बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा स्वास्थ्य क्लिनिक सिल गरिएका छन् । अनुगमन गर्दा अवैधरुपमा सञ्चालन गरिएको पाइएपछि ती क्लिनिक बन्द गरिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले अनुगमन गर्दा स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन गरेको पाइएको हो । अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँस्थित कविर मेडिकल हल, दोगडाकेदार–७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार–३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
पञ्ज्युनयाँस्थित कविर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ । उनले भने, ‘स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेको पाइयो, त्यसैले सञ्चालक कार्कीलाई नियन्त्रणमा लिएका छौँ । यो विषयमा थप अनुसन्धान भइरहेको छ ।’
स्वास्थ्य क्लिनिक सञ्चालकले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिले मेडिकल सञ्चालन गरेको तथा सम्बन्धित निकायमा दर्ता प्रक्रियासमेत पूरा नगरेको पाइएकाले क्लिनिक सिल गरिएका प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । क्लिनिक अवैधरुपमा सञ्चालन गरिएका जनगुनासो आएपछि अनुगमन थालिएको उनको भनाइ छ । रासस
काठमाडौंः वीर अस्पतालको छैटौं तलाबाट हाम फाल्दा एक पुरुषको ज्यान गएको छ । अस्पतालको सर्जिकल भवनबाट सोमबार बिहान साढे दुई बजे पुरुषले हाम फालेको अस्पतालका सूचना अधिकारी सागर मिश्रका जानकारी दिए ।
अन्दाजी ४० वर्षका उनले बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेकाे मिश्रले बताए । प्रवेशपश्चात माथि तलामा गएर उनले हाम फालेका हुन् । मिश्रले भने, ‘अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । ‘उनी बाहिरका मान्छे हुन् । यो मेरो मान्छे हो भनेर कोही भन्न आएको पनि छैन, लाश बेवारिसे अवस्थामा छ ।’
काठमाडौंः ज्यान मार्ने उद्योग कसूरका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुरज खड्का रहेका छन् । उनी २०७८ चैत ९ गते दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरेकाले काठमाडौंस्थित शंखमुलबाट पक्राउ परेका थिए ।
सोही उद्योग कसूरमा संलग्न रही फरार रहेका मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चाबहिलबाट पक्राउ गरेको हो । उनलाई ज्यान मार्ने उद्योग कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको छ ।
म्याग्दीः अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार बेनी नगरपालिका–९ गलेश्वरस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ केजी ७ सय ग्रामसहित तीन जना पक्राउ परेका हुन् ।
प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले पर्वत जलजला गाउँपालिका–३ वारीबेनी बस्ने २० वर्षीय सुमित परियारसहित ३ जनालाई शनिबार साँझ उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ललितपुरः १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ का ३६ वर्षीय सुजन नगरकोटी रहेका छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
नगरकोटीले ती किशोरीलाई बिहीबार दिउँसो सोही नगरपालिका–२ त्रिवेणीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौंः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले संरक्षित वन्यजन्तु गैँडाको आखेटोपहार (खाग)सहित चार जनालाई पक्राउ गरेको छ ।
वन्यजन्तुको अङ्ग अवैधरुपमा ओसारपसार तथा खरिदबिक्री गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका लागि ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिकाका प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका बस्ने वर्ष ५० का पूर्णसिंह तामाङ, काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१३ का ३१ वर्षीय श्रीकृष्ण नगरकोटी र नुवाकोट दुप्तेश्वर गाउँपालिकाका ३५ वर्षीय कर्ना तामाङ रहेको ब्यूरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
केही अघि पक्राउ गरी आज विवरण सार्वजनिक गरेको ब्यूरोले उनीहरु चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौंमा बुझाइएको जानकारी दिएको छ । उनीहरुमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
झापाः भद्रपुर नगरपालिकाले सडक छेउमा बेवारिसे अवस्थामा उद्धार गरिएका एक महिनाभन्दा कम उमेरका स्वस्थ शिशुको अभिभावकको खोजी कार्य शुरु गरेको छ ।
नगर उपप्रमुख एवम् स्थानीय बाल अधिकार समितिकी संयोजक राधा कार्कीले प्रमाण पुग्ने कागजातसहित सात दिनभित्र सम्पर्कमा आएर शिशुलाई लैजान सार्वजनिक सूचना प्रकाशित गरिएको बताइन् ।
उनका अनुसार यही भदौ १२ गते साँझ पौने ८ बजेतिर भद्रपुर–७ को फुलबारी टोलस्थित सडकको छेउमा सबैले देख्ने ठाउँमा अन्दाजी १४ दिनको पूर्ण स्वस्थ शिशु बेवारिसे अवस्थामा फेला परेको थियो । हाल उक्त शिशुलाई प्रादेशिक अस्पताल भद्रपुरमा उपचारपछि पोषण गृहमा राखिएको छ ।
हरियो कपडामा सुताइएको, सेतो पञ्जा लगाइएको, निधारमा कालो टीका लगाइएको, टिसर्ट र टोपी लगाइदिएको अवस्थामा उक्त शिशुलाई भेटाइएको थियो । छिटो उद्धार होस् भन्ने मनसायले मानिसको प्रशस्त ओहोरदोहोर हुने सडककै छेउमा कसैले शिशुलाई छाडेर गएको हुनसक्ने उपप्रमुख कार्की बताउँछिन् ।
स्थानीय बाल अधिकार समितिको बैठक बसेर शिशुका अभिभावक पहिचानका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिँदै उपप्रमुख कार्कीले सूचना जारी भएको दुई दिन वितिसक्दासमेत अहिलेसम्म दाबी गर्न कोही पनि नआएको बताइन् । ‘डाक्टरहरुले परीक्षण गर्दा शिशु स्वस्थ रहेको भन्नुभएको छ, शिशुका बुबाआमा र अभिभावक प्रमाणसहित आउनुभयो भने उहाँहरुलाई नै शिशु जिम्मा लगाउँछौं’, उनले भनिन् ।
बेवारिसे शिशु फेला परेको हुँदा पालनपोषण गर्न इच्छुक ५० जनाभन्दा बढी व्यक्ति स्थानीय बाल अधिकार समितिको सम्पर्कमा आएको समेत उपप्रमुख कार्कीले जानकारी दिइन् । धर्मपुत्रका रुपमा पालनपोषण गर्न चाहने व्यक्ति डाक्टर, इन्जिनियर, प्राध्यापकसमेत रहेको उनले बताइन् ।
‘अहिले हामी शिशुको बाबुआमा र अभिभावक खोजिरहेका छौँ’, उनले भनिन्, बाबुआमा र अभिभावक पत्ता लगाउन सकिएन भने मात्र कानून बमोजिम अदालतले नै शिशुको अभिभावक बन्न इच्छुक व्यक्तिहरुमध्ये कसलाई दिने भन्ने निर्णय गर्नेछ ।’ निज बालकका बाबुआमा र अभिभावकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रादेशिक अस्पताल भद्रपुरको स्वास्थ्य प्रतिवेदनअनुसार शिशु लगभग तीन किलो तौलको रहेको छ । रासस
कन्चनपुरः कन्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा एक विद्यार्थी सङ्गठनले शुक्रबार दिउँसो तोडफोड गरेको छ ।
नेकपा समाजवादीनिकट अनेरास्ववियुका विद्यार्थी नेताले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेका हुन् । कार्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथले समाजवादीनिकट अनेरास्ववियुका नेताले कार्यालयमा तोडफोड गरेका बताए ।
‘घटनाबारे हामीले प्रहरीलाई विस्तृतमा जानकारी गराइसकेका छौँ’, उनले भने, ‘उनीहरुले मेरो र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा तोडफोड गरेका छन् ।’ उनले १२/१५ जनाको समूहमा आएका विद्यार्थी समूहले कामकाज चलिरहेकै बेला तोडफोड गरेका बताए ।
विद्यार्थीको तोडफोडबाट परीक्षा नियन्त्रक नाथ र सिंहको कार्यकक्षमा रहेका टेबुल, सिसा, कुर्सीलगायत अन्य कार्यालय सामग्रीमा क्षति पुगेको छ ।
अनेरास्ववियु कञ्चनपुरका नेताले स्नातक तह छैटौँ सेमेस्टर समाजशास्त्र विषयको प्रश्नपत्रमा त्रुटि भएको भन्दै परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटिलाई सच्याउनुपर्ने माग अघि सारेर गत साउन १८ गतेदेखि कार्यालयमा तालाबनदी गरेको थियो । उक्त ताला पाँच दिनअघि प्रशासनले तोडेको थियो ।
आफूहरूसँग सल्लाह नै नगरी विद्यार्थीले लगाएर ताला खोलिएको विषयमा आफूहरुको असन्तुष्टि रहेको समाजवादीनिकट अनेरास्ववियुले जनाएको छ ।
काठमाडौंः लुटिएको सुनको मुन्द्रा २ थानसहित बिहीबार प्रहरीले दुई जना पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–१३ घर भएका २४ राजन लामा र उदयपुर घर भएका २२ वर्षीय अमिष भुजेल रहेका छन् ।
चन्द्रागिरि नगरपालिका–१५ तीनथाना डेरा गरी बस्ने धादिङ नौबिसे घर भएका २६ वर्षीय पुरूषले कानमा लगाएको उक्त मुन्द्रा ढुङ्गेअड्डास्थित सडकबाट लुटिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट तत्काल खटिएको प्रहरीले उनीहरुलाई उक्त मुन्द्रासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौंः सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका(११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृहमन्त्रालयले बनाएको छानबिन टोलीले पुष्टी गरेको छ ।
गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न गत साउन २२ गते गृहमन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
समितिमा गृह मन्त्रालयको कानुनी शाखा अधिकृत प्रमोद विक, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने, अध्यागमन विभागका अधिकृत खेमराज सापकोटा र जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत मीनराज थापा थिए ।
समितिले दुई हप्ता लगाएर गरेको अनुसन्धानमा उनले नेपालबाट नागरिकता लिएको पुष्टि भएको हो । उनी नेपालमा बेल्जियमको नागरिकका रुपमा पर्यटक भिसामा आएको अवस्थामा पक्राउ परेका थिए । उनले नेपाली नागरिकता लिएको पाइएपछि तथ्य पुष्टि गर्न अनुसन्धान टोली गठन गरिएको थियो । सो नागकिरताको यकिन गर्न गरिएको अनुसन्धानमा उनले कीर्ते गरेर नेपाली नागरिकता लिएको पुष्टि भएको छानबिन समितिका एक सदस्यले जानकारी दिए ।
उनले भने, ‘निमा लामाको नामबाट नागकिरता लिएको पुष्टि भयो, अनुसन्धानमा उनको सिआइबी, अध्यागमन विभागमा भएको बायोमेट्रिक र हिरासतमा भेटेर लिएको बायोमेट्रिक मिलेकाले उनकै नागकिरता भएको पुष्टि गरेका छौँ ।’ समितिले बनाएको प्रतिवेदन मन्त्रालयलाई बुझाइसकिएको छ । थप अपराध अनुसन्धान भने सिआइबीलाईले नै हेर्ने गरी सिफारिस गरिएको पनि समितिले जनाएको छ ।
दावालाई गत साउनको १३ गते शनिबार राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । ठमेलको होटल भियानामा छापा मारी उनलाई पक्राउ गरिएको थियो । १७ वर्षअघि पनि उनी पक्राउ परेका थिए । उनले २०७४ पुस २० गते नागकिरता लिएको खुलेको थियो । उनीसहित अन्य केही व्यक्तिले पनि नेपाली नागरिकता लिएको खुलेको छ । केहीसँग भारतीय आधार कार्डसमेत भेटिएको थियो । गत साउन ३ गते ब्रेक शुमा राखेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
अहिले उक्त प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गरिरहेको छ । छ विदेशीसहित २५ जना पक्राउ गरी सिआइबीले अनुसन्धान गरिरहेको छ । त्यसमा केही भारतीय केही चिनियाँ नागरिक पनि छन् । सुन प्रकरणकै सूचना सङ्कलनका लागि सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङ्कङ पठाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies