सपना बोहरा/मध्यान्ह
दाङ : हिजोको सिमासार क्षेत्र आज सुक्खा भएको छ । हिजोको हरियाली वन मरुभूमिमा परिवर्तन हुँदैछ । हिजो गाईवस्तु चराउने डाँडा तथा वनहरु सहरीकरण भएर घरहरुले ढाँकिएका छन् । झन्–झन् पानीको हाहाकार बन्दै गएको छ ।
यो अवस्था हो दाङको पूर्वी क्षेत्र देउखुरीको । तर एउटा गतिलो विकास भएको देख्न सकिन्छ । त्यो हो बाटो । वनको बीच बीचबाट बाटोको ट्रयाक खोलिएको छ ।
जुन बाटो जोखिमपूर्ण देखिन्छ । तर ट्याक्टर, टिपरहरु सहजै आवत–जावत हुन्छन् । त्यो बाटोबाट दिनरात नदीजन्य पदार्थ, काठहरु निकास भइरहेका हुन्छन् । जो वैध हो, वा अवैध यसै भन्न सकिन्छ ।
ठूलो सम्भावना भएको देउखुरी समस्या पनि उत्तिकै छ । वर्खाको समयमा राप्ती नदी उर्लिएर आउँदा देउखुरी क्षेत्र नै डुवानमा पर्छ । गर्मी समयमा सबैभन्दा बढी आगलागी हुने पनि देउखुरी नै हो । जसको कारण पीडै पीडामा छन् देउखुरीवासी ।
दाङको देउखुरी चुरे क्षेत्रको लागि संवेदनशिल मानिन्छ । बढी ढुंगा गिट्टी बालुवा उत्खनन् हुने पनि देउखुरी नै हो भने वन पैदावार पनि देउखुरी नै हुनेगर्छ । वर्षामा डुवान र गर्मीमा आगलागीको हैरान खेप्दै आएका देउखुरीवासीलाई केही न केहीको विपद आइलागेको हुन्छ ।
गत आइतबार मात्रै राजपुर गाउँपालिका–७, हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भयो । १० गोठ समेत जलेर नष्ट भएको राजपुर–७ का वडाध्यक्ष पुष्कर वलीले जानकारी गराए । नजिकै रहेको वनमा लागेको डढेलो गाउँमा पसेको थियो । त्यो भन्दा पहिले दाङको लमही नगरपालिका वडा नम्बर ९ तरूलिया निवासी अन्दाजी ८७ वर्षीय वीरबहादुर बोटेको आगोमा जलेर मृत्यु भएको घटना ताजै छ ।
हिजोआज सुखा मौसममा विभिन्न स्थानहरुमा वन डढेलो लाग्ने हुँदा सतर्क रहन नागरिक समाज दाङका संयोजक निमबहादुर थापाले सबैमा अनुरोध गरे । ‘आगलागीका घटना बढी रहेका छन्, सयौं घर जले, दर्जनौं चौपाया र अधिकांश कुखुराहरु जलेका छन्’ संयोजक थापाले भने, ‘देउखुरीबासीलाई विपद्ले नछाड्ने भयो ।’
हिजोआज आगोलागीको त्रास छ । देउखुरीका श्यामलाल चौधरीले भने, ‘गर्मी समयमा बढी आगलागी हुन्छ, कति बेला कहाँ आगो सल्किने हो थाहा छैन ।’ वर्षामा डुबानमा परिन्छ कि भन्ने चिन्ता हुन्छ, गर्मीमा आगोको डर भएको उनले बताए ।
गढवा गाउँपालिकाकी रेमन्ती चौधरीले पनि देउखुरीलाई विपद्को सामाना गरिरहनुपर्ने बताइन् । गर्मीमा आगलागी र वर्षमा डुवानको ठूलो डर हुने गरेको उनले बताइन् ।
‘गर्मी समयमा आगो लाग्छ भनेरे धेरै डर लाग्छ’ उनले भनिन् ‘वर्षामा डुवानमा परिन्छ की भन्ने ठूलो चिन्ताले सताउँछ ।’ डरैडर र चिन्ताले सताउने गरेको उनले बताइन् । वनमा गाईबस्तु चराउन लैजाँदा पनि डढेलोमा पर्ने हो कि भन्ने ठूलो डर लाग्ने चौधरीले बताइन् ।
देउखुरी क्षेत्रमा अधिकांश घरमा अझै पनि फुसको छानो छ । स्थानीय तहले वन डढेलो तथा अग्नी नियन्त्रणका विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएपनि न्यूनीकरण हुन सकेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies