा गरेका उनले सन् २०२० को चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएका थिए ।
यसैबीच उपराष्ट्रपति कमला ह्यारिसले पनि आफू पनि उपराष्ट्रपति पदको दौडमा रहने बताएकी छन् । सन् २०२० मा ५८ वर्षीया ह्यारिस देशको पहिलो महिला उपराष्ट्रपति भएकी थिइन् ।
उनले ट्विट गर्दै फेरि चुनाव लड्ने घोषणा गरेकी हुन् । उनले ट्विटमा लेखेकी छन्, ‘अमेरिकी भएको नाताले हामी स्वतन्त्रता र अधिकारमा विश्वास गर्छौं । हामी विश्वास गर्छौं कि हाम्रो लोकतन्त्र त्यति बलियो हुनेछ जब हामी यसका लागि लड्न तयार छौं । यस कारणले, जो बाइडेन र म फेरि प्रतिस्पर्धा गर्न जाँदैछौं ।’
एजेन्सी : पाकिस्तानको स्वात उपत्यकामा रहेको प्रतिआतंकवाद विभागको कार्यालयमा भएको विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
विस्फोटमा ५३ जना घाइते भएका छन् । जसमध्ये आठ जनाको अवस्था गम्भीर छ । घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेमा अधिकांश प्रहरी रहेका छन् । विस्फोटबाट प्रतिआतंकवाद कार्यालयको भवन ध्वस्त भएको छ ।
स्वात प्रहरीले प्रतिआतंकवाद विभागको कार्यालयमा भएको विस्फोट आतंकवादी कार्य नभएको जनाएको छ ।
पुरानो सीटीडी कार्यालयमा विस्फोट भएको थियो तर अहिले आतंकवादी हमलाको कुनै प्रमाण नभएको प्रहरीले जनाएको छ । यहाँ राखिएको हतियारमा विद्युत सर्टसर्किट भएर आगो लागेको थियो ।
पाकिस्तानी तालिबान समूहले हालैका दिनहरूमा यहाँ सुरक्षा बलहरूमा धेरै आक्रमणहरू गरेको छ । तर उसले यस विस्फोटको जिम्मेवारी भने लिएको छैन ।
प्रतिआतंकवाद विभागका क्षेत्रीय प्रमुख सोहेल खालिदले पनि कार्यालयमा भएको विस्फोट आतंकवादीले गराएको नभई त्यो एक दुर्घटना भएको प्रारम्भिक अनुसन्धानको प्रतिवेदन आफूलाई प्राप्त भएको बताएका छन् । कार्यालयमा राखिएका हातहतियार गोलाबारुदमा लापरबाहीका कारण आगो सल्केर विस्फोट भएको हुनसक्ने उनको अनुमान छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यसअघि विस्फोटलाई 'फिदाइन आक्रमण' भनेका थिए तर पछि भने विस्फोटको कारणबारे अनुसन्धान भइरहेको बताएका थिए ।
स्वात उपत्यकामा आतंकवाद विरोधी अभियान चलिरहेको छ । जसका कारण यहाँ सुरक्षा बलको उल्लेख्य उपस्थिति रहेको छ । सन् २०१२ मा आतंकवादीहरूले नोबेल पुरस्कार विजेता मलाला युसुफजाईलाई यस उपत्यकामा आक्रमण गरेका थिए ।
काठमाडौं : सुडानमा दुई प्रतिद्वन्द्वी सेनाहरू बीचको तीव्र लडाईं भएको एक हप्तापछि साउदी अरेबिया सुडानबाट आफ्ना अलपत्र नागरिकहरूलाई उद्धार गर्ने पहिलो देश बनेको छ।
साउदीको परराष्ट्र मन्त्रालयले साउदी नागरिकसँगै 'मित्र राष्ट्रका धेरै नागरिकहरू'लाई उद्धार गरिएको बताएको छ।
रोयल साउदी नौसेना बल (आरएसएनएफ) ले शनिबार सुडानबाट आफ्ना नागरिक, अन्य देशका नागरिक, कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय अधिकारीहरूलाई उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कुवेत, कतार, यूएई, इजिप्ट, ट्युनिसिया, पाकिस्तान, भारत, बुल्गेरिया, फिलिपिन्स, क्यानडा, बंगलादेश र बुर्किना फासोका ६६ जनालाई उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा साउदी नागरिकको संख्या ९१ रहेको छ ।
मन्त्रालयका अनुसार जेद्दाहमा सबै साउदी नागरिक र अन्य देशका नागरिकहरु सकुशल पुगेका छन् । साथै साउदीले विदेशी नागरिकहरूलाई उनीहरूको देशमा प्रस्थान गर्ने तयारीका लागि सबै आवश्यकताहरू उपलब्ध गराएको बताइएको छ ।
एजेन्सी : ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । उनलाई पञ्जाब प्रहरीले भारतबाटै पक्राउ गरेको हो ।
पञ्जाब प्रहरीले आफ्नो ट्विटरबाट यसको पुष्टि गर्दै अमृतलाई पञ्जाबको मोगाबाट गिरफ्तार गरिएको जनाएको छ । प्रहरीले नागरिकहरूसँग शान्ति र सद्भाव कायम राख्न अनुरोध गरेको छ ।
शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै आएका छन् ।
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन् । राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिकरूपमा आफ्नो अभियान शुरु गर्नको लागि एउटा भिडियो जारी गर्ने योजनालाई अन्तिम रूप दिइरहेको वाशिङ्गटन पोस्टले उल्लेख गरेको छ ।
द वाशिङ्गटन पोस्टका अनुसार राष्ट्रपति बाइडेन र उनका सहयोगीहरूले मंगलबार बाइडेनको सन् २०२० अभियान शुरुवातको चार वर्षे वार्षिकोत्सवको अवसरमा भिडियो जारी गर्ने निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले महिनौंदेखि आफू दोस्रो कार्यकालको लागि उम्मेदवार हुने योजनाको संकेत गरेका छन्, तर आधिकारिक घोषणा भने गरेका छैनन् ।
राष्ट्रपतिका शीर्ष सहयोगीहरूले चुपचाप चुनावी दौडको लागि व्यापक तयारी गरेका छन् । त्यसका निम्ति उनीहरूले राष्ट्रपति र प्रथम महिलासँग गत वर्षदेखि ह्वाइट हाउस निवासमा नियमित भेटघाटहरू गर्दैछन् ।
बाइडेनका दुई शीर्ष सल्लाहकारहरू, अनिता डन र जेन ओ'माली डिलनले पुन: निर्वाचन प्रयासहरूको निरीक्षण गर्दै आएका छन् । शीर्ष भूमिकाका लागि कर्मचारीहरूको अन्तर्वार्ता सहित उनीहरू आन्तरिक तयारीमा होमिएका छन् । उता डेमोक्र्याटिक राष्ट्रिय समितिले चुनावी परिदृश्य अध्ययन गर्न अनुसन्धान परियोजनाहरूलाई आर्थिक सहयोग गरिरहेको छ ।
एजेन्सी : सुरतको एक अदालतले मानहानि मुद्दामा भारतीय कांग्रेस नेता राहुल गान्धीको अपिल खारेज गरेको छ ।
मार्च २३ मा सुरतको सेशन अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो र फैसलालाई चुनौती दिन एक महिनाको समय पनि दिएको थियो ।
सन् २०१९ मा मोदी थरको बारेमा दिएको बयानमा सुरतको सेशन अदालतले उनलाई दुई वर्षको जेल सजाय सुनाएको हो । जसको विरुद्धमा उनले पुनरावेदन दायर गरेका थिए ।
गत महिना सेशन अदालतको फैसलापछि राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएको थियो ।
एजेन्सी : बेइजिङस्थित एक अस्पतालमा भएको आगालागीमा परी २९ जनाको मृत्यु भएको छ । बेइजिङको चाङफेङ अस्पतालमा मंगलबार भएको आगलागीमा परी २९ जनाले ज्यान गुमाएको बेइजिङको फेङताई जिल्लाका उपप्रमुख ली जोङग्रोङले बताएका छन् ।
उक्त घटनालाई लिएर अस्पताल व्यवस्थापनका निर्देशकसहित १२ जनालाई नियन्त्रणमा लिइएको बेइजिङको सार्वजनिक सुरक्षा ब्यूरोका सुन हाइताओले बताए ।
आन्तरिक मर्मतसम्भार र निर्माणको क्रममा अस्पतालमा मंगलबार आगो सल्केको अनुमान गरिएको छ । मर्मतसम्भारको ठेक्का पाएको कम्पनीका प्रतिनिधिलाई पनि पक्राउ गरिएको छ ।
एजेन्सी : सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको संख्या एक सय पुगेको छ ।
सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा गरेका दुई जनरल, सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहान र शक्तिशाली अर्धसैनिक रेपिड सपोर्ट फोर्सेज (आरएसएफ) को कमाण्ड सम्हालिरहेका उनका सहयोगी मोहम्मद हमदान डग्लोबीच हप्तौंदेखि चलेको शक्ति संघर्षपछि शनिबारदेखि हिंसा शुरु भएको हो ।
खार्तूम र सुडानका अन्य शहरहरूमा हवाई आक्रमण, सडकमा ट्यांकहरू, तोपखानाको गोलाबारी र भारी गोलीबारीसहित भएको भीषण द्वन्द्वले तत्काल युद्धविरामको लागि अन्तर्राष्ट्रिय मागहरू उठाएको छ ।
“शनिबारदेखि शुरु भएको झडपमा सर्वसाधारणको मृत्यु हुनेको संख्या एक सय पुगेको छ,” चिकित्सक संघले सोमबार उल्लेख गरेको छ । “यो आँकडामा सबै हताहती समावेश गरिएको छैन किन भने लडाईंका कारण आवतजावतमा कठिनाइ भएका कारण धेरै जना अस्पताल पुग्न सकेका छैनन् ।
सुडानका चिकित्सकहरूको केन्द्रीय समिति, एक अलग लोकतन्त्र समर्थक संगठनले शनिबारदेखि सुरक्षा बलहरूमा दर्जनौंको मृत्यु भएको र नागरिक र सेनासहित लगभग ९४२ जना घाइते भएको जनाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खार्तूमका नौ वटा अस्पतालमध्ये केहीमा रगत, रक्तसञ्चार उपकरण र अन्य अत्यावश्यक सामग्रीको अभाव भएको भन्दै चेतावनी दिएको छ ।
यस हिंसाले सुडानी नागरिकहरूलाई आफ्नो घरमा आश्रय लिन बाध्य बनाएको छ साथै लामो द्वन्द्वको डरले देशलाई गहिरो अराजकतामा धकेल्न सक्छ । नागरिक शासनमा फर्कने आशामा तुषारापात भएको छ ।
एजेन्सी : सुडानको राजधानी खार्तुममा शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा कम्तीमा ५६ जनाले ज्यान गुमाएका छन् भने करिब छ सय जना घाइते भएका छन् । आइतबार पनि बिहानैदेखि झडप भइरहेको प्रतयक्षदर्शीहरूले बताएका छन् ।
विद्रोही समूह आरएसएफले राष्ट्रपतिको कार्यालय, खार्तुम विमानस्थल, सरकारी टेलिभिजन र अन्य महत्वपूर्ण स्थान आफ्नो नियन्त्रणमा रहेको दाबी गरेपछि खार्तुमका सुनसान सडकमा लगातार विस्फोट र बन्दुक पड्केको आवाज सुनिएको छ । सरकारी सेनाले विद्रोहीका दाबीलाई अस्वीकार गर्दै आएसएफका आधार क्षेत्रमा हवाई हमला जारी राखेको बताएको छ । सुडानी वायु सेनाले नागरिकहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ ।
प्रजातन्त्र समर्थक स्वतन्त्र चिकित्सकहरूको समूहले ५६ जना नागरिकका साथै कैयौं सुरक्षाकर्मीको मृत्यु भएको तथा छ सय जना घाइते भएका बताएको छ । दोहोरो झडपका कारण आवतजावतमा कठिनाइ भएकाले धेरै घाइतेलाई अस्पताल पुर्याउन नसकिएको जानकारी दिँदै सुडानी डाक्टरको समूहले मृतकको संख्या बढ्नसक्ने बताएको छ ।
कमजोर समुदायलाई खाद्य सहायता प्रदान गर्ने राष्ट्रसंघीय निकाय विश्व खाद्य कार्यक्रमका तीन जना कर्मचारी पनि मारिएका छन् । पश्चिम सुडानको कब्कावियामा रहेको सैन्य आधार शिविरमा भएको झडपमा उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
बेलायत, अमेरिका, युरोपेली संघ, रुस र चीनले तत्काल युद्ध अन्त्यको आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सैनिक जनरल बुरहान र आरएसएफका जनरल मोहमद हमदान डगालोसँग टेलिफोनमा कुरा गर्दै अविलम्ब हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।
खार्तुमस्थित अमेरिकी राजदूत जोन गोडफ्रेले गोलाबारी र विष्फोटको आवाजबाट ब्यूझिँएको बताउँदै सर्वसाधारण सुडानीलेझै आफू पनि दूतावासका कर्मचारीसँग सुरक्षित स्थानमा आश्रय लिइरहेको बताएका छन् ।
राष्ट्रसंघीय सुरक्षा परिषद्ले सुडानमा द्वन्द्व भड्किएकामा गहिरो चिन्ता व्यक्त गर्दै त्यहाँ भएको मानवीय क्षतिप्रति दुःख प्रकट गरेको छ । सुरक्षा परिषद्का सदस्यहरूले द्वन्द्वरत पक्षलाई तत्काल झडप त्यागेर शान्ति स्थापना गर्न तथा सुडानको वर्तमान संकट समाधानका निम्ति वार्तामा फर्कन आह्वान गरेको छ ।
परिषद्ले आइतबार एक विज्ञप्ति निकालेर सुडानमा मानवीय पहुँच कायम राख्न तथा राष्ट्रसंघीय कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । विज्ञप्तिमा सुडानको एकता, सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताप्रति परिषद्को दृढ प्रतिबद्धता दोहोर्याइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies