काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ मा भएको उपचुनावमा पार्टीले व्यहोरेको पराजयको गहन समीक्षा गर्ने बताएको छ । रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गरिने जनाएका छन् ।
महामन्त्री ढकालले इलाम–२ को मत परिणामले पार्टीका प्रयासहरूमा कमी कमजोरी रहेको इंगित गरेको उल्लेख गरेका छन् । साथै रास्वपाले आफ्नो पार्टीका उम्मेदवारलाई दिएको मतका लागि कृतज्ञता जनाएको छ । आफ्नो पक्षमा नतिजा नआए पनि लोकतान्त्रिक प्रक्रियामा जनताद्वारा व्यक्त मतको सम्मान गर्ने रास्वपाले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौं । निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन् कमीकमजोरी रहेको इंगित गरेको छ । सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ । हामीलाई दिनुभएको मतका लागि सम्पूर्ण इलाम क्षेत्र नम्बर २ का मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दछौं। नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भइ जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं ।’
इलाम–२ को उपनिर्वाचनमा नेकपा (एमाले) का सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । उनले २७ हजार ७७२ मत ल्याएर निर्वाचित भए । इलाम- २ मा रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाएको थियो । तर उपनिर्वाचनमा उनको जमानत जफत भएको छ । उनले ५ हजार ५० मत पाएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies