प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिमको बाफिँकाेट गाउँपालिकास्तरीय चाैथाे राष्ट्रपति रनिङ शिल्डको उपाधि वीरेन्द्र माध्यमिक विद्यालय बाफिँकाेटले हात पारेको छ । पालिकाभित्रका ९ वटा विद्यालयलाई पछि पार्दै वीरेन्द्र माध्यमिक विद्यालयले शिल्ड हात पारेको हो । उसले ७ स्वर्ण, ४ रजत र ४ कास्य गरी जम्मा १५ पदकसहित शिल्ड हात पारेको बाँफिकाेट गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख वीरेन्द्र प्रकाश बुढाथाेकीले जानकारी दिए ।
योसँगै वीरेन्द्र माध्यमिक विद्यालयले लगातार दोस्रो पटक शिल्ड जितेको छ । त्यस्तै ६ स्वर्ण, ४ रजत र १० कास्य गरी २० पदक जितेर सिद्धार्थ माध्यमिक विद्यालय मग्मा दाेस्रो हुँदा ३ स्वर्ण १ रजत र १ कास्य गरी ५ पदक प्राप्त गर्दै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ढारबाङ तेस्रो भएको छ ।
विद्यार्थीहरूले भलिबल, सट फुट, ज्याभलिङ थ्रो, छोटो तथा लामो दुरी एक सय मिटरदेखि ३ हजार मिटरसम्मको दौड, लङ जम्प, त्रिपल जम्प, रिले दौड र हाई जम्पलगायतका प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।
वीरेन्द्र माध्यमिक विद्यालयले गत वर्ष पनि शिल्ड जितेको थियो । प्रतियोगिता पुस २३ गतेदेखि ४ नम्बर वडाको वीरेन्द्र माध्यामिक विद्यालयकाे प्राङ्गणमा सञ्चालन भएको थियो । यसअघि त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गरिसकेका छन् भने मुसिकाेट नगरपालिकामा शुरु भएको छ । अन्य पालिकाहरूले पनि रनिङ शिल्ड सञ्चालनको तयारी गरिरहेका छन् ।
इसत्याक अहमद/मध्यान्ह
जनकपुर : जनकपुरधामको एकरा इस्लामिक इङ्लिश स्कुलको चौथो वार्षिकोत्सवको अवसरमा ‘प्रथम खेलकुद प्रतियोगिता–२०८०’ सम्पन्न भएको छ । प्रतियोगितामा विद्यार्थीहरुले ५ वटा खेल क्रिकेट, फुटबल, कबड्डी, दौड र भलिबलमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई मेडल, प्रमाण पत्र तथा कप प्रदान गरिएको छ ।
सबैला नगरपालिकाकी उपमेयर रहीमा खातुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता स्कुलका सञ्चालक मो. कलिम राइनले गरेका थिए । कार्यक्रममा विशेष अतिथिहरु जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे, मधेश प्रदेश फुटवल संघका उपाध्यक्ष सुरेश शर्मा, धनुषा जिल्ला फुटबल संघका उपाध्यक्ष निरंजन गौतम, जिल्ला क्रिकेटका कोच मो. अन्सारुल, नेकपा एमालेका प्रदेश सदस्य, नेपाली कांग्रेस मुस्लिम संघ धनुषाका जिल्ला अध्यक्ष मो. इब्राहिम राइन, मो. हकिम राइन राइन, सबैला नगरपालिकाको वडा नं. ८ का अध्यक्ष मो. सेराज राइन, संस्कार स्कुलका फाउण्डर बसन्त यादव, सबैला नगरपालिका ९ का वडाध्यक्ष मनिस राय, मुजेलिया चौकीका इन्चार्ज राजेश सिंह, डा. साहबुदिन हफिज उल्लाह, शेख मोस्तकिम मदनी, मो. अनिस राइन अल रियाजी, शेख मोजिबुल रहमान, पूर्ववडाध्यक्ष तथा एनप्याबसन मधेश प्रदेश सदस्य तथा सिरहा जिल्लाका कोषाध्यक्ष मो. मतिउल राइन, अताबुल रहमान, मनिर राइन, इद मोहमद राइनलगायत थिए । यस्तै स्कुलका सञ्चालक मो. कलिमका आमा बुबाको पनि कार्यक्रममा विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उपस्थित सबै आमन्त्रित अतिथिहरुलाई मायाको चिनोका साथै गम्छा ओढाएर सम्मान गरिएको थियो भने शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।
चितवन : धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । संघीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने भएको हो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार संघीय सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहमति प्रदान गरेको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको र लिज ऐनअन्तर्गत रङ्गशालाले जग्गा लिनुपर्ने भएकाले मन्त्रिपरिषद्को बैठकबाट सहमति लिनुपरेको उनले बताइन् ।
प्रमुख दाहालका अनुसार उक्त आयोजना सम्पन्न गर्न संघीय सरकारले समेत अनुदानका रूपमा बजेट उपलब्ध गराउने छ । रंगशालाका लागि यसअघि सट्टाभर्नामा जग्गा लिने सहमति भएकामा अहिले सो प्रावधान नरहेपछि लिज ऐनअन्तर्गत ४० वर्षका लागि रंगशालालाई जग्गा लिन मन्त्रिपरिषद्ले सहमति दिएको छ । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग भरतपुर महानगरपालिकाले जग्गाको सम्झौता गरी रंगशालाको काम अघि बढाउन लागेको उनले बताइन् ।
महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा रु ७५ करोड बराबरको काम गर्ने गरी सहमति भएको थियो । तर भरतपुर महानगरपालिकाले तयार गरेको योजनाअनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन रु एक अर्ब लाग्ने प्रमुख दाहालले जानकारी दिइन् । पहिलो चरणमा खेलमैदान र प्यारापिटलगायतका काम सम्पन्न गरेर खेल खेल्न मिल्ने बनाइने उनको भनाइ छ ।
प्रदेश सरकारले ७० प्रतिशत लगानी गरेसँगै रकम अभाव भए संघीय सरकारको अनुदान लिएर महानगरपालिकाले थप गरी रंगशाला बनाउने तयारी गरिएको हो । प्रमुख दाहालका अनुसार प्रदेश सरकारको बजेट सुनिश्चिततासँगै बहुवर्षीय ठेक्का लगाएर काम गरिने छ ।
धुर्मुस–सुन्तली फाउण्डेसनले रु १९ करोड ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि रंगशाला निर्माण कार्य अलपत्र बनेको छ । महानगरपालिकाले उक्त आयोजनालाई महानगरको महत्वपूर्ण आयोजनाको रूपमा लिएको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले संघीय सरकारले अनुमति दिएसँगै अब कामले गति लिने बताए ।
काठमाडौ : नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।
क्यानले बिहीबार एक विज्ञप्ति निकाल्दै उनले कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरि निलम्बन गरेको बताएको छ ।
काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।
क्यानले विज्ञप्तिमा भनेको छ, ’राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं ।’
काठमाडौं : सरकारले चितवनमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण, सञ्चालन र व्यवस्थापनका लागि भरतपुर महानरलाई सहमति दिएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बागमती प्रदेश सरकारसँगको साझेदारीमामा उक्त रंगशाला निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि सहमति दिएको हो ।
भरतपुर महानगरपालिका, वडा नं. १५ मा कलाकार धुर्मुस–सुन्तलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालेका थिए । तर बजेट अभाव देखाउँदै उनीहरुले निर्माणको काम बीचमै छाडेपछि रंगशाला अलपत्र परेको थियो ।
गत कातिकमा बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले अलपत्र रंगशाला मिलेर बनाउने सहमति गरेका थिए । त्यस अनुसार प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानी रहने र चाँडै ७५ करोड रुपैयाँको टेन्डर आह्वान गर्ने बताइएको थियो ।
ललितपुर : नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा जारी ‘छैटौं तुलसीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता’को तेस्रो चरणको खेल सकिँदासम्म आयोजक ललितपुर स्पोर्ट्स क्लब ६ अंकसहित शीर्ष स्थानमा रहन सफल भएको छ ।
जसमा राजन सुवेदीले सीएम मिलन लामालाई, रिसोन थापाले कुशल बेलबासेलाई र आयुष देमन रौराले रिया श्रेष्ठमाथि जित हासिल गर्न सफल भएका छन् भने सरोज महर्जनले भने डिभाइस सातमा राखेर खे्रल्दा अयोग्य घोषित भई अंक गुमाउन पुगे ।
ललितपुरले यस खेलमा १ कोविरुद्ध ३ जित हासिल गर्दै शतप्रतिशत नतिजा आफ्नो पक्षमा पार्न सफल रह्यो । यसैगरी ललितपुर महानगरपालिका चेस टिमले कास्की जिल्ला बुद्धिचाल संघमाथि २.५–१.५ ले जित दर्ता गरेको छ । ललितपुरका जनार्दन श्रेष्ठले महेश्वर अधिकारीलाई, पुनम प्रसाईले अनिज पोखरेललाई पराजित गरे भने आर्य मुकारुङ र आश्चर्य चौधरीसँग बराबरी गर्दै ललितपुर टिमलाई महत्वपूर्ण जित दिलाए भने कमल श्रेष्ठ सागल शाईसँग पराजित हुन पुगे ।
अर्को खेलमा मकवानपुर जिल्ला बुद्धिचाल संघले कास्सी जिल्ला बुद्धिचाल संघलाई पराजित गर्दा सीएम श्रृष्ण थापा, सिन्देश्वर दाश र अनुशा गौतमले जित हात पारेका छन् । सुदेन टुईटुई अरिज पोखरेलसँग पराजित हुन पुगे । मख्खन चेस क्लब काठमाडौंले ललितपुर जिल्ला बुद्धिचाल संघलाई .५ अंकविरुद्ध ३.५ ले पराजित गर्दै महत्वपूर्ण अंक प्राप्त गर्न सफल भएका छन् ।
जसमा ३ पटकका पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपालीले कृष्णमान महर्जनलाई, शतिष शाहले कपिल घिमिरेलाई, रियान श्रेष्ठले शुभम यादवमाथि जित निकाले भने आर बज्राचार्य र बाबुराजा महर्जनबीचको खेल बराबरीमा टुंगिएको थियो । त्यसैगरी गोदावरी नगरपालिका र कोशी प्रदेश बुद्धिचाल संघबीचको खेल बराबरीमा सकिएको छ ।
गोदावरीका शान्ति धिमालले सजल न्यौपानेलाई पराजित गरिन् भने धिरेन राई र प्रकाश चन्द्र नेपाल, अशाक मोहन श्रेष्ठ र सविन चन्द्र घिमिरेबीचको खेल बराबरीमा सकिएका छन् । सुभव न्यौपाने भने मिसन दहालसँग पराजित हुन पुगे ।
लिग कम नकआउटका आधारमा जारी प्रतियोगितामा नेपालभरका शीर्ष क्लबहरु डिफेन्डिङ च्याम्पियन थापाथली चेस पार्क क्लब, ललितपुर स्पोर्ट्स क्लब, लुम्बिनी इभेन्ट मेनेज्मेन्ट टिम, सुदूरपश्चिम खेलकुद विकास परिषद, दोलखा चेस होम, दोलखा बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघ, कास्की जिल्ला बुद्धिचाल संघ, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, पुल्चोक क्याम्पस र ललितपुर जिल्ला बुद्धिचाल संघ गरी १९ टिम सहभागी छन् ।
भाइटल इन्टरनेशनल सर्भिस प्रा.लि.ले प्रायोजन गरेको भाइटल प्लेयर अफ द राउण्ड नगद पुरस्कारअन्तर्गत पहिलो राउण्डको पुरस्कार शान्ति धिमाल र दोस्रो राउण्डको पुरस्कार धिरेन राईले हात पारे । दुबै खेलाडी गोदावरीका हुन् ।
प्रतियोगिताकाको विजेता टिमले नगद पुरस्कार २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमलाई ४० हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको कुल पुरस्कार राशि ४ लाख ७० हजार रहेको छ । पुस २८ गते समापन हुने प्रतियोगिताको पुरस्कार वितरण नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले बुद्धिचालले विश्व खेलकुद वृत्तमै छुट्टै पहिचान बनाउन सफल भइसकेकोले नेपालमा पनि यो खेललाई व्यावसायिकरुपमा अगाडि बढाउन जोड दिनुपर्ने बताएका छन् ।
सोमबारबाट ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठान हलमा शुरु भएको छैटौं तुलसीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै घिसिङले नेपालमा बुद्धिचाल खेललाई व्यावसायिक विकासमा जोड दिनुपर्ने बताएका हुन् ।
‘विश्व फिडे महासंघ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी)ले बुद्धिचाललाई आफ्नो महत्वपूर्ण अफिसियल खेलको रुपमा मान्यता दिइसकेको छ, यस्तो अवस्थामा नेपालमा पनि बुद्धिचाल खेललाई व्यावसायिक ढाँचामा रुपान्तरित गर्न जरुरी भइसकेको छ,’ उद्घाटन समारोहमा बोल्दै सदस्यसचिव घिसिङले भने, ‘जसका लागि नेपाल बुद्धिचाल महासंघ, सम्बन्धित निकाय र व्यक्तिहरुले नेपालमा फुटबल र क्रिकेटमा जस्तो बुद्धिचालमा पनि व्यावसायिक लिग सञ्चालनमा ल्याउन जरुरी छ ।’
यस्तै उनले प्रतियोगितालाई आयोजनामा मात्र सीमित गर्नुभन्दा पनि बढी भन्दा बढी खेलाडीलाई प्रतियोगितामा सहभागि गराउनु र नेपालमा बुद्धिचाल खेल तथा खेलाडीको स्तर विकास गर्नु महत्वपूर्ण विषय रहेको बताए । प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका घिसिङले बुद्धिचाल खेलको विकासमा सक्रियरुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको नेपाल बुद्धिचाल महासंघलाई राखेपले सहयोग गर्दै आएको र आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने बताए ।
सोमबारबाट शुरु भएको प्रतियोगितामा रोखप सदस्यसचिव घिसिङले सेतो तथा नेपाल बुद्धिचाल महासंघका कार्यवाहक अध्यक्ष हेराकाजी महर्जनले कालो गोटी चाल्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन महासचिव स्वर्गीय तुलसीलाल अमात्यको स्मृतिमा ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा शुरु भएको प्रतियोगिता पुस २८ गतेसम्म चल्ले छ ।
लिग कम नकआउट आधारमा शुरु भएको प्रतियोगिताका खेलहरु गत वर्षहरुमा भन्दा फरक शैलीमा खेलाइँदै छ । यस पटकको प्रतियोगितामा प्रत्येक टिममा वैकल्पिकसहित ५ जना खेलाडीहरुको सहभागिता रहेको छ । जसअनुसार प्रतियोगिता संरचनामा खेलाडीहरुलाई ए, बी, सी र डी गरी चार समूहमा वर्गीकरण गरिएको छ ।
जसअन्तर्गत समूह ए मा टाइटल प्राप्त खेलाडी, पूर्व नेपाल च्याम्पियन, राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट दश स्थान प्राप्त खेलाडी तथा १९०० रेटिङ माथिका खेलाडी रहेका छन् । समूह बी मा १९०० रेटिङ मुनिका खेलाडीहरु, समूह सी मा अण्डर २० र मूह डी मा अण्डर १६ वा महिला खेलाडी रहेका छन् । वैकल्पिकमा जुन समूहको खेलाडी हो त्यही समूहबाट प्रतिस्पर्धा गर्न पाउने छन् ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन थापाथली चेस पार्क क्लब, ललितपुर स्पोर्ट्स क्लब, गोल्डेन गेट क्लब, लुम्बिनी इभेन्ट मेनेज्मेन्ट टिम, सुदुर पश्चिम खेलकुद विकास परिषद, दोलखा चेस होम, दोलखा बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघ, कास्की जिल्ला बुद्धिचाल संघ, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, पुल्चोक क्याम्पस, ललितपुर जिल्ला बुद्धिचाल संघ गरी २० टिम सहभागी छन् ।
प्रतियोगिताका संयोजक राजु ताम्राकारका अनुसार विजेता टिमले नगद पुरस्कार २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमले ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १०–१० हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको कुल पुरस्कार राशि ४ लाख ७० हजार रुपैयाँ रहेको छ ।
नेपाल बुद्धिचाल महासंघका कार्यवहाक अध्यक्ष हेराकाजी महर्जनले अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासंघका महासचिव धरम लामाले स्वागत मन्तव्य राखेका थिए ।
प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । वीरेन्द्र माध्यामिक विद्यालय बाँफिकोटको प्राङ्गणमा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले प्रतियोगिताको उद्घाटन गरेकी हुन् ।
प्रमुख अतिथि समेत रहेकी जिल्ला समन्वय समिति प्रमुख गौतमले खेल क्षेत्र सबैको क्षेत्र भएकाले खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने बताइन् ।
तेस्रो राष्ट्रपति रनिङ शिल्ड विजेता वीरेन्द्र माध्यामिक विद्यालयले गाउँपालिकालाई शिल्ड समेत हस्तान्तरण गरेको छ । शिल्ड जित्ने टोलीले प्रत्येक वर्ष गाउँपालिकालाई शिल्ड बुझाउनुपर्ने हुन्छ ।
गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका विद्यालय निरीक्षक रत्नबहादुर केसीको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कार्यलय प्रमुख लीलाप्रसाद ढकाल, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख ताराप्रसाद पुन मगर, गाउँपालिकाका अध्यक्ष जनककुमार बाठा मगर, नेकपा माओवादी केन्द्र बाँफिकोटका अध्यक्ष चन्द्रबहादुर केसी, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञान बहादुर खड्का, गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी, १० वटै वडाका वडा अध्यक्षहरु, विभिन्न शाखाका शाखा प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा बाँफिकोट गाउँपालिकाका १० माध्यामिक विद्यालयको सहभागिता रहेको बाँफिकोट गाउँपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाका विद्यालय निरीक्षक रत्नबहादुर केसीले बताए । कार्यक्रममा विद्यार्थीहरु आ-आफ्नो विद्यालयको पोशाकमा उपस्थित थिए । कार्यक्रम सञ्चालन शिक्षा युव तथा खेलकुद शाखा प्रमुख वीरेन्द्र बुढाथोकीले गरेका थिए ।
काठमाडौं : नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औं संस्करण आगामी माघ १२ गते हुने भएको छ । अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै पल्सरको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीसँग सम्झौता गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी (देवेन्द्र) र मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
२०६० सालदेखि हुँदै आएको नेपाली खेलकुदको लोकप्रिय अवार्डलाई गोल्छा ग्रुपले साथ दिएको यो लगातार १५औं वर्ष हो । सम्झौता अनुसार गोल्छा ग्रुपले यस पटक पाँच वटा बजाज पल्सरको एन सिरिज मोटर साइकल प्रदान गर्नेछ । जसमा एन २५० दुईवटा र एन १६० तीनवटा मोटर साइकल रहेको छ । साथै गोल्छाले १२ लाख रुपैयाँ नगद पनि दिने उल्लेख गरेको छ ।
पल्सर स्पोट्स अवार्ड नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने कार्यक्रम हो । सो अवसरमा कम्पनीमा निर्देशक अभिमन्यू गोल्छाले पल्सरको उद्देश्य नेपाली खेलकुदसँगै युवाहरूसँग जोडिनु रहेको उल्लेख गर्दै यो अवार्डले नयाँ बेन्चमार्क स्थापित गरेको धारणा राखेका थिए ।
उनले भने, ‘मञ्चले हरेक अवार्डमा नयाँ नयाँ शैली र प्रविधि अपनाएर अवार्डलाई उच्च स्तरको बनाएको छ । मञ्चसँग सहकार्य गर्न पाउदा गोल्छा ग्रुप गर्व महसुस गर्छ । जस्तो सुकै आर्थिक परिस्थिति भएपनि गोल्छाले मञ्चसंग सहकार्य गर्दै जानेछ ।’
मञ्चका अध्यक्ष सुवेदीले आर्थिक रूपमा कठिन परिस्थितिमा कम्पनीले लगातार अवार्डलाई साथ दिएकोमा गोल्छा ग्रुपको कदमको सह्रानीय गरे । यस पटक मनोनयनमा पर्ने खेलाडी र अवार्ड कार्यक्रमको ढाँचामा परिवर्तन गरिने एनएसजेएफले जनाएको छ । यसअघि प्रज्ञा प्रतिष्ठानमा अवार्ड भए पनि केही नयाँ गर्ने उद्देश्यले कार्यक्रम स्थल र कार्यक्रमको शैलीमा परिवर्तन गरिने मञ्चका अध्यक्ष सुवेदीले बताएका छन् ।
यस वर्ष पनि अवार्डमा ९ विधा नै समावेश छ । जसअन्तर्गत वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड छन् । यी पाँच जना अवार्ड विजेताले पल्सर मोटरसाइकल पाउनेछन् ।
यीमध्ये वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ । यस अवार्डमा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड विधा रहनेछ । यस विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् ।
मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ ।
गत वर्ष पुरुषतर्फ फुटबलका अञ्जन विष्ट, महिलातर्फ भलिबलकी अरुणा शाही र प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अलमुताइरी, युवामा मनीष डाँगी उत्कृष्ट भएका थिए । पिपल्स च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी थिइन् । स्पेसल अवार्ड दानबहादुर तामाङ र उनकी पत्नी मायादेवी मोक्तानलाई प्रदान गरिएको हो । उनीहरू ब्याडमिन्टनका रत्नजित, सरादेवी र नङ्सदेवीका मातापिता हुन् ।
पारा एथलिट सम्मान तेक्वान्दोकी पलेशा गोवर्धन, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड कतारका मोहम्मद हिजी र लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पिक रघुराज वन्तलाई प्रदान गरिएको थियो ।
काठमाडौं : आईसीसी टी–२० विश्वकपमा नेपाल समूह डीमा परेको छ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस् रहेको समूह डीमा परेको हो । टी–२० विश्वकप आउँदो जुनमा अमेरिका र वेष्ट इण्डिजमा हुँदै छ ।
समूह एमा भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड, समूह बीमा इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र समूह सीमा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी छन् ।
नेपालले जुन ४ मा नेदरल्याण्ड्ससँग आफ्नो पहिलो खेल खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । यस्तै नेपालले जुन ११ मा श्रीलंकासँग आफ्नो दोस्रो खेल खेल्नेछ भने जुन १४ मा साउथ अफ्रिकासँग आफ्नो तेस्रो खेल खेल्नेछ । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल बंगलादेशसँग जुन १६ मा खेल्नेछ ।
नेपालले शुरुवाती दुई खेल अमेरिकामा खेल्नेछ भने त्यसपछि बाँकी दुई खेल वेस्टइन्डिजमा गएर खेल्नेछ । नेपालले नेदरल्याण्ड्स र श्रीलंकासँगको खेल अमेरिकामा हुनेछ भने साउथ अफ्रिका र बंगलादेशसँगको खेल वेस्ट इन्डिजमा खेल्नेछ ।
हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् र समूहका शीर्ष दुई टिम सुपर एटमा पुग्नेछन् । जहाँ ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहको शीर्ष दुई –दुई टोलीले सेमिफाइनल खेल्ने छन् ।
यसअघि जुन ४ देखि ३० सम्म हुने भनिएकोमा आईसीसीले मिति हेरफेर गरेको छ । अब टी२० विश्वकप जुन १ देखि २९ सम्म हुनेछ । पहिलो खेल अमेरिका र क्यानडाबीच जुन १ मा डल्लासमा हुनेछ ।
गत कात्तिकमा घरेलु मैदानमा यूएईलाई हराउँदै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान पक्का गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies