नवलपरासीः नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ व (बर्दघाट सुस्ता पश्चिम)का प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए । पक्राउ परेका कुर्मी हाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–९ अठलैयास्थित मामाघरमा बस्दै आएका थिए । ‘वडाबाट जन्मदर्ता सिफारिस लिई नागरिकताका लागि प्रहरी सर्जमिन मुचुल्का लिन आएका कुर्मीलाई शङ्का लागि सोधपुछ गर्दा भारतीय नागरिक भएको पुष्टि भएपछि नियन्त्रणमा लिइएको हो’, प्रहरी नायब उपरीक्षक पाण्डेले भने ।
राहुलले प्रतापपुर–६ कठहवा बस्ने गौरीशङ्कर कुर्मीलाई बुबा बनाई नागरिकता लिन लागेका थिए । ‘निज व्यक्तिले ६ नम्बर वडा कार्यालयबाट बनाएको जन्मदर्ता, नागरिकता सिफारिस तथा इलाका प्रशासन कार्यालय सेमरीबाट पठाइएको स्थलगत नागरिकता सर्जमिन मुचुल्काको पत्र नियन्त्रणमा लिएको छ’, उनले भने ।
पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी नागरिकतासम्बन्धी कसुर उद्योगमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
सिन्धुलीः सिन्धुलीमा २० केजी चाँदीसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको गोलन्जोर गाउँपालिका–५ खनियाखर्क बजारबाट उक्त चाँदीसहित २ जनालाई साेमबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका–५ बस्ने रोहित कुमार यादव र सप्तरी राजविराज नगरपालिका–८ घर भई मोरङ विराटनगर महानगरपालिका–४ बस्ने ३७ वर्षीय शेचन मानन्धर रहेका छन् ।
प्रहरी चौकी गढीबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च १०६९ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक पछाडिको सिट मुनि ४ वटा प्लाष्टिकमा लुकाई छिपाई राखेको उक्त परिमाणको चाँदी फेला पारी चालक रोहितकुमार र कारमा सवार शेचनलाई पक्राउ गरेको हो ।
उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।
भक्तपुरः भक्तपुरमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं नरेफाट बस्ने ईलामका ५२ वर्षीय सूर्य बहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भण्डारीले ती किशोरीलाई सूर्यबिनायक नगरपालिका,९ पलासेस्थित रिसोर्टमा आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
काठमाडौंः काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएकोे छ ।
नुवाकोट जिल्लाको साविक कबिलास गाबिस–७ हाल परिवर्तित पञ्चकन्या गाउँपालिका–२ स्थायी घर भई काठमाडौं तारकेश्वर नगरपालिका–१० बस्दै आएका ३८ वर्षीय सन्तोष घलेलाई पक्राउ गरिएको उक्त कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका उनलाई प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१५ छाउनीबाट पक्राउ गरी आवश्यक कारबाही तथा अनुसन्धानका महाराजगञ्जस्थित प्रहरी वृत्तमा पठाइएको उक्त कार्यालयले जनाएको छ ।
काठमाडौंः नेपाल प्रहरीले अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बाहना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौनहिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक पशुपतिकुमार रायले पीडित नाबालिकालाई फेसबुकबाट साथी बनाएर भिडियो कलमार्फत मानसिक तनाव दिने तथा अश्लील फोटोसँग पीडितको फोटो जोडेर सामाजिक सञ्जालमा प्रकाशन गर्ने गरेकाले पक्राउ गरिएको जानकारी दिए ।
उनीहरुलाई प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा हदैसम्मको कारबाहीको माग गर्दै दायर गरिएको उजुरीमा काठमाडौं जिल्ला अदालतबाट दुवै जनालाई पाँच/पाँच दिनको म्याद थप गराई अनुन्धान भइरहेको उनले बताए ।
पर्साः पर्सामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा एक जनाको ज्यान गएको हो ।
प्रहरीका अनुसार पर्सागढी नगरपालिका–४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अंसारीको मृत्यु भएको हो । उक्त कुटपिट तथा झै–झगडामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अंसारी र ४५ वर्षीय वकिल महमद अंसारीलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त विषयमा वकिल महमद अंसारी र अली महमद अंसारीबीच शनिबार राति झै–झगडा तथा कुटपिट भएको अवस्थामा अबतुल्लाह मिया अंसारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको नारायणी अस्पताल वीरगंज हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान भइरहेको छ ।
इलामः इलाममा श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ । इलामको सूर्योदय नगरपालिका– २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार गएराति करिब ५० वर्षे पूर्णबहादुरले करिब ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका अनुसार घटना अगाडि श्रीमान श्रीमतीबीच सामान्य झगडा भएको थियो । झगडापछि राति पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोको पछाडिपट्टीको भाग (घुच्चुक)मा धारिलो हतियार बामफोकको प्रयोग गरी हत्या गरेको बताइएको छ ।
राति करिब ९ बजे सो घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । पाँचथरको फिदिम नगरपालिका–४ जोरसाल घर भएका पूर्णबहादुर श्रीमतीसहित सूर्योदय नगरपालिकामा डेरा गरी बस्दै आएका थिए । घटनापछि श्रीमान फरार रहेको प्रहरीको भनाइ छ । के कसरी घटना भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
हत्या गरिएकी कान्छी श्रीमती भनिएपछि जेठी श्रीमती र अन्य परिवारको बारेमा समेत खोजतलास भइरहेको बताइएको छ । कानुनी प्रक्रियाअनुसार शव परीक्षणका लागि प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।
सल्यानः आफूलाई देउता चढेको भन्दै एक छोराले आफ्नै आमाको हत्या गरेका छन् । शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया शारदा भण्डारीको हत्या गरेका हुन् ।
नवीनले एक्कासी आफूलाई देउता चढेको भन्दै कोठामा गई पैँयाको लठ्ठीले टाउकोमा प्रहार गर्दा शारदाको घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यानीखालबाट खटिएको प्रहरीले नवीनलाई मंगलबार बिहान पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौंः चोरी मुद्दाका फरार प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् । सल्यान कुमाख गाउँपालिका–४ घर भई काठमाडौंकाे बौद्ध नयाँबस्ती बस्ने २९ वर्षीय जीवन बुढाथोकीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७३ माघ ७ गतेको फैसलाले रहजनी चोरी मुद्दामा २ महिना कैद र २ लाख १४ हजार २६ रूपैयाँ जरिवाना ठहर भएकोमा २५ दिन कैद भुक्तान गरी सकेको थियो ।
साथै जरिवाना र बाँकी कैद १ महिना ५ दिन भुक्तान गर्न बाँकी रहँदा फरार रहेका उनलाई कठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चावहिलबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौं बबरमहलमा उपस्थित गराइएको छ ।
सुदूरपश्चिमः सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत वर्ष २०७९/०८० मा एक लाख १२ हजार ६५५ सवारीसाधन कारबाहीमा परेका हुन् ।
एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा पर्दा रु छ करोड ४३ लाख, ७० हजार राजस्व सङ्कलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । सबैभन्दा बढी मोटरसाइकल ४३ हजार छ सय ४६ वटा कारबाहीमा परेका छन् । मोटरकसाइकलबाट दुई करोड ५३ लाख ३७ हजार ५०० राजस्व सङ्कलन भएको छ ।
एक वर्षको अवधिमा २६ हजार तीन सय ३७ जिप कार, १५ हजार ९५ ट्रक, १३ हजार चार सय ६१ ट्र्याक्टर, पाँच हजार तीन सय ३७ बस र आठ हजार सात सय ७९ अन्य सवारीसाधन कारबाहीमा परेका छन् ।
सवारीसाधन कारबाहीको दर हेर्दा बर्सेनि बढिरहेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा १५ हजार पाँच सय ४८ सवारीसाधन बढी कारबाहीमा परेका देखिन्छन् । यसबाट रु एक करोड, एक लाख ७६ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षमा २०७८/७९ मा ९७ हजार एक सय सात सवारीसाधन कारबाहीमा पर्दा पाँच करोड, ४१ लाख, ९४ हजार राजस्व सङ्कलन भएको थियो ।
यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउँदा एक वर्षको अवधिमा तीन हजार छ सय ४६ जनालाई कारबाही भएको छ । उक्त कारबाहीबाट रु. ३६ लाख ४७ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षमा २०७८/७९ मा एक हजार छ सय ८६ जनालाई मादक पदार्थ सेवनको कारबाही हुँदा १६ लाख, ८६ हजार राजस्व सङ्कलन भएको थियो ।
गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा दुई सय ५२ सवारी दुर्घटना भएका छन् । दुई सय ५२ सवारी दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परी एक सय ९७ जना गम्भीर घाइते भएका छन् भने दुई सय ७६ जना सामान्य घाइते भएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पाँच सय एक सवारी दुर्घटना हुँदा एक सय ९६ जनाको मृत्यु भएको थियो भने तीन सय ९५ जना गम्भीर घाइते र छ सय छ जना सामान्य घाइते भएका थिए । ट्राफिक प्रहरीको सक्रियतामा ट्राफिक नियमविपरीत हिँड्ने सवारीसाधनलाई भएको कारबाही र जनचेतनामूलक कार्यक्रमले अघिल्लो वर्षको तुलनामा पछिल्ला वर्षमा दुर्घटनामा केही कमी आएको पाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
सवारीसाधन कारबाही पर्नेक्रम बढ्दै जानुलाई नागरिकको लापरबाही बढ्दै गएको बुझिने सरोकारवाला बताउँछन् । टीकापुरकी लक्ष्मी जैसी सवारीसाधन कारबाहीमा पर्नु भनेको ट्राफिक नियम पालना गर्दैनन् भन्ने बुझाइ हो भन्छिन् । ‘प्रहरीले सचेतना अभियान चलाइरहेको छ । नागरिकले पनि सवारी चलाउने भएपछि नियम जानेको हुनुपर्छ’, उनी भन्छिन्, ‘तर हरेक वर्ष दुर्घटना बढ्दै जानु राम्रो मानिँदैन । सवारी चलाउने हरेक मानिस सर्तक हुन आवश्यक छ ।’ रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies