ओबराज शाही/मध्यान्ह
हुम्ला : हिमाली जिल्ला हुम्लामा तुवाँलोले हवाइ सेवा प्रभावित भएको छ । शनिबार बिहानैदेखि बाक्लो तुवाँलो लागेको कारण घाम नलाग्दा हवाइ सेवा प्रभावित भएको हो ।
सिमकोट विमानस्थल क्षेत्र र मुख्य हवाइ सेवा अवतरण गर्ने मुख्य प्रवेशद्वार क्षेत्रमा बिहानैबाट बाक्लो तुवाँलो लागेको कारण हवाई सेवा अवरुद्ध हुँदै आएको छ । शनिबार हुम्लाका लागि कुनै पनि हवाइ सेवा तुवाँलोका कारण उडान गर्न सकेन ।
बाक्लो तुवाँलोको कारण भिजिविलिटी एकदमै कम भएपछि उडान हुन नसकेको सिमकोट विमानस्थल स्रोतले जनाएको छ ।
हुम्लामा आगलागी नभएपनि देशका विभिन्न जंगल र वस्तीमा आगलागीको कारण त्यसको प्रभाव हिमाली जिल्लाहरुमा पनि परेको देखिन्छ । अरु मौसम ठिकै भएपनि बिहानैबाट बाक्लो तुवाँलो लागेको कारण सिमकोट आसपासको क्षेत्रमा दुई सय मिटर दुरी पनि नदेखिने अवस्था रहेको छ ।
एकातिर जहाज काठमाडौं फर्किएको कारण कम उडान भइरहेको अवस्था छ । त्यसैमा तुवाँलोका कारण उडानै रद्द हुँदै जाने अवस्था रहेको देखिन्छ । दैनिक एक दुई उडान हुने भएपनि त्यो समेत प्रभावित भएको छ । तुवाँलोका कारण हवाइ जहाजले उडान पनि नभरेको देखिन्छ । उडान नभएको कारण यात्रुहरु मर्कामा परेका छन् ।
राहुल गुप्ता/मध्यान्ह
बारा : शनिबार दिउँसोको १२ बज्दै थियो । एक्कासी गणपति उद्योगमा ‘आगो लाग्यो!! आगो लाग्यो!!’ भन्दै केही मानिसहरु चिच्याइरहेका थिए । उद्योगकै एक मजदुर सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टिमलाई फोन गरेर घटनाबारे जानकारी गराउँदै थिए ।
तुरुन्त उद्धार टोली घटनास्थलमा आयो । त्यसपछि उनीहरु आगलागीमा परेर कसैको हात भाँचिएको, कोही बेहोस भएका, कोही सामान्य चोटपटक लागेकालाई उद्धार गरी प्राथमिक उपचार गरिरहेका थिए । प्राथमिक उपचारपछि घाइतेको पूर्ण उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल लगियो । आगो नियन्त्रणका लागि विपद् व्यवस्थापन टिमले ग्यास, चिसो बोरा, बालुवा, हरियो स्याउला, पानीलगायतका सामग्री प्रयोग गरिरहेको थियो ।
यो थियो सशस्त्र प्रहरी बल नेपाल ४० नं गण र जितपुर सिमरा नगर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको औद्योगिक बहु प्रकोपीय जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्यसम्बन्धी अभिमुखीकरण कार्यक्रमको प्रयोगात्मक नमुना प्रदर्शनी ।
बारा पर्सा औद्योगिक कोरिडोरका उद्योगहरूमा आगलागीको जोखिम बढ्दै गएकाले नगर उद्योग वाणिज्य संघ र सशस्त्र प्रहरी बल नेपाल नं ४० रिजर्भ गण पिलुवा बाराले आगलागीका कारण वर्षेनी करौडौंको क्षति हुने गरेकाले २ दिने औद्योगिक सुरक्षासम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं ४० रिजर्भ गण पिलुवा बाराका प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले औद्योगिक क्षेत्रमा आउने विपद्हरुका बारेमा जानकारी गराइ विपद् व्यवस्थापन र न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताए ।
उद्योगहरूमा हुनसक्ने विपद्सम्बन्धी जोखिमहरूको पहिचान गरी त्यसलाई न्यूनीकरण गर्नका लागि गरिएको पूर्वतयारीसम्बन्धी कार्यक्रममा औद्योगिक करिडोरका ५० वटा उद्योगका व्यवस्थापक तथा अधिकृत तहका कर्मचारी र कामदारहरूको सहभागिता रहेको जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिए ।
पवन जायसवाल/मध्यान्ह
नेपालगञ्ज : सन्त निरंकारी मण्डल नेपाल, नेपालगञ्ज शाखा बाँकेको आयोजनामा शनिवार आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ५४ जनाले रक्तदान गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि प्रशान्त बिष्टले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए ।
“रगत नालीमा होइन, नाडीमा बगाऔं” भन्ने मूल नाराका साथ मानव एकता दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रम सन्त निरंकारी मण्डल नेपाल, नेपालगञ्ज शाखाका प्रमुख (मुखी) शिव प्रसाद गोडियाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख बिष्टले सन्त निरंकारी मण्डल नेपाल, नेपालगञ्ज शाखालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल रेडक्रस सोसाइटी पुरैनी उप शाखाका सभापति शिवकुमार वर्माद्वारा सञ्चालित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सहायक महामन्त्री ऋषिराज देवकोटा, बासका खेम बिष्टलगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष समीर प्रताप सिंह, अतिथिहरुमा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक होमराज गिरी, सामाजिक अभियन्ता सुदिप भट्टलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सन्त निरंकारी मण्डल नेपाल, नेपालगञ्ज शाखाका प्रमुख (मुखी) गोडिया, हिमाल खड्का, आयुष थापामगर, ध्रुव बराल, माया बराल, सागर सुनार, राजेश कश्यप, गोबिन्द निषाद, राज चक्रवती, मीना राना, प्रमोद गोडिया, विश्वास भण्डारीलगायत ५४ जनाले रक्तदान गरेका थिए । सो अवसरमा रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक सोम प्रकाश सापकोटा, सुनिता कुमाई, होमराज गिरी, महेश दहित, सत्तजय बढही, बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए । सन्त निरंकारी मण्डल नेपाल, नेपालगञ्ज शाखा बाँकेका लंगर इन्चार्ज रामखेलावन गोडियाले कार्यक्रममा भोजनको जिम्मेवारी लिएका थिए ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : प्रकृतिक विपत्तिमा परेर पछिल्लो दश वर्षमा २३ हजार नागरिकको मृत्यु भएको पाइएको छ । गृह मन्त्रालयका अनुसार २०८० सालमा भएका प्राकृतिक विपद् र क्षतिको यकिन विवरण संकलनको कार्य चलिरहेको छ ।
गृह मन्त्रालयका अनुसार २०८० सालमा झण्डै एक सयले प्राकृतिक विपत्तिमा ज्यान गुमाएका छन् । विगत ९ वर्षमा भने २२ हजार ८२२ जनाको मृत्यु भएको औपचारिक तथ्याङ्क छ । आगलागी, डढेलो, भूकम्प, बाढीपहिरो, हुरीबतास, असिना, चट्याङ र हिँउपहिरो जस्ता प्राकृतिक विपद्मा परेर उनीहरुको मृत्यु भएको हो ।
गृह मन्त्रालयका अनुसार विपद्बाट ज्यान गुमाउनेको संख्या वर्षेनि बढ्दोछ । वातावरण प्रभाव मूल्यांकनबिना हुने विकास र पूर्वाधार निर्माणले भूक्षय र बाढी÷पहिरो बढाएको छ ।
शुक्रबार राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’मा विपद् व्यवस्थापन सम्बन्धमा छलफल थियो । विपद् जोखिम न्यूनीकरणका लागि गरिएका तयारी तथा भावी कार्ययोजनाबारे जानकारी गराउँदै गृहसचिव एक नारायण अर्यालले विगत दश वर्षमा विपद्ले २३ हजार जनाको मृत्यु भएको तथ्याङ्क प्रस्तुत गरेका हुन् ।
बैठकमा सहभागी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विपद्को पूर्व तयारीका लागि सबै गम्भीर हुनुपर्ने बताए । आफूहरुको केही अवधारणहरु रहेको उल्लेख गर्दै उनले त्यसका लागि संसदको सहयोग चाहिने बताए । सातै प्रदेशका विपद्को लागि एयर एम्बुलेन्स आवश्यक रहेको र यसका लागि योजना बनाएको सुनाए ।
‘सातै प्रदेशमा एयर एम्बुलेन्स आवश्यक छ । हामी इस्टिमेट गर्दैछौं, कति बजेट अपुग छ । प्राथमिकता क्रम निर्धारण गर्यौं भने बजेट व्यवस्थापन हुन्छ’ उनले भने, ‘तुरून्त उद्धार गर्ने चेकलिस्ट वर्षौंदेखि थन्किएको छ, हामी पहल गर्दैछौं । एयर एम्बुलेन्सहरु पनि एकत्रित गर्नुपर्नेछ ।’
आगलागी नियन्त्रणका लागि नागरिकस्तरको सहभागिता आवश्यक रहेकोमा गृहमन्त्री लामिछानेको जोड रहेको छ । ‘नागरिकलाई चारवटा रूख काट्न महाभारत छ, तर जंगलका जंगल डढेलोले क्षति हुँदा वास्ता छैन’ उनी भन्छन्, ‘जथाभावी रुख काट्न पाउनुपर्छ भन्न पक्षमा छैन । तर जंगल जोगाउनका लागि नागरिक समेतको साथ लिनुपर्छ ।’
सरकार परिवर्तन भएता पनि जनताले पाउने सेवा र मुलुकको राष्ट्रिय नीति परिवर्तन हुन नहुनेमा पनि गृहमन्त्री लामिछानेले जोड दिए । ‘विपद् व्यवस्थापनका कुराहरु, नागरिकको ज्यान जोगाउने कुराहरु, जनधन जोगाउने कुराहरु अनिवार्य दायित्वमै पर्न आउँछ,’ उनले भने ।
नेपालमा जे काम गर्नका लागि पनि बजेट छैन भन्ने प्रवृति रहेको पनि उपप्रधान तथा गृहमन्त्री लामिछानेले बताए । इच्छा शक्ति भए बजेट व्यवस्थापन गर्न सकिने विश्वासमा आफू रहेको सुनाए । ‘हामीसँग इच्छाशक्ति नहुनु र बजेट नहुनु दुईटा अलग कुरा हुन जस्तो लाग्छ । इच्छाशक्ति हुने हो भने बजेट म्यानेज हुने कुरा हो’ लामिछानेले भने ।
कुलेन्द्र शाही/मध्यान्ह
सुर्खेत : विवाह गर्नका लागि कानूनले २० वर्ष तोकेको छ । तर कर्णाली प्रदेशमा बालविवाह गर्नेहरुको संख्या ३७.९ प्रतिशत रहेको सरकारी तथ्याङ्क छ ।
कानूनले बर्जित गरेता पनि बालविवाह गर्न नहुने विषयमा चेतना फैलाउन नसक्दा कर्णालीमा बालविवाहको अवस्था भयावह रहिरहेको सरोकारवालाहरु बताउँछन् । स्थानीयका अनुसार कतिपय बालविवाहका घटना बाहिर आउँछन्, कतिपय रोकिन्छन् भने कतिपय प्रशासनको आँखा छलेर हुने गर्छन् ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले कर्णालीमा १८ वर्ष नपुग्दै विवाह गर्नेको संख्या ३७ दशमलव ९ प्रतिशत रहेको देखाएको छ ।
राज्यले बालविवाह न्यूनीकरणका लागि कानूनी कडाइदेखि जनचेतनाका कार्यक्रमलाई व्यापक बनाएको दाबी गरिरहेको छ । तर परम्परा, गरिबी, दाइजो प्रथा, धार्मिक सामाजिक दबाब र शिक्षाको अभावजस्ता कारण कर्णालीमा मात्रै होइन, नेपालमै उमेर नपुग्दै बालविवाह गर्नेहरूको डरलाग्दो तथ्यांक छ ।
कर्णालीका ग्रामीण भेग र सीमान्तकृत समुदायमा बालविवाह बढी देखिएको छ । कतिपय सामाजिक तथा धार्मिक विश्वासका आधारमा बालविवाहलाई मान्यता दिने गरिएको जनगणनाको तथ्यांकमा उल्लेख छ ।
सबैभन्दा धेरै बालविवाह सल्यानमा हुने गरेको छ । सल्यानमा उमेर नपुग्दै ४३ प्रतिशतले बालविवाह गर्ने गरेका छन् । सल्यानपछि धेरै बालविवाह हुने जिल्ला रुकुमपश्चिम रहेको छ । रुकुमपश्चिममा ४२ दशमलव ३ प्रतिशतले बालविवाह गर्ने गरेको तथ्यांकले देखाउँछ । त्यसपछि क्रमशः जाजरकोटमा ४० दशमलव ८, सुर्खेतमा ३८ दशमलव ७, मुगुमा ३५ दशमलव ९, डोल्पामा ३२ दशमलव १, हुम्लामा ३३ दशमलव ७, जुम्लामा ३४ दशमलव ७, दैलेखमा ३५ दशमलव २ र कालीकोटमा २८ दशमलव १ प्रतिशतले उमेर नपुग्दै विवाह गर्ने गरेका छन् ।
कर्णालीका अधिकांश स्थानीय तहले बालविवाह न्यूनीकरणका लागि विवाहपूर्व नै अनिवार्य सिफारिस लिने कानून नै बनाएर लागू गरेका छन् । बालविवाह रोक्न कर्णालीमा दर्जनौं संघसंस्थाहरू सक्रिय भएर लागेको दाबी गरिरहेका छन् । तर तथ्यांकले उनीहरूका क्रियाकलाप झारा टार्नमै सीमित रहेको विज्ञहरू औंल्याउँछन् ।
कर्णालीका जुम्ला, कालीकोट, दैलेख, सल्यान र जाजरकोटका अधिकांश स्थानीय तहहरुले विवाह गर्नुपूर्व वडा तथा पालिकाको सिफारिस अनिवार्य गरेका छन् । तर उक्त निर्णय पनि कागजमै मात्र सीमित भएका छन् ।
कर्णालीमा बालविवाहको दर, बासस्थान, भौगोलिक क्षेत्र, शैक्षिक अवस्था, घरपरिवारको आम्दानीको स्तर, जातजातिको आधारमा फरक–फरक रहेको तथ्यांकले देखाउँछ ।
कर्णालीमा बालविवाह बढी हुनुमा गरिबी, अशिक्षा, जनचेतनाको कमी र देखासिखी रहेको बाल अधिकारका लागि साझा अभियान कर्णालीका टेकराज आचार्य बताउँछन् । कर्णालीमा बढ्दै गएको बालविवाहको ग्राफ घटाउन जनचेतनाको अभियानलाई तीनै तहका सरकारले चलाउनुपर्ने उनको राय छ । यस्तो अभियान घरपरिवार, विद्यालय तथा सामाजिकस्तरमा व्यापक बनाउनुपर्नेमा उनको जोड छ ।
प्रहरीसम्म सूचना पुग्दैन
कर्णालीमा बालविवाहको ग्राफ उच्च रहेको भए पनि यस्ता घटनाहरू प्रहरीकहाँ निकै कम मात्रामा आउने गरेको प्रहरीको तथ्यांकले देखाउँछ । कारबाही हुने डर तथा जनचेतनाको कमीजस्ता कारणले बालविवाहका घटना प्रहरीकहाँ कमै मात्रामा आउने गरेको जानकारहरू बताउँछन् ।
पछिल्लो तीन आर्थिक वर्षको अवधिमा कर्णाली प्रदेशभर ४८ वटा बालविवाहविरुद्धका मुद्दा प्रहरीमा दर्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७७/०७८ देखि चालु आर्थिक वर्ष २०८०/०८१ सम्म अर्थात तीन वर्षको अवधिमा दैलेखमा सबैभन्दा धेरै १८ वटा बालविवाहविरुद्धका मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
यो अवधिमा सुर्खेतमा १४, सल्यानमा ७, कालीकोटमा ६ र हुम्लामा ३ वटा मुद्दा परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक बीरबहादुर ओलीले बताए । उनका अनुसार कर्णालीका अन्य पाँच जिल्लामा यो अवधिमा कुनै पनि बालविवाहविरुद्धका मुद्दा परेका छैनन् ।
नेपालको कानूनले बालविवाहलाई जघन्य अपराधका रूपमा परिभाषित गरेको छ । नेपालको संविधानको धारा ३९ मा रहेको बालबालिकाको हकमा बालविवाह गर्न नपाइने व्यवस्था गरेको छ । धारा ३९ को उपधारा ५ मा कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न बन्धक बनाउने कार्यमा दण्ड सजाय हुने व्यवस्था छ ।
मुलुकी अपराध संहिताको दफा १७३ मा २० वर्ष उमेर नपुगी कसैले विवाह गर्न वा गराउन नहुने उल्लेख छ । यो व्यवस्थाविपरीत भएको विवाह स्वतः बदर हुनेछ भने बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था कानूनले गरेको छ । तर, संविधान, कानुन विपरित कर्णालीमा बालविवाह रोकिएको छैन ।
काठमाडौं : ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ । शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस र नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सो पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मा, पूर्व सञ्चारमन्त्रीहरु मिनेन्द्र रिजाल, पार्वत गुरुङ, नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायत थिए ।
पत्रकार सन्तराम बिडारी र उपेन्द्र खड्काले लेखेको ‘आमसञ्चारको परिचय’ नामक सो पुस्तक भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यो पुस्तक त्रिभूवन विश्वविद्यालयको स्नातक तह (बीए) तेस्रो वर्षको ऐच्छिक (इलेक्टिभ, जेएमसी–४१०) पत्रकारिता अन्तरर्गतको पाठ्यक्रममा आधारित रहेको लेखकद्वयले बताएका छन् ।
पूर्णाङ्क १०० को यो विषय सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत अंकभार भएको विषय हो । यो पुस्तक पत्रकारिताको आधारभूत ज्ञानका लागि उपयोगी भएको लेखकद्वयले बताएका छन् । यो पुस्तकमा पत्रकारिता र आमसञ्चारका साधारण, प्रारम्भिक र आधारभूतका साथै सञ्चारका विशेष मुद्दाहरू र पत्रकार आचारसंहिता र प्रेस काउन्सिलको भूमिका लगायतका बारे चर्चा गरिएको छ ।
पत्रकारितामा सक्रिय लेखक बिडारी त्रिवि अन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापन कार्यमा सक्रिय छन् । पत्रकारितामा सक्रिय बिडारी त्रिवि केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागबाट एमफिल–पीएचडी गरिरहेका छन् । उनी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य समेत हुन् ।
त्यसैगरी उकेरा डटकममा कार्यरत लेखक खड्का विशेषगरी स्वास्थ्य क्षेत्रलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्छन् भने अर्किड इन्टरनेश्नल कलेजमा प्राध्यापनरत छन् । खड्काले काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टस् अन्तर्गत भाषा तथा आम सञ्चार विभागमा सञ्चारसम्बन्धी विषयमा विद्यावारिधी (पीएचडी) गरिरहेका छन् । उनी पनि नेपाल पत्रकार महासंघका सदस्य छन् ।
काठमाडौं : नेपाल पत्रकार महासंघको निर्वाचन आगामी जेठ २६ गते हुने भएको छ । शुक्रबार पत्रकार महासंघको केन्द्रीय महाधिवेशनको हलले चुनावको मिति तय गरेको हो । महाधिवेशन शनिबारसम्म चल्नेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको उद्घाटन गरेका हुन् । त्यसअघि पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकालेका थिए । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आएका छन् । केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी भएका छन् । केन्द्रीय महाधिवेशनको एक महिनापछि महासंघले नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छ । त्यसका लागि महासंघको निर्वाचन आगामी जेठ २६ गते गर्ने निर्णय भएको हो । निर्वाचन अघि महासंघको सदस्यता वैशाख मसान्तभित्र शुद्धीकरण समिति र संगठन समितिले टुंगो लगाउने छन् ।
महासंघको २७ औँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा संकुचन हुन नदिइने बताए । आसञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि स्वनियमन बस्नुपर्ने बताए ।
महासंघले प्रेस स्वतन्त्रतालाई प्रमुख सवालका रूपमा लिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक स्वतन्त्रता स्वयं पत्रकारिता क्षेत्रको सहभागितामा समेत प्राप्त भएकाले प्रेस स्वतन्त्रता यसको अनिवार्य पक्ष बन्न पुगेको बताए ।
नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई आफ्नो प्रस्तावनामै उल्लेख गरेर संस्थागत गरिसकेकाले प्रेस स्वतन्त्रता संघीय लोकतान्त्रिक गणतन्त्रकै एउटा अंग बनेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अब कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने बताए ।
कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्मा पेस हुने प्रक्रियामा रहेको बताइन् ।
पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजालले सार्वजनिक सेवा प्रशारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फेरि मन्त्रालयको हालीमुहाली हुने तरिकाले अगाडि बढेको भन्दै आपत्ति जनाएका थिए ।
पूर्व सञ्चारमन्त्री एवम् नेकपा एमालेका नेता पार्वत गुरुङले मर्यादित नेपाल, मर्यादित समाज निर्माण गर्नको लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै देश बलियो भएमात्रै सबै बलियो हुने बताए ।
नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पत्रकारहरूको निष्पक्षतामाथि शंका रहेकाले त्यसमा मेटाउनतिर लाग्न आग्रह गरे ।
पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यो वर्ष राज्य र गैरराज्यपक्षबाट ६२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएको बताए । पोखरेलले कार्यपालिका र व्यवस्थापिका मात्रै नभएर न्यायपालिकाले समेत प्रेस स्वतन्त्रतामाथि अप्ठ्यारो पार्ने खालको निर्णय गर्न थालेको भन्दै टिप्पणी गरे ।
प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सर्वोच्च अदालतको पछिल्लो आदेश सञ्चारमाध्यममाथि हमला भएको भन्दै आपत्ति जनाए । ‘सर्वोच्च अदालतबाट जुन आदेश आयो । न्यायालयको भाषा मेरो विरुद्ध आँखा उठायो त्यसको आँखा फुटाउँछौँ भन्ने खालको भयो । हामी प्रेस स्वतन्त्रका लागि मर्न तयार छौँ शिर झुकाउँदैनौँ’ बस्नेतले भने ।
प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा जुगलले सरकारको कामको आधारमा सही मुल्यांकन पत्रकारले गर्नुपर्ने बताए । समाजमा सकारात्मक सन्देश फैलाउन आवश्यक रहेकोमा उनको जोड थियो ।
कमल कुमाल/मध्यान्ह
कालीकोट : हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार गरिएको छ । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका ४ की २० वर्षीया लक्ष्मी शाहीलाई शुक्रबार हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको हो । गत वैशाख ८ गते मेहलमुडी स्वास्थ्य चौकीमा सुत्केरी भएकी शाहीको स्वास्थ्य कमजोर हुँदै गएपछि जिल्ला अस्पताल मान्म ल्याइएको थियो ।
शाहीको शरीरमा अक्सिजनको मात्रा न्यून भइ स्वास्थ्य अवस्था जटिल देखिएपछि उनलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताए ।
मुटुमा समस्या देखा परेकाले उनको यता उपचार सम्भव नभएपछि सुर्खेत पठाइएको हो । प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको समन्वयमा थप उपचारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टर मगाएर प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ । बच्चा जन्मिसकेको तर मुटुमा समस्या देखा परेका कारण कालीकोटमा उपचार गर्न सम्भब नभएपछि सुर्खेत लगिएको छ ।
दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा ज्यान जोखिममा रहेका आर्थिक विपन्न गर्भवती र सुत्केरी महिलाहरुको लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम बरदान सावित भएको भएको छ । दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि हवाई उद्धार कार्यक्रमले धेरै ज्यान बचाइ सकेको छ ।
शहबाज खान/मध्यान्ह
कपिलवस्तु : नेपाल पत्रकार महासंघको २७ औँ महाअधिवेशनमा लुम्बिनी प्रदेश समितिलाई देशकै उत्कृष्ट घोषित गर्दै सम्मान गरिएको छ । महासंघले लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीलाई सम्मान गरेको हो । लुम्बिनी प्रदेशमा ५ जिल्ला उत्कृष्ट हुँदा कपिलवस्तु जिल्लाका शाखा अध्यक्ष किरणमान बज्रार्चायलाई पनि सम्मान गरिएको छ ।
सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मा र महासंघका अध्यक्ष विपुल पोख्रेल, पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजाल लगायतले प्रशंसा पत्र वितरण गरेका थिए । कार्यसम्पादन मुल्यांकनको आधारमा नेपालको पत्रकारिता क्षेत्र र श्रमजिवी पत्रकारको हकहितको लागि राम्रो काम गरेको भन्दै सम्मान दिइएको केन्द्रीय समितिका महासचिव रोशन पुरीले बताए । अध्यक्षद्वय गिरी र बज्राचार्यले मूल्यांकन कमिटीलाई धन्यवाद दिएका छन् ।
गिरीको एक कार्यकालमै प्रदेश कमिटीले भवन बनाउन सफल भएको छ भने कपिलवस्तु शाखाले कोष वृद्धि लगायतको काम गरेका छन् । कपिलवस्तुसहित १७ वटा जिल्ला शाखा उत्कृष्ट हुँदा लुम्बिनी प्रदेशबाट मात्र ५ जिल्ला शाखा पुरस्कृत हुन सफल भएको अध्यक्ष बसन्त गिरीले जानकारी दिए ।
सुर्य प्रसाद भुसाल/ध्यान्ह
अर्घाखाँची : पूर्व पर्यटन राज्यमन्त्री सुशिला सिर्पालीले विकासमा एकता अनिवार्य भएको बताएकी छन् ।
अर्घाखाँचीमा सञ्चालित पर्यटन प्रर्वद्धन अभियान सबैको एकता र सहकार्यले सफल भएको जिकिर गर्दै सिर्पालीले जिल्लाको दिगो विकासमा पनि सबै एक ठाउँमा उभिनुपर्ने तर्क राखेकी थिइन् । प्रेस सेन्टर नेपाल अर्घाखाँचीले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रो विमोचन गर्दै उनले अर्घाखाँचीमा पत्रकार महासंघले एकताको सन्देश छर्दै अभियान सफल पारेकोमा धन्यवाद समेत दिइन् ।
प्रतिनिधि सभा सदस्य समेत रहेकी सिर्पालीले विकास र प्रगतिका निम्ती अरुबाट सिकेर अगाडि बढ्नुपर्ने भन्दै अर्घाखाँचीबाट पत्रकारले त्यो सन्देश दिएको बताइन् । दविएकाहरुको आवाज र विकासका निम्ती कलम चलाएर आफ्नो धर्म निभाउन पत्रकारलाई पूर्व राज्यमन्त्री सिर्पालीले आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै पूर्व राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्का उज्वलले अर्घाखाँचीमा संस्थागत पत्रकारहरु परिपक्क देखिएको भन्दै खुशी व्यक्त गरे । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका नेता खड्काले भने,‘यसलाई कायम राख्दै विकासका क्षेत्र र खोज पत्रकारितामा पनि ध्यान दिनुस् ।’ जिल्लाका केही महत्वपूर्ण आयोजनाहरु कार्यान्वयन पक्षमा देखिएको फितलोका कारण लामो समयदेखि अधुरै र अलपत्र परेको भन्दै नेता खड्काले यस्ता विषयमा पनि समाचार लेख्न आग्रह गरे ।
यस्तै प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थीले अहिले नेपालको राजनीति र प्रेसमाथि हमला भइरहेको बताए । सामाजिक सञ्जालको दुरुपयोग गरी सतहमा रमाउनेहरुले प्रेसमाथि चुनौति दिएको भन्दै चौतारी अध्यक्ष पन्थीले भ्रमको खेती गर्नेकाविरुद्ध लड्दै र जित्दै आएको स्मरण गराए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ठाकुर कुमार वि.क., जिल्ला संयोजक राजेन्द्र भुसाल, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष अशोक खनाल, प्रदेश सदस्य प्रेम आचार्य र पूर्व अध्यक्ष हिम लेकाली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल अर्घाखाँचीका अध्यक्ष ऋषी भुसालले गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies