सल्यानः आफूलाई देउता चढेको भन्दै एक छोराले आफ्नै आमाको हत्या गरेका छन् । शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया शारदा भण्डारीको हत्या गरेका हुन् ।
नवीनले एक्कासी आफूलाई देउता चढेको भन्दै कोठामा गई पैँयाको लठ्ठीले टाउकोमा प्रहार गर्दा शारदाको घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यानीखालबाट खटिएको प्रहरीले नवीनलाई मंगलबार बिहान पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौंः चोरी मुद्दाका फरार प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् । सल्यान कुमाख गाउँपालिका–४ घर भई काठमाडौंकाे बौद्ध नयाँबस्ती बस्ने २९ वर्षीय जीवन बुढाथोकीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७३ माघ ७ गतेको फैसलाले रहजनी चोरी मुद्दामा २ महिना कैद र २ लाख १४ हजार २६ रूपैयाँ जरिवाना ठहर भएकोमा २५ दिन कैद भुक्तान गरी सकेको थियो ।
साथै जरिवाना र बाँकी कैद १ महिना ५ दिन भुक्तान गर्न बाँकी रहँदा फरार रहेका उनलाई कठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चावहिलबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौं बबरमहलमा उपस्थित गराइएको छ ।
सुदूरपश्चिमः सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत वर्ष २०७९/०८० मा एक लाख १२ हजार ६५५ सवारीसाधन कारबाहीमा परेका हुन् ।
एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा पर्दा रु छ करोड ४३ लाख, ७० हजार राजस्व सङ्कलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । सबैभन्दा बढी मोटरसाइकल ४३ हजार छ सय ४६ वटा कारबाहीमा परेका छन् । मोटरकसाइकलबाट दुई करोड ५३ लाख ३७ हजार ५०० राजस्व सङ्कलन भएको छ ।
एक वर्षको अवधिमा २६ हजार तीन सय ३७ जिप कार, १५ हजार ९५ ट्रक, १३ हजार चार सय ६१ ट्र्याक्टर, पाँच हजार तीन सय ३७ बस र आठ हजार सात सय ७९ अन्य सवारीसाधन कारबाहीमा परेका छन् ।
सवारीसाधन कारबाहीको दर हेर्दा बर्सेनि बढिरहेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा १५ हजार पाँच सय ४८ सवारीसाधन बढी कारबाहीमा परेका देखिन्छन् । यसबाट रु एक करोड, एक लाख ७६ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षमा २०७८/७९ मा ९७ हजार एक सय सात सवारीसाधन कारबाहीमा पर्दा पाँच करोड, ४१ लाख, ९४ हजार राजस्व सङ्कलन भएको थियो ।
यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउँदा एक वर्षको अवधिमा तीन हजार छ सय ४६ जनालाई कारबाही भएको छ । उक्त कारबाहीबाट रु. ३६ लाख ४७ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षमा २०७८/७९ मा एक हजार छ सय ८६ जनालाई मादक पदार्थ सेवनको कारबाही हुँदा १६ लाख, ८६ हजार राजस्व सङ्कलन भएको थियो ।
गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा दुई सय ५२ सवारी दुर्घटना भएका छन् । दुई सय ५२ सवारी दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परी एक सय ९७ जना गम्भीर घाइते भएका छन् भने दुई सय ७६ जना सामान्य घाइते भएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पाँच सय एक सवारी दुर्घटना हुँदा एक सय ९६ जनाको मृत्यु भएको थियो भने तीन सय ९५ जना गम्भीर घाइते र छ सय छ जना सामान्य घाइते भएका थिए । ट्राफिक प्रहरीको सक्रियतामा ट्राफिक नियमविपरीत हिँड्ने सवारीसाधनलाई भएको कारबाही र जनचेतनामूलक कार्यक्रमले अघिल्लो वर्षको तुलनामा पछिल्ला वर्षमा दुर्घटनामा केही कमी आएको पाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
सवारीसाधन कारबाही पर्नेक्रम बढ्दै जानुलाई नागरिकको लापरबाही बढ्दै गएको बुझिने सरोकारवाला बताउँछन् । टीकापुरकी लक्ष्मी जैसी सवारीसाधन कारबाहीमा पर्नु भनेको ट्राफिक नियम पालना गर्दैनन् भन्ने बुझाइ हो भन्छिन् । ‘प्रहरीले सचेतना अभियान चलाइरहेको छ । नागरिकले पनि सवारी चलाउने भएपछि नियम जानेको हुनुपर्छ’, उनी भन्छिन्, ‘तर हरेक वर्ष दुर्घटना बढ्दै जानु राम्रो मानिँदैन । सवारी चलाउने हरेक मानिस सर्तक हुन आवश्यक छ ।’ रासस
बागलुङः बागलुङमा लैङ्गिक हिंसाका घटनामा वृद्धि भएको छ ।
धौलागिरि अस्पतालमा रहेको अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले हिंसाका घटना बढेको जनाएको हो । बितेका पाँच वर्षमा लैङ्गिक हिंसामा घटनामा क्रमशः वृद्धि भएको केन्द्रको तथ्याङ्कले देखाएको हो ।
आर्थिक वर्ष २०७५/७६ मा एक सय ३६ जना लैङ्गिक हिंसापीडित केन्द्रको सम्पर्कमा आएका थिए । त्यसपछिका दुई वर्ष समान ८७ जना मात्रै सम्पर्कमा आएकामा आव २०७८/८९ मा त्यो सङ्ख्या वृद्धि भएर ९१ पुगेको थियो । आव २०७९/८० मा एक सय २२ जना लैगिक हिंसाबाट पीडित भएका छन् ।
केन्द्रको तथ्याङ्कअनुसार हिंसामा पर्नेमा महिलाको सङ्ख्या धेरै छ । त्योमध्ये सबैभन्दा धेरै मानसिक यातनाका घटना छन् । अघिल्लो आवमा मात्रै मानसिक यातनाका ४० घटना भएका छन् भने घरेलु हिंसाका ३२ घटना भएका छन् । जबर्जस्ती बलात्कारका २८, करणी उद्योगका १२ र शारीरिक हिंसाका १० घटनाका केन्द्रको सम्पर्कमा आएको केन्द्रकी स्रोत व्यक्ति देवी भट्टराईले बताइन् ।
प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रमअन्तर्गत धौलागिरि अस्पतालमा सञ्चालनमा रहेको कार्यक्रमले हिंसामा परेका महिला र पुरुष दुवैलाई उपचार, सहायता तथा सहयोग एवं कानुनी उपचारमा सहयोग गर्छ । हिंसाबाट पीडितका लागि स्वास्थ्योपचारदेखि न्यायिक उपचारसम्म केन्द्रले सुविधा उपलब्ध गराउने गरेको भट्टराईले जानकारी दिइन् ।
अस्पतालले केन्द्रमा आउने पीडितका लागि परामर्श, उपचार र पुनस्थापनका लागि आवश्यक संरचना विस्तार गरेको छ । यसअघि संरचना अभाव व्यहोरीरहेको केन्द्रले उपचारका लागि शय्याको व्यवस्था, परामर्शका लागि उपयुक्त स्थानको व्यवस्था र कार्यालय व्यवस्थापन गरेको हो । धौलागिरि अस्पतालले नै केन्द्रका सबै क्रियाकलाप सञ्चालनका लागि आवश्यक पूर्वाधार उपलब्ध गराएको हो ।
‘हामी सबै सेवा दिन्छौँ, मनोपरामर्श, उपचारदेखि न्यायिक उपचारसम्म तर हिंसापीडित अझै पनि लुकेर बस्नुभएको छ’, भट्टराईले भनिन्, ‘पहिलेको तुलनामा अहिले केही सङ्ख्या बढेको छ, अझै धेरै ठाउँमा पुग्न बाँकी छ, पीडित आउन बाँकी छ ।’
बागलुङमा यो सेवा शुरु भएको पहिलो वर्ष २०६८ सालमा १७ जना हिंसापीडित सङ्कट व्यवस्थापन केन्द्रमा पुगेका थिए । तीमध्ये तीन पुरुष थिए । अघिल्लो आर्थिक वर्षमा सेवा लिनेमा बागलुङ नगरपालिकाका ५३, जैमिनी नगरपालिकाका १२, गलकोट नगरपालिकाका नौ, ढोरपाटन नगरपालिकाका चार, काठेखोला गाउँपालिकाका १३, बडिगाड गाउँपालिकाका दुई, ताराखोला गाउँपालिकाका एक, निसीखोला गाउँपालिकाका चार र छिमेकी जिल्ला म्याग्दीका तीन जना, पर्वतका १४ तथा अन्य सात जना हिंसापीडित रहेको तथ्याङ्क छ । केन्द्रमा स्वास्थ्य संस्था, आमासमूह, प्रहरी, नातेदार र सिधा सम्पर्क गरेर पीडित पुग्ने गरेको केन्द्र प्रमुख भट्टराईले बताइन् ।
पाल्पाः पाल्पामा ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका–८ पाँडेखर्क बस्ने २२ वर्षीय बिशाल ठडराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनले अर्की १३ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको समेत खुल्न आएको छ । बिशालले बालिकालाई आइतबार बिहान जबरजस्ती करणी तथा सोही दिन दिउँसो जबरजस्ती करणी उद्योग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तनहुँः तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ ।
अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र रु. ३० हजार जरिवाना सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए ।
सुष्माले विसं २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित न्यू लिगलिग प्यालेस एण्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफूले समेत विष सेवन गरेको अवस्थामा होटल सञ्चालकले भेटी तत्कालै उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगेका थिए ।
उक्त घटनामा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो । सुष्माको भने उपचारपश्चात् निको भएको थियो । सो घटनामा आरोपितका पति मनोज विकले विसं २०७७ माघ २५ गते सुष्माको विरुद्ध जाहेरी दिएका थिए ।
घटना हुँदा मनोज वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका थिए । सुष्मालाई प्रहरीले विसं २०७८ साउन ३० गते पक्राउ गरेको थियो । उनी विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयले विसं २०७८ भदौ १६ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो । सुष्मा सोही भदौ १८ गतेदेखि तनहुँ जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा थिइन् ।
काठमाडौः काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सर्वसाधारण नागरिकलाई डर, धम्की दिई उत्छृङ्खल गतिविधि गरेको आरोपमा जोरपाटीबाट पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेलम्ची–६, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्यामबहादुर लामा, गोकुलगङगा–६, रामेछाप घर भई हाल काठमाडौं जोरपाटी बस्ने २८ वर्षीय विक्की लामा (बाफ्ले), मेलम्ची–१०, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं, कागेश्वरी मनहरा, डाँछी बस्ने ३६ वर्षीय भीमबहादुर बस्नेत, मेलम्ची–१०, सिन्धुपाल्चोक घर भई काठमाडौं, कागेश्वरी मनहरा, मूलपानी बस्ने ३५ वर्षीय गोविन्द गजमेर तथा चौतारा साँघा चोकगढी–१, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ३५ वर्षीय प्रवीण तामाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाले काठमाडौं उपत्यकाको बौद्ध, जोरपाटीलगायतका स्थानमा सर्वसाधारण व्यक्तिसँग अनावश्यक विवाद गरी डरत्रास, भय सिर्जना गर्नुका साथै निजहरुले समूहमा गई सर्वसाधारणलाई कुटपिट, गैरकानुनी रुपमा रकम माग गर्ने लगायतका अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ परेकामाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानको लागि आज प्रहरी वृत्त बौद्ध, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
काठमाडौंः इन्टरपोलबाट ‘रेड नोटिस जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइएको छ । म्याग्दी साविक अर्मन गाविस–२ ठेगाना भएका २७ वर्षीय प्रकाश बिकलाई मलेशियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको हो ।
उनले पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो, फोटोहरु सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने, पीडितको आफन्तलाई पठाइदिने तथा पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि निजको नाममा फेक एकाउन्ट बनाउने गरेका थिए ।
साथै ती सामग्री पोर्न साइटमा समेत अपलोड गरी चरित्र हत्या गरेको सम्बन्धि साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएका बिकलाई नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल मलेशियासँगको समन्वयमा नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
बिक वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको साइबर ब्यूरो भोटाहिटीबाट अनुरोध प्राप्त भएबमोजिम उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २०७८ माघ २४ गते ईन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएको थियो ।
बिकलाई आवश्यक कानुनी कारबाहीका लागि साइबर व्यूरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।
वीरगन्जः गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले गत आर्थिक वर्ष २०७९/८० मा पर्सा, रौतहट र चितवनका १९ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
कार्यालयले कम नापतौलमा सामान बिक्री गरेर उपभोक्तालाई ठगी गर्ने तथा इजाजत नलिई कारोबार गर्ने रौतहटका १३, चितवनका पाँच र पर्साका एक व्यापारीमाथि सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरिएको गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका सूचना अधिकारी सञ्जीवकुमार ठाकुरले जानकारी दिए ।
उनले इजाजत नलिई नापतौल गर्ने यन्त्रको प्रयोग गर्ने रौतहटको पशुपति फेन्सी, माँ लक्ष्मी सुनचाँदी ज्वेलर्स, न्यू प्रिया ज्वेलर्स, रामबलराम ट्रेडर्स, रिसब ट्रेडर्स, बैजु किराना एन्ड जेनरल सटार्स, सरोज बिज भण्डार, कृष्णा राइस मिल, बाबा विश्वकर्मा राइस मिल, पप्पु हार्डवेयर एन्ड मेसिनरी, लक्ष्मी हार्डवेयर, रोशन हार्डवेयर स्टोर्स र जय बजरङ्गवली ट्रेडर्सविरुद्ध अदालतमा मुद्दा दायर गरिएको बताए ।
चितवनको खजुरीको नेपाल प्रालि, खुन्हा एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालि, प्यासिफिक एक्जिम नेपाल प्रालि, याक ब्रिबिङ्ग कम्पनी प्रालि र याक डिब्टिलरी प्रालिमाथि पनि जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको सूचना अधिकारी ठाकुरको भनाइ छ । यस्तै पर्साको जय वनहरबाबा कृषि सहकारी संस्थाविरुद्ध पनि मुद्दा दर्ता गरिएको जनाएको छ ।
अनुगमनका क्रममा जाँच गर्दा इजाजत नलिई कारोबार गर्ने गरेको तथा कम तौलमा सामान बिक्री गर्ने गरेको पाइएपछि ती १९ व्यापारीविरुद्ध एक वर्षसम्म कैद तथा रु. १० हजारसम्म जरिवानाको मागदाबीसहित अदालतमा मुद्दा दायर गरिएको उनको कथन छ ।
यस्तै गतआव मा एक हजार चार सय ३६ व्यापारीमाथि कारबाही गरी जरिवाना तिराएको सो कार्यालयले जनाएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सो आवमा एक हजार तीन सय २४ व्यापारीले नियमित जाँच/नवीकरण र एक हजार एक सय ६१ व्यापारीले जरिवाना तिरी नवीकरण तथा पाँच सय ६५ व्यापारीलाई अनुमति/इजाजतपत्र दिइएको छ ।
ती सबै शीर्षकबाट गत आव मा एक करोड ४० लाख २३ हजार दुई सय ६९ राजस्व सङ्कलन भएको सूचना अधिकारी ठाकुरले जानकारी दिए । सो कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने मधेस प्रदेशको रौतहट, बारा, पर्सा र बागमती प्रदेशको मकवानपुर र चितवन जिल्लामा व्यापारीले गैरकानुनीरुपमा प्रयोग गर्ने ढक, तराजुलाई निरुत्साहित गर्न डोर (अनुगमन) गर्दै आएको छ । कुनै पनि नापतौल गर्ने यन्त्र प्रयोग गर्नुपूर्व खरिद गरेको ३५ दिनभित्र नजिकको गुणस्तर नापतौल कार्यालयबाट अनुमति लिइसक्नुपर्ने कानुनी व्यवस्था छ ।
काठमाडौंः काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर र ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–३ दुवाकोट बस्ने २५ वर्षीय दिनेश सापकोटा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार बैंकिङ कसुर र ठगीसम्बन्धी कसूर मुद्दामा भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भएका उनलाई दुवाकोटबाट पक्राउ गरिएको हो । पक्राउ परेका सापकोटालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies