केशर धामी/मध्यान्ह
काठमाडौं : शुक्रबार बिहानै दूध बिक्रीका लागि बजार हिँडिरहेकी गोरखाकी मनमाया तामाङको टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भयो । गोरखा नगरपालिका–१० अमलापानीकी ५२ वर्षीया तामाङ पैदल हिडिरहेको अवस्थामा ग१ख ८०२७ नम्बरको टिपरले ठक्कर दियो । ठक्करबाट घाइते भएकी उनलाई ब्याक गरेर किचेर मारेको आरोप स्थानीयको छ । उक्त घटनापछि गोरखा अशान्त बनेको छ । आक्रोशित स्थानीयले २६ वटा टिपर र स्क्याभेटरमा तोडफोड र आगजनी गरे ।
शुक्रबार नै तनहुँमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । व्यास नगरपालिका–४ बागभञ्ज्याङमा ग.१ख ८६७८ नम्बरको टिपरको ठक्करबाट चितवनको भरतपुर नगरपालिका–६ गीतानगरका ४६ वर्षीया अनिता पाठकको ज्यान गएको हो । उनका श्रीमान् ४९ वर्षीय कृष्ण पाठक घाइते भएका छन् । उनीहरू दुवैजनालाई टिपरको पछाडिको पाङ्ग्राले किचेको स्थानीयको आरोप छ । दुई दिनअघि मात्रै १५ माघमा टिपरले सुर्खेतमा एक जनाको ज्यान लियो ।
कालिकोट महावै गाउँपालिका–३, सिमखेतका केशर सिंह सवार मोटरसाइकललाई पछाडिबाट तीब्र गतिमा रहेको भे१ख २२४२ नम्बरको टिपरले ठक्कर दिएको थियो । सिंहको मृत्युपछि आक्रोशित स्थानीयले टिपर आतंकको विरोध गर्दै सडक नै अवरुद्ध पारेका थिए । अवरुद्ध सडक खुलाउन सुर्खेत प्रहरीले गोलीसमेत चलाएको थियो । प्रहरीको गोली लागेर ८ जना घाइते समेत भए । हाल घाइते सबैको उपचार भइरहेको छ ।
त्यस्तै ९ माघमा कञ्चनपुरको महेन्द्रनगरमा टिपरकै ठक्करबाट एक युवतीको मृत्यु भयो । ज्यान गुमाउनेमा भीमदत्त नगरपालिका– १५, गोबरैयामा बस्ने २० वर्षीया रमिता भट्ट थिइन् । विवाहको कार्ड बाड्दै हिडेकी रमितालाई तीव्र गतिको से१क ८८७ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो । यी तीन घटना त प्रतिनिधि घटना हुन् । अचेल दिनहुँ टिपरको ठक्करबाट मानिसहरूले ज्यान गुमाइरहेका छन् । टिपरलाई यमराजको संज्ञा पनि दिन थालिएको छ ।
उपत्यकामा समेत टिपरका कारण दुर्घटना बढेको भन्दै सरकारले एक वर्षअघिदेखि चक्रपथभित्र टिपर चलाउनै रोक लगाएको छ । ट्राफिक महाशाखा र जिल्ला प्रशासन कार्यालयले चक्रपथभित्र बिहान ७ देखि बेलुका ८ बजेसम्म टिपर चलाउन रोक लगाएको थियो । त्यसयता उपत्यकामा दिउँसोको समयमा टिपर दुर्घटना घटे पनि रातिको समयमा भने दुर्घटना भइरहेको छ . टिपरचालकहरूका लापरवाहीका कारण देशभर नै टिपर दुर्घटना बढिरहेको छ ।
पछिल्लो चार वर्षमा सवारी दुर्घटनाकै कारण देशभर ८ हजार बढीले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांकअनुसार देशभर दैनिक साना ठूला गरेर ६० भन्दा बढी सवारी दुर्घटना हुने गरेको पाइएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७४ मा २ हजार ३ सय ८५ जनाले ज्यान गुमाएका थिए । त्यस्तै आव २०७४/७५ मा सवारी दुर्घटनामा मर्नेको संख्या ३ सयले बढेर २ हजार ५ सय ४० पुगेको थियो । आर्थिक वर्ष २०७५/७६ मा त्यो संख्या बढेर २ हजार ७ यस ८९ पुगेको थियो ।
चालू आार्थिक वर्षको पुस मसान्तसम्म ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यसमध्ये अधिकांश ठूलो सवारीसाधन दुर्घटनाका कारण ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म टिपरकै कारण काठमाडौं उपत्यकामा मात्र २४३ वटा सवारी दुघर्टना भएका छन् । ती दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् भने ७४ जना सामान्य घाइते छन् । गत वर्ष टिपरकै कारण ४३६ वटा दुर्घटना भएका थिए । जसमा २३ जनाले ज्यान गुमाएका थिए ।
ट्राफिक महाशाखाका प्रहरी उपरीषक एसपी जीवन श्रेष्ठले टिपरको आतंक रोक्न ट्राफिक प्रहरी सक्रिय रहेको बताए । तर, ट्राफिक प्रहरीमा रहेर लामो समय अनुभव गरेका पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथू भने टिपरको बनावट नै ज्यानमारा रहेको बताउँछन् । ‘टिपरको बनावट नै ज्यानमारा तरिकाले बनेको छ ।
त्यसमf चालकको लापरवाही पनि त्यति नै हुन्छ,’ हाछेथूले भने, ‘अन्य ठूला सवारीसाधनले मान्छेलाई ठक्कर दिँदा उछिट्टिएर जान्छन् तर टिपरले चक्कामा बेरेर मार्छ ।’ टिपरको अगाडिको भाग र चक्का नै ठूलो बनावटका कारण टिपरसँगको दुर्घटना हुँदा अधिकांशको ज्यान जाने गरेको उनको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies