काठमाडौं : डी.ए.भी. कलेजले फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरको जावलाखेलमा अवस्थित डी.ए.भी. कलेज (प्लस टु)ले आगामी माघ १३ गते उपत्यकाव्यापी पाँचौं फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो ।
कलेजका प्रिन्सिपल सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने प्रतियोगितामा विजेता टिमलाई ३ लाख रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई २ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने उनले जानकारी दिए ।
ऐतिहासिकरूपमा सञ्चालन गरिने उक्त प्रतियोगितामा शुरुमा दर्ता हुने उपत्यकाका ३२ वटा टिमलाई मात्र सहभागी गराइने बताइएको छ ।
राजकुमार भुजेल/मध्यान्ह
दोलखा : दोलखाको भीमेश्वर नगरपालिका वडा नं.५ को आयोजना तथा बुढाभीमसेन सिर्जनशिल युवा क्लबको सह–आयोजनामा शनिबारबाट ‘प्रथम अध्यक्ष कप’ फुटबल प्रतियोगिता शुरु भएको छ ।
शनिबारदेखि वडाको आफ्नै बुढाभिमसेन खेलमैदानमा जिल्लाका १९ वटा माध्यमिक विद्यालयको सहभागितामा प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सांसद भरत बहादुर केसीले गरेका हुन् । प्रतियोगितामा विजेता टिमले नगद ७५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उप–विजेता टिमले नगद ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । अध्यक्ष कप फुटबल प्रतियोगिता पुस १४ देखि १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता भीमेश्वर ५ का अध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा आयोजना भएको छ ।
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को उपाधि ललितपुर सिटी फुटबल क्लबले जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पुरस्कार पाएको छ ।
ललितपुरको जितमा इमोह एजेकेलले २ तथा दिनेश हेन्जनले १ गोल गरे भने धनगढीका लागि ओलावाले अफिज र अहमद हिजाजीले १–१ गोल गरे । खेलमा अग्रता भने धनगढीले लिएको थियो । तर धनगढीको अग्रतालाई उल्ट्याउँदै ललितपुर उपाधि चुम्न सफल भएको हो ।
खेलको ३७औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । आशिष चौधरीको लामो पासमा हिजाजीले गरेको प्रहार ललितपुरका गोलरक्षकलाई लागेर फर्किएको बललाई ओलावालेले सहजै जाली चुमाए । तर पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै ललितपुर खेलमा फर्किएको थियो । इन्ज्युरी समयमा ललितपुरका लागि इमोहले सिधै फ्रिकिकमा गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफको शुरुवातदेखि नै आक्रमक देखिएको ललितपुरले लगातार २ गोल गर्यो । खेलको ५०औं मिनेटमा दिनेश हेम्जनले गोल गर्दै ललितपुरलाई २–१ को अग्रता दिलाए । यस्तै खेलको ५८औं मिनेटमा इमोहले व्यक्तिगत दोस्रो गोल गरेपछि ललितपुरले ३–१ को अग्रता बनाएको थियो ।
खेलको ७९औं मिनेटमा धनगढी १० खेलाडीमा सीमित हुन पुग्यो । डिफेन्डर रिचार्डले इमोह माथि गरेको च्यालेन्ज पश्चात उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्नु परेको थियो । धनगढीका लागि अन्तिम समयमा अहमद हिजाजीले गोल गर्दै झिनो सम्भावना दिएका थिए ।
तर त्यसपछि धनगढीले गोल गर्न नसकेपछि ललितपुर एनएसएलको च्याम्पियन बन्यो । गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हेटाैंडा कप अन्तर नगरपालिका राष्ट्रिय हक्की प्रतियोगितामा हुम्लाबाट सहभागी टिमले तेस्रो स्थान हासिल गरेको छ । हेटाैंडा कप अन्तर नगरपालिका राष्ट्रिय हक्की खेलमा हुम्ला जिल्ला सिमकाेट गाउँपालिका वडा नं ५ बाट एक टिम सहभागी भएको थियो । हेटाैंडालाई ३-२ ले हराउँदै हुम्लाको टिम तेस्रो भएको हुम्ला हक्की टिमका प्रशिक्षक रामजन रावतले बताए ।
प्रशिक्षक रावतले हिमाली जिल्लामा खेल मैदानकाे अभाव भएपनि हक्की खेलमा प्रतिफल पाएकाेमा खुसी व्यक्त गरे । हक्की खेलमा सिमकाेट गाउँपालिका वडा नं ५ का मात्र खेलाडी सहभागी भएका थिए । पुस १२ गतेदेखि सञ्चालन भएकाे हक्की खेल १४ गते सम्पन्न भएकाे थियाे ।
पवन जायसवाल/मध्यान्ह
नेपालगञ्ज : भारतको हैदराबादमा भएको १०औं विश्व स्ट्रेन्थलिफ्टिङ तथा इन्क्लाइन बेन्च प्रेस प्रतियोगिता–२०२३ मा स्वर्ण पदक जितेका नेपालगञ्जका दन्तरोग विशेषज्ञ डा. प्रतिक श्रेष्ठ र रजत पदक जितेका सन्तोष काजी शाक्यसहितका खेलाडीलाई शनिबार एक कार्यक्रमका बीच सम्मानित गरिएको छ ।
भारतको हैदराबादमा पुस २ गतेदेखि ५ गते सम्म १० औँ विश्व स्ट्रेन्थलिफ्टिङ तथा इन्क्लाईन बेन्च प्रेस प्रतियोगितामा नेपालगञ्ज निवासी डा. प्रतिक श्रेष्ठले ९५ किलो तौल पुरुष सिनियरतर्फको प्रतिस्पर्धा गरी स्वर्ण पदक जितेका थिए । यसैगरी नेपालगञ्ज वडा नं.–२ घरवारीटाल निवासी सन्तोषकाजी शाक्यले ७६ किलो तौल पुरुष मास्टर वानतर्फको प्रतिस्पर्धा गरी रजत पदक जितेका थिए । दुवै जना खेलाडीले नगद रकमसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा नेपालका ४५ जना खेलाडीले सहभागिता जनाएको बताउँदै स्वर्ण पदक विजेता डा. श्रेष्ठले उनीहरूले १६ स्वर्ण, १४ रजत र चार कास्य पदक जितेको बताए । प्रतियोगितामा नेपालबाट ४५ जना खेलाडीमध्ये बाँके जिल्लाबाट सहभागी भएका ५ जनामा दन्तरोग विशेषज्ञ डा. प्रतिक श्रेष्ठ र रजत पदक जितेका सन्तोष काजी शाक्य, देवेन्द सिंह, मोहित गुप्ता र अनिल सिंह सिजापति रहेका थिए ।
बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ संघ, लाइफलाइन अस्पताल र गणपति डेन्टल क्लिनिकको आयोजनामा लाइफलाइन अस्पतालका अध्यक्ष अशोक श्रेष्ठको प्रमुख आतिथ्यमा स्ट्रेन्थलिफ्टिङ संघका उपाध्यक्ष सौरभ कर्माचार्यको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।
लाइफलाइन अस्पतालका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अशोक श्रेष्ठ तथा नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्टले उनीहरुलाई पदक लगाएर सम्मान गरेका थिए । सो अवसरमा बोल्दै मेयर विष्टले स्ट्रेन्थलिफ्टिङको विश्व च्याम्पियनसिपमा सवर्ण र रजत पदक जितेर खेलाडीले नेपालगञ्ज र नेपालको नाम विश्वभर फैलाएको जनाउँदै यसले अन्य खेलाडीलाई पनि उत्साहित बनाएको बताए ।
स्ट्रेन्थलिफ्टिङ संघका केन्द्रीय सदस्य तथा रजत पदक विजेता शाक्यले ३५ वर्षदेखि यस खेलमा लागेको बताएका थिए । लाइफलाइन अस्पतालका सञ्चालक डा. पारस श्रेष्ठलगायतले विचार राख्दै स्ट्रेन्थलिफ्टिङ खेलाडीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रेमचन्द्र झा/मध्यान्ह
रौतहट : रौतहटको गौरमा पहिलो पटक गौरीशंकर यादव प्रिमियर लिग (जीपीएल) पुस १७ गतेदेखि शुरु हुने भएको छ । गौरीशंकर यादव प्रतिष्ठानले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा गौरका ९ टिमको सहभागिता रहने जानकारी दिएको छ । नगर क्षेत्रमा रहेका क्रिकेट खेलाडीहरुको क्षमता अभिवृद्धि गर्दै व्यावसायिक एवम् गुणस्तरीय खेलाडी उत्पादनका लागि जीपीएलको शुरुवात गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मोहन यादवले बताए ।
पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागिता जनाउने गौरका ९ वटै वडाका टिमको लोगो र जर्सी सार्वजनिक गरिएको छ । जीपीएलमा क्रान्तिद्वार ११, बानेश्वर ११, शिवगंगा ११, सोवर्णामाई ११, बरहवा ११, सबगढा ११, सिसवा ११, दरवार ११, सिर्सिया ११ को सहभागिता रहने आयोजक समितिका संयोजक गौतम श्रेष्ठले बताए । जीपीएलमा सहभागी हुने हरेक टिमका ११ जना खेलाडीलाई म्याच फि समेत उपलब्ध गराइने उनले बताए ।
प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान)बाट मान्यता प्राप्त एम्पायर तथा स्कोररलाई प्रयोग गरिने उनले बताए । प्रतियोगिता अवधिभर खेलाडीहरु अनुशासनमा रहनुपर्ने बताउँदै श्रेष्ठले यदि कुनै खेलाडी खेलभावनाविरुद्ध कार्य गरेमा सम्पूर्ण म्याच फि काटिने बताए ।
प्रतियोगिताका प्रत्येक म्यान अफ दि म्याच खेलाडीलाई नगद १ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने छ । क्यानको नियमकानूनलाई अंगिकार गर्दै जीपीएल सञ्चालनको आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष यादवले बताए । ११ दिनसम्म जीपीएलअन्तर्गत १९ वटा खेल हुने अध्यक्ष यादवले जानकारी दिए ।
पत्रकार सम्मेलनमा रौतहट क्रिकेट संघका कोषाध्यक्ष विक्रान्त नेपाल, अम्पायर सागर यादव, टिमका कप्तानहरुसहित सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।
काठमाडौं : चौथो वरीयताका जयराम श्रेष्ठलाई हराउँदै डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जित्न सफल भएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा जयराम श्रेष्ठलाई ६/४ ले हराउँदै दिनेश उपाधि रक्षा गर्न सफल भएका हुन् । यो सिजन सानदार शुरुवात गरेका दिनेशको करियरको यो दोस्रो उपाधि हो ।
अनुभवी चौथो वरीयताका जयराम र तेस्रो वरीयताका दिनेशबीच १८ होलसम्म कडा प्रतिस्पर्धा चलेको थियो । नवौं होलको समाप्तिमा जयराम एक होलले अगाडि थिए । तर १८ होलको समाप्तिमा दिनेशले खेललाई बराबरीमा पुर्याए ।
यसपछि भने दिनेश खेलमा हाबी बने। १९औं होलमा करिब ३० यार्डबाट दिनेशले बर्डी प्रहार गर्दै एक होलको अग्रता बनाए । २३औं होलमा जयरामले पार जोगाउन सकेनन भने दिनेशले पारमा नै यो होल जितेर दुई होलको अग्रता बनाए । खेलमा फर्कन जयरामलाई जित जरूरी थियो । तर यसपछि २४ देखि २७ होल बराबरीमा सकियो ।
२८औं होलमा पार खेल्दै तीन होलको आरामदायी अग्रता दिनेशले बनाए । दबाबमा परेका जयराम खेलमा फर्कन सकेनन भने ३१औं होल पनि दिनेशले नै जित्दा ५ होलको अग्रता बनाए । यसपछि ३२औं होलमा खराब टी सट हानेसँगै जयरामले हार आत्मसात गर्दा दिनेशले ४ होल अघि नै उपाधि आफ्नो नाममा लेखाए ।
दिनेशले पहिलो चरणमा तोरण विक्रम शाही, क्वाटरफाइनलमा रबि खड्का र सेमिफाइनलमा रामे मगरलाई हराएका थिए । उपाधिसँगै दिनेशले नगद ६० हजार प्राप्त गरेका छन् । दोस्रो भएका जयरामले ४२ हजार हात पारे । दिनेशले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनमा प्रोफेसनलतर्फ पहिलो स्थान प्राप्त गरेका थिए । जारी टुरमा दुई मध्ये दुवे प्रतियोगितामा सानदार प्रदर्शन गर्दै सिजनको सुरूवात उत्कृष्ट गरेका छन् ।
सातौं वरीयताका रामे मगरले तेस्रो स्थान प्राप्त गरे । उनले १८ होलको प्रतिस्पर्धामा नवौं वरीयताका भुवन कुमार रोक्कालाई १८औं होलमा हराए । रामेले ३२ हजार र भुवनले २४ हजार पुरस्कार हात पारे ।
कुल २ लाख ५० हजार नगद पुरस्कार राशीको प्रतियोगितामा पहिलो चरणमा पराजित हुने आठ खेलाडीहरूले जनही ६/६ हजार प्राप्त गरे । क्वाटरफाइनलमा पराजित चार खेलाडीले जनही ११ हजार प्राप्त गरे ।
विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रा.लि.का मार्केटिङ म्यानेजर केशव प्रधान, एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, आरएनजीसीका अध्यक्ष मधुकर याक्थुम्बा, आरएनजीसीका क्याप्टेन मिथुन राई र आरएनजीसीका कोषाध्यक्ष रोशन श्रेष्ठले पुरस्कार वितरण गरे ।
काठमाडौं : जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी ठहर गर्दै फैसला सुनाएका हुन् ।
न्यायधीशले सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेका छन् । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । त्यसका लागि पुस २५ गते सुनुवाइ हुने छ ।
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ शुरु भएको थियो । बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर शुक्रबार पनि सुनुवाइ हुने भएको हो ।
काठमाडौं जिल्ला अदालतमा भइरहेको सुनुवाइमा जाहेरवालाको तर्फबाट १० जना वकिलले बहस गरिसकेका छन् । सन्दीपको तर्फबाट ६ जना वकिलले बहस गरिसकेका छन् भने अझै २ जनाको बाँकी छ ।
उनीहरूले बहस सकेपछि जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि न्यायाधीश शिशिरराज ढकालले फैसला सुनाउनेछन् । जवाफी बहस सकिए मुद्दाको फैसला आजै हुने छ ।
काठमाडौं : डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति र चौथो वरीयताका जयराम श्रेष्ठ सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधिका लागि भिड्ने भएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको सेमिफाइनल खेलमा तेस्रो वरीयताका दिनेशले १६औं होलमा जित आफ्नो पक्षमा पारे । उनले सातौं वरीयताका रामे मगरलाई ३/२ले हराउँदै लगातार दोस्रो पटक यो प्रतियोगिताको फाइनलमा स्थान बनाए । उनले नौ होलको समाप्तिमा दुई होलको अग्रता बनाइसकेका थिए । उपाधि रक्षा गर्न दिनेश अब मात्र एक जित टाढा रहेका छन् ।
अर्को सेमीफाइनल खेलमा चौथो वरीयताका जयराम श्रेष्ठले नवौं वरीयताका भुवन कुमार रोक्कालाई अत्यन्त प्रतिस्पर्धामक खेलमा अन्तिम होलमा हराए । नवौं होलको समाप्तिमा जयरामले एक होलको अग्रता बनाएका थिए । भुवनले पुनरागमन गर्दै १५ होलको समाप्तिमा एक होलको अग्रता बनाएका थिए । तर १६औं र १७औं होल आफ्नो पक्षमा पारेका जयरामले फाइनलमा स्थान सुरक्षित गरे ।
यसअघि बिहीबार नै भएको क्वाटरफाइनलमा नवौं वरीयताका भुवन कुमार रोक्काले अप्रत्याशित नतिजा निकाले । उनले पहिलो वरीयताका दाबेदार भुवन नगरकोटीलाई ४/३ ले हराए । जयरामले क्वाटरफाइनलमा पाँचौं वरीयताका सञ्जय लामालाई २/१ ले हराएका थिए ।
अर्को क्वाटरफाइनलमा दिनेश प्रजापतिले छैटौं वरीयताका रबि खड्कालाई अन्तिम होलमा हराउँदै संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका थिए। यस्तै रामे मगरले क्वाटरफाइनलमा १५औं वरीयताका प्रदीप कुमार लामालाई २/१ ले माथ दिए । प्रदीपले बुधबार पहिलो चरणमा दोस्रो वरीयताका नीरज तामाङलाई हराएका थिए ।
शुक्रबार दिनेश र जयरामबीचको फाइनल खेल ३६ होलको हुनेछ । तेस्रो स्थानका लागि भुवन र रामेबीच १८ होलको प्रतिस्पर्धा हुनेछ । कुल २ लाख ५० हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमशः ३२ हजार र २४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies