सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : चैते दशैंको द्वादशीको दिन भूमिकास्थान नगरपालिका वडा नम्बर १०, धनचौरको पर्यटकीय स्थल सेङलेङमा भव्य सराय नाच तथ दशैं मेला सम्पन्न भएको छ । असत्यमाथि सत्य र विजयको खुसीयाली स्वरुप हर्षोल्लासका साथ नाचिने सराय नाचले चतैदशैंको महत्वलाई थप बलियो बनाएको सेङलेङमा अवस्थित सत्यदेवी-बराह मन्दिरका पुजारी खुविराम खनालको भनाइ छ ।
यस वर्षको सरांय नाच तथा चैतेदशैंको मेला अवलोकन गर्न शितगंगाको जुकेना, ठाडा, भूमिकास्थानका सबै वडा र सन्धिखर्कसहित अर्घाखाँचीका विभिन्न क्षेत्रबाट दर्शक एवम् भक्तजनहरु सेङलेङमा पुगेको स्थानीय सत्यदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद बन्जाडेले जानकारी दिए । विगतका वर्षमा भन्दा यस वर्ष दर्शनार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको प्रधानाध्यापक बन्जाडेले बताए ।
चिसो मौसममा जुलेपी, मोःमो, चाउमिनसहित विभिन्न खानाका परिकार बनाएर बेच्न बसेकाहरुको ब्यापार पनि राम्रो भएको मन्दिर सञ्चालक समितिका सदस्य हिमनाथ खनालले बताए । खानाका साथै खोरखोरे, गिलासफोरजस्ता खेलका स्टलहरुले समेत मेलाको आकर्षण बढाएको उनले बताए ।
मेला हेर्न मात्रै नभएर गर्मी छल्न र सेङलेङको चिसो एवम् स्वच्छ र रमणीय बातावरणमा रमाउन पनि नागरिकहरु त्यहाँ पुग्ने गरेको स्थानीय शुभ समालले बताए । अर्घाखाँचीमा पर्यटकीय सम्भावना भएका धेरै क्षेत्र भएर पनि ओझेलमा परेको, तर अहिले जिल्लामा पत्रकार महासंघ अर्घाखाँचीले पर्यटन विकासको
उद्देश्य राखेर सञ्चालन गरेको पर्यटन प्रवर्द्धन अभियानपश्चात सेङलेङ मेला अवलोकन गर्नेको संख्यामा वृद्धि भएको समालको भनाइ छ ।
भूमिकास्थान नगरपालिकाले पर्यटकीय हबको रुपमा चित्रित गरेको सेङलेङमा सत्यदेवी र बराह मन्दिरका साथसाथै माता पाथिभराको मन्दिरसमेत स्थापना
गरी नियमित पूजाआजा गर्न थालिएको छ । होमस्टेमा बास बसेर अर्गानिक खाना खान पाइने, पाथिभरा माता र सत्यदेवीको दर्शन गरि सेङलेङ दह, मसिनाको लेक र आसपासका क्षेत्रबाट सुन्दर हिम श्रृंखला अवलोकन गर्न सकिने भएपछि अहिले सेङलेङमा आन्तरिक मात्र नभएर बाह्य पर्यटकहरु समेत बढ्न थालेका छन् ।
चैतेदशैं पर्वसँग जोडिएको सराय नाचको आफ्नै मौलिकता र धार्मिक एवम् सांस्कृतिक महत्व पनि रहेको सत्यदेवी-बराह मन्दिर सञ्चालक समिति सदस्य खनालले बताए । सराय नाच इतिहास भएको हुँदा यसको संरक्षण र प्रवर्द्धनमा युवापुस्ताले चासो दिनुपर्ने भूमिकास्थान–१० का अगुवाहरुको जोड छ ।
पुजारी खुविरामका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्रमात्र छन् । आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्त प्रायः छन् । तर यी सबै दशैंहरूको आ–आफ्नै विशेषताहरू रहेको किंवदन्ती रहँदै आएको छ ।
मनाङ : हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औं स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ । विसं २०८० मा २१ हजार चार सय ९५ पर्यटक भित्रिएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले जनाएको छ ।
वैशाखदेखि चैत मसान्तसम्ममा सो संख्यामा विदेशी पर्यटक भित्रिएका हुन् । तीमध्ये फ्रान्सका नागरिक बढी आगमन भएको तथ्यांकमा उल्लेख छ । मनाङ फ्रान्सका नागरिकको रोजाइमा पर्ने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार फ्रान्सका एक वर्षमा दुई हजार चार सय ८२ मनाङ भ्रमणमा आएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै इजरायलका एक हजार आठ सय २१ र जर्मनीका एक हजार सात सय ५४ नागरिक मनाङ भ्रमणमा आएको तथ्यांक रहेको उनले बताए । विदेशीको रोजाइमा मनाङ प्रमुख रहने गरेको पाइएको प्रमुख भुजेलले बताए ।
उनले भने, “अन्य देशबाट पर्यटक आउने भए पनि यी देशका नागरिक बढी आउने गरेका छन्, संख्याको आधारमा यी धेरै हुन्, अमेरिका, चाइना, रसिया, भारतका पर्यटक पनि आउने क्रम बढ्दै गएको तथ्यांक हामीमा दर्ता भएका छन् ।” मनाङ प्राकृतिक सम्पदाले भरिपूर्ण भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको उनको भनाइ छ ।
नयाँ वर्ष २०८१ को पहिलो दिनमा मात्रै एक सय १५ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले जानकारी दिए । उनका अनुसार नयाँ वर्षका दिनमा आन्तरिक पर्यटकको समेत उल्लेख्य आगमन भएको थियो । सडक सञ्जालले मनाङ आउने आन्तरिक पर्यटकलाई समेत सहज भएको उनको भनाइ छ ।
आन्तरिक पर्यटक पनि बिदाको समयमा भ्रमणमा आउने क्रम बढ्दो रहेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाका प्रकृति पर्यटनविद् भुपेन्द्र गुरुङले जानकारी दिए । उनले भने, “तीन/चार दिनको बिदा लगातार परेको अवस्थामा मनाङमा आन्तरिक पर्यटकले भरिभराउ हुन्छ, भ्रमणमा निस्कने प्रविधि नेपालीमा पनि बढ्दै गएको छ ।” आन्तरिक पर्यटकको भने अभिलेख राखिदैन तर, पर्यटकको आगमन भने उल्लेख्य हुने गरेका उनको भनाइ छ ।
यहाँ भित्रिने पर्यटक अधिकांश थोराङ्ला भञ्ज्याङ हुँदै मुस्ताङ निस्कन्छन् भने केही पर्यटक लार्के भञ्ज्याङ हुँदै मनास्लुतर्फ लाग्ने गर्दछन् । आन्तरिक पर्यटकको रोजाइमा तिलिचो ताल पर्ने गरेको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले बताए । केही दिन बिदा भएको बेलामा आन्तरिक पर्यटक तिलिचो ताललाई मुख्य गन्तव्य बनाएर आउने गरेका उनले बताए ।
दुई समयमा मनाङका पदमार्गमा यात्रा गर्न सकिन्छ । कोभिडको संक्रमण र विसं २०७८ को बाढी पहिरोपछि यहाँ पर्यटक आवागमनमा वृद्धि हुँदै गएको छ । पर्यटक हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । साथै अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको शुरुवात हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन् । काठमाडौंदेखि बेँसीसहरसम्म सवारी साधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक सहज भएपछि सवारी साधनमा नै चामे, खाङ्सारसम्म सवारी साधनमा नै पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेको भेटिन्छ ।
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले रैथाने ज्ञान उत्सव शृंखला शुरु गरेको छ । प्रतिष्ठानको संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास विभागको आयोजनामा शुक्रबार र शनिबार चितवनको भरतपुरमा विभिन्न दुई कार्यक्रम सम्पन्न भएका छन् ।
कुमाल सेवा समाज चितवनको स्थानीय संयोजनमा आयोजित ‘कुमाल जातिको सांस्कृतिक सम्वाद्’ तथा थारू कल्याणकारिणीसभा जिल्ला कार्यसमिति चितवनको स्थानीय संयोजनमा आयोजित ‘थारू जातिको सांस्कृतिक संवाद’को उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति भूपाल राईले शृंखलाको शुभारम्भ गरेका हुन् । विभिन्न जाति र परम्परामा भएको रैथाने ज्ञानलाई प्रवृद्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम शुरु गरिएको उनले बताए ।
लिखित इतिहास नभएका सीमान्तकृत जातिभित्रको ज्ञानलाई मौखिक माध्यमबाट अभिव्यक्त हुने गरी प्रज्ञा प्रतिष्ठानले सहजीकरण गर्ने उनको भनाइ थियो । प्रज्ञा प्रतिष्ठानका गतिविधिलाई विभिन्न भाषाभाषी, जाति र संस्कृतिसम्म पुर्याउने योजनाअन्तर्गत चितवनबाट कार्यक्रम शुरु गरिएको र आगामी दिनमा पनि निरन्तरता दिँदै जाने प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले बताए ।
कुमाल सेवा समाजका केन्द्रीय अध्यक्ष विशाल कुमालको अध्यक्षतामा भएको कार्यक्रममा तिलकबहादुर कुमालले उक्त जातिको भाषा तथा संस्कृतिका विषयमा प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल गरिएको थियो । साथै सो अवसरमा कुमाल जातिको भाषा र संस्कृतिको सम्वर्द्धनका लागि आगामी दिनमा गर्न सकिने विषयमा समूह छलफलसमेत गरिएको थियो ।
प्राज्ञ सभा सदस्य डा बालाकृष्ण अधिकारीले सहजीकरण गरेको उक्त समूह छलफलमा बहस गर्दै कुमाल सेवा समाजका केन्द्रीय अध्यक्ष विशाल लामा, भरतपुर महानगरपालिका–२८ का वडा सदस्य शेरबहादुर कुमाल तथा साहित्यकार भूपिन खड्काले जनप्रतिनिधि, जातीय समुदायका अगुवा र बौद्धिक वर्गले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरे ।
त्यस्तै थारू कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवनका अध्यक्ष ललितकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अनुसन्धाता डी आर पोखरेलले प्रस्तुत गरेको ‘चितवनका थारू जातिको सांस्कृतिक सम्पदा : संरक्षण र परिष्कारको आवश्यकता’ विषयक कार्यपत्रमाथि छलफल गरिएको थियो ।
आयोजित समूह छलफलमा राजनीतिशास्त्री डा सञ्जय चौधरी, अनुसन्धाता सत्यनारायण चौधरी, अधिवक्ता सञ्जय चौधरी र कवि तथा समालोचक रमेश प्रभातले बहस गरेका थिए ।
उक्त कार्यक्रमको सहजीकरण पत्रकार शान्तकुमार चौधरीले गरेका थिए । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य रामहरि श्रेष्ठ, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीलगायत थारू समुदायका अगुवा र स्रष्टाहरूले पनि मन्तव्य व्यक्त गरेका थिए ।
शिव विक/मध्यान्ह
काठमाडौं : टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोग लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदको दुरुपयोग गरी श्रोत नखुलेको २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको अभियोग लगाएको छ । अख्तियारले पौडेलविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको होे । अख्तियारले २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।
अख्तियारले पौडेलविरुद्ध २०६१ जेठ २० देखि ०७९ फागुन ३० सम्मको सम्पत्ति छानविन गरेको थियो । त्यसमध्ये २०६२ देखि ०६५ सम्मको अवधिमा उनी सार्वजनिक पदमा थिएनन् । बाँकी अवधिमा उनी विभिन्न मितिमा सार्वजनिक पदमा बहाल थिए । दूरसञ्चार र प्रविधिजन्य उपकरण खरिद तथा त्यससँग जोडिएको आर्थिक खटनपटनमा अनियमितता गरेर गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको अभियोग छ ।
पौडेलविरुद्ध २०८० असोज १५ गते पेमेण्ट गेट–वे प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएकोमा त्यसको किनारा लगाउँदै विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।
पेमेण्ट गेट–वे सम्बन्धी उपकरण खरिद प्रकरणमा गत शुक्रबार मात्रै विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पौडेलविरुद्ध आइतबार अख्तियारले पुनः अर्को मुद्दा दायर गरेको हो ।
गत माघ १० गते सुनिल पौडेल र अर्का भ्रष्टाचार आरोपित विकल पौडेललाई अख्तियारले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरेको थियो । पक्राउ परेको तीन महिना पछाडि अख्तियारले सुनिल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा लगेको हो ।
तर, सुनिलसँगै पक्राउ परेका विकल पौडेलमाथि झुटा विवरण पेस गरी सरकारी नियुक्ति लिएर भ्रष्टाचार गरेको आरोपमा छुट्टै मुद्दा दर्ता गरेको छ । दुवैमाथि भ्रष्टाचारको आरोपमा पेस भएको यो दोस्रो मुद्दा हो ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : आगलागी, जल उत्पन्न प्रकोप तथा बाढी डुबानको समयमा जनधनको क्षति हुनबाट जोगाउने उद्देश्यका साथ गौरको बरहवा तालमा विपद कृत्रिम घटना अभ्यास गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटद्वारा आइतबार गौर नगरपालिका वडा नम्बर ५ स्थित बरहवा तालमा आयोजित उक्त कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नेपाली सेनासँगको सहकार्यमा विपद कृत्रिम घटना अभ्याससम्बन्धी कार्यक्रम आयोजना गरिएको हो ।
उक्त डेमो अभ्यास कार्यक्रममा आगलागी, जल उत्पन्न प्रकोप तथा बाढी डुवान जस्ता अकस्मात आइपर्ने सम्बन्धी घटनाहरुमा परिचालन हुनको निमित्त पूर्वतयारी, जोखिमलाई प्रभावकारी ढंगले कार्य संम्पादन तथा न्यूनीकरण गर्ने उद्देश्यबाट संयुक्त विपद कृत्रिम घटना अभ्यास कार्यक्रमको आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटरले जनाएको छ ।
जिल्ला समन्वय समितिका सभापति राम अयोध्या राय यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गौर नगरपालिकाको नगरप्रमुख शम्भु साह, राजदेवी नगरपालिकाको नगरप्रमुख भिखारी राय यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक दिलिप घिमिरे, सशस्त्र प्रहरीका स.प्र.उ. विक्रम हुमागाईँ, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभिनय कुमार सिंह, नेपाली सेनाका सेनानी, नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका अध्यक्ष, प्रादेशिक अस्पताल गौर मेडिकल सुप्रिटेण्डेन्ट, स्थानीय जनप्रतिनिधिहरु, सरकारी, गैह्र सरकारी कार्यालय तथा संघसंस्थाका प्रमुख, सञ्चारकर्मी लगायत स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।
राजकुमार भुजेल/मध्यान्ह
दोलखा : दोलखा सदरमुकाम चरिकोटमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई चकलेट दिएर विदाइ गर्ने गरिएको छ । जिल्ला ट्राफिक कार्यालय चरिकोट, दोलखाले आइतबार दिउँसोदेखि ट्राफिक नियम पालना नगर्ने साना तथा ठूला सवारी चालकलाई ट्राफिक नियम सिकाउँदै र ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै चकलेट दिन थालिएको हो ।
जिल्ला ट्राफिक कार्यालय दोलखाका इन्चार्ज ठाकुर प्रसाद भट्टराईले चालकहरुलाई सम्मानपूर्वक ट्राफिक नियमको पालना गर्न उनीहरुलाई आग्रह गरिएको बताए । सो अवसरमा दोलखामा ट्राफिक नियमको उल्लंघन गर्ने संख्या बढ्न नदिन सडक पेटी तथा छेउछाउमा ट्राफिक नियमका पालना अपनाउने बोर्डहरु राखेको उनले बताए ।
त्यस्तै अबको केही दिनमा सदरमुकाम चरिकोटमा सर्वसाधरणलाई दुर्घटनाबाट बच्न जेब्रा क्रसिङको समेत व्यवस्था गर्ने उनले जानकारी दिए । आइतबार मात्र दर्जनौं बढी साना तथा ठूला सवारीसाधनले उल्लंघन गरेको भेटिएको छ ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको सिमिकोट गाउँपालिकासहित ६ वटा स्थानीय तहमा नेवि संघले ज्ञापनपत्र बुझाएको छ । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार ५५ औं स्थापना दिवसको अवसरमा संघले ज्ञापनपत्र बुझाएको हो ।
संघको ज्ञापनपत्रमा शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा ल्याउनुपर्ने, गाउँदेखि सहरसम्म शिक्षा बराबर हुनुपर्ने लगायत १७ बुँदे माग राखिएको छ ।
जिल्लाको सिमकोट गाउँपालिकामा शुक्रबार गाउँपालिका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष सुशिला रोकाय, प्रमुख प्रशासकीय अधिकृत सुवास आलेलाई नेवि संघका केन्द्रीय प्रतिनिधि अंगबहादुर सिंहको नेतृत्वमा ज्ञापनपत्र दिएको हो ।
शुक्रबार एकै समयमा ६ स्थानीय तहमा प्रतिनिधि गएर गाउँपालिकामा ज्ञापनपत्र दिएको केन्द्रीय प्रतिनिधि सिंहले बताए । उनका अनुसार १७ बुँदा भएको ज्ञापनपत्रमा नेपालको शिक्षा हेर्दा सोचे जस्तो नभएको, फरक हुँदै गएको हुँदा त्यसलाई मध्यनजर गर्दै हुम्लाका स्थानीय तहमा पनि ज्ञापनपत्र दिएको बताए । जिल्लाका स्थानीय तहले ज्ञापनपत्र अनुसार शिक्षामा हरेक कुरा परिवर्तन गर्ने विश्वास लिएको नेवि संघका जिल्ला सचिव बिनोद लामाले बताए ।
सिमकोटलाई मात्र लक्षित नगरेर सात वटै स्थानीय तहमा गुणस्तरीय शिक्षाको लागि गाउँपालिका लाग्नुपर्ने मानसरोवर बहुमुखी क्याम्पस स्ववियु सभापति नरेन्द्र भण्डारीले बताए । ज्ञापनपत्र अनुसार नभएपनि केही बुँदा लागू गर्नेतिर स्थानीय तह लाग्नुपर्ने ६ वटै स्थानीय तहले जोड दिएका छन् ।
५५ औं स्थापना दिवसको अवसरमा नाम्खा गाउँपालिकामा लामु लामा, खार्पुनाथमा सागर शाही, चंखेलीमा कर्ण प्रसाद जैसी, अदानचुलीमा हिम्मत सिंह, ताजाकोटमा लंक थापाले ज्ञापनपत्र बुझाएका छन् ।
त्यस्तै जिल्लाको सर्केगाड गाउँपालिकामा भने नेविसंघ केन्द्रीय सदस्य यन्जिर कार्कीले जिम्मेवार लिएको भएपनि ज्ञापनपत्र दिएका छैनन् ।
प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ दारकाट्यामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा ७० वर्षीया बुदि कामीको मृत्यु भएको प्रहरीको भनाइ छ ।
बाँफिकोट ३ का वडा अध्यक्ष तिलबीर केसीका अनुसार घरमा आगो सल्किपछि घरभित्र रहेका गहना निकाल्न भन्दै घरभित्र छिरेकी कामीको जलेर मृत्यु भएको हो । वन क्षेत्रबाट गाउँतर्फ फैलिएको आगोले तीन वटा घर जलेर नष्ट भएका छन् ।
आगो नियन्त्रण हुन नसकेको वडा अध्यक्ष केसीले बताए । स्थानीयवासी र इलाका प्रहरी कार्यालय बाँफिकोटबाट गएको प्रहरी टोलीले आगलागी नियन्त्रणको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिकामा प्रारिम्भक बालविकास केन्द्रका शिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ ।
प्रारम्भिक बालविकास केन्द्रका बालबालिकाको विकास तथा सिकाइमा प्रयोग योग्य विविध शैक्षणिक सामग्री निर्माण गर्ने तत्परता तथा सीप अभिवृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको राधाकृष्ण थारु जनसेवा केन्द्रकी परियोजना अधिकृत सीमा वलीले बताइन् ।
उनले भनिन्,‘तालिममा प्रारम्भिक बालविकास पाठ्यक्रमले निर्धारण गरेका विषयवस्तुलाई समावेश गर्दै बालबालिकाका ज्ञान, सीप र व्यवहारलाई बालबालिकाहरूको विकासात्मक अवस्था, क्षमता र अभिरुचि अनुसार प्रभावकारी शिक्षणका लागि विषयवस्तुगत ज्ञान तथा शिक्षण सीप विकासमा जोड दिइनेछ ।’
बालबालिकाको विकास तथा सिकाइ उपलब्धी मूल्यांकन, प्रगति, विश्लेषण तथा उपचारात्मक शिक्षण सञ्चालनका बहुआयामिक तौरतरिकाको सहभागीहरुबीच छलफल गराइने परियोजना अधिकृत वलीले बताइन् ।
बालबालिकाको विकास तथा सिकाइका लागि बालमैत्री वातावरणको व्यवस्थापन गर्नका लागि बालविकास केन्द्रमा आएका बालबालिकाको विविधता व्यवस्थापन गर्ने र अपाङ्गता पहिचान गरी सिकाइ सहजीकरणको सीप विकास गर्ने र आपतकालिन अवस्थाको व्यवस्थापन सम्बन्धी बुझाइ प्रष्ट पार्न सक्ने गरी प्रशिक्षित गर्ने कार्यक्रम समेत रहेको वलीले बताइन् ।
प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत बारबर्दिया नगरपालिका वडा नम्बर ७ मा रहेको रम्मापुर सामुदायिक होमस्टेमा सञ्चालित तालिम १० दिनसम्म सञ्चालन हुनेछ ।
तालिममा बर्दिया जिल्लाका बारबर्दिया, ठाकुरबाबा, राजापुर नगरपालिका र गेरुवा गाउँपालिका गरी ४ वटा पालिकाका २० जना बाल विकास शिक्षकहरु सहभागी छन् ।
काठमाडौं : विश्व पृथ्वी दिवस सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । ‘प्लानेट भर्सेज प्लाष्टिक’ अर्थात् पृथ्वी र प्लाष्टिक भन्ने नाराका साथ यो दिवस मनाइन लागिएको हो । हरेक वर्ष अप्रिल २२ मा यो दिवस मनाइने गरिन्छ ।
मानव र ग्रहको स्वास्थ्यको लागि प्लास्टिक प्रदूषणको हानि बारे सचेतना जगाउने उद्देश्य राखेको यस वर्षको नाराले जलवायु परिवर्तन र स्वच्छ ऊर्जादेखि प्रजातिहरूको संरक्षण र रूख रोप्नेसम्मका विभिन्न वातावरणीय मुद्दाहरूलाई समेटिएको छ । पछिल्ला वर्षमा बढिरहेको ट्रेकिङ ट्रेलहरूबाट उत्पन्न हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने अभियान चलाइएको छ ।
विश्वस्तरमा उच्च रुपमा बढिरहेको जलवायु परिवर्तनलाई मध्यनजर गर्दै इन्ट्रेपिड ट्राभल नेपालले आफ्नो यात्राका क्रममा ट्रेकिङ लिडरहरूमार्फत आफूले गरेको फोहोर सफाइ गर्ने अभियान चलाएको छ । ‘यस अग्रगामी पहलले लिटर र यात्रु दुबैलाई आफ्नो पदयात्राको एक दिन फोहोर जम्मा गरेर पुरानो पदयात्रा मार्गहरूको पुनर्स्थापना गर्न सक्रिय रूपमा सहभागी हुन प्रोत्साहित गर्दछ’ ट्राभलका महाप्रबन्धक आशिष वर्माले भने ।
वर्माका अनुसार यो सरसफाइ अभियान यसअकिा परम्परागत सरफाइभन्दा फरक छ । यो अभियानमा सगरमाथा नेक्स्टसँगको रणनीतिक साझेदारी गरी यात्रुहरूले स्वच्छाले पूर्व–प्याकेज गरिएको फोहोरले भरिएको ‘केरी मी ब्याग’ नाम्चेदेखि सगरमाथा क्षेत्रको लुक्लासम्म स्वच्छाले पुर्याउने छन् । १६ किलोमिटरभन्दा बढीको पदयात्रा गर्ने यात्रीहरूले त्यस्ता झोलाहरूको उचित व्यवस्थापन गर्नेछन् । पर्यटन क्षेत्रमा भएको यो काम जिम्मेवार पर्यटन र वातावरणीय व्यवस्थापनको प्रतिक भएको वर्माको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies