काठमाडौं- रङहरूको पर्व होली आज तराई मधेसमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाइदैछ । भौगोलिक संरचनाअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा फागु र मधेशमा होली भनिन्छ । मैथिली भाषामा भने होलीलाई फगुआ र होरी भनिन्छ ।
होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । कोरोना संक्रमणको जोखिमका कारण भिडभाड नगरी होली पर्व मनाउन सरकारले आह्वान गरेको छ । तराई मधेसमा होली पर्व मनाउन सरकारले आज सोमबार सार्वजनिक बिदा दिएको छ । सबै प्रकारका भेदभावलाई भस्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वको रूपमा लिइने होली नवलपरासी, चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा मनाइँदै छ ।
सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित बुद्धिसागर भण्डारीले बताए । ‘असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ’, उनले भने ‘धार्मिक महत्व सँगसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ ।’ प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको भण्डारीले बताए । रस रङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies