एजेन्सी : सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको संख्या एक सय पुगेको छ ।
सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा गरेका दुई जनरल, सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहान र शक्तिशाली अर्धसैनिक रेपिड सपोर्ट फोर्सेज (आरएसएफ) को कमाण्ड सम्हालिरहेका उनका सहयोगी मोहम्मद हमदान डग्लोबीच हप्तौंदेखि चलेको शक्ति संघर्षपछि शनिबारदेखि हिंसा शुरु भएको हो ।
खार्तूम र सुडानका अन्य शहरहरूमा हवाई आक्रमण, सडकमा ट्यांकहरू, तोपखानाको गोलाबारी र भारी गोलीबारीसहित भएको भीषण द्वन्द्वले तत्काल युद्धविरामको लागि अन्तर्राष्ट्रिय मागहरू उठाएको छ ।
“शनिबारदेखि शुरु भएको झडपमा सर्वसाधारणको मृत्यु हुनेको संख्या एक सय पुगेको छ,” चिकित्सक संघले सोमबार उल्लेख गरेको छ । “यो आँकडामा सबै हताहती समावेश गरिएको छैन किन भने लडाईंका कारण आवतजावतमा कठिनाइ भएका कारण धेरै जना अस्पताल पुग्न सकेका छैनन् ।
सुडानका चिकित्सकहरूको केन्द्रीय समिति, एक अलग लोकतन्त्र समर्थक संगठनले शनिबारदेखि सुरक्षा बलहरूमा दर्जनौंको मृत्यु भएको र नागरिक र सेनासहित लगभग ९४२ जना घाइते भएको जनाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खार्तूमका नौ वटा अस्पतालमध्ये केहीमा रगत, रक्तसञ्चार उपकरण र अन्य अत्यावश्यक सामग्रीको अभाव भएको भन्दै चेतावनी दिएको छ ।
यस हिंसाले सुडानी नागरिकहरूलाई आफ्नो घरमा आश्रय लिन बाध्य बनाएको छ साथै लामो द्वन्द्वको डरले देशलाई गहिरो अराजकतामा धकेल्न सक्छ । नागरिक शासनमा फर्कने आशामा तुषारापात भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies