–युवा बराल ‘अनन्त’, सिक्किम
पुराना यादहरू कहिले काँही आलो बनेर आउँछन् । धेरै भयो मकैको ढिँडोसँग सिस्नुको झोल मुछेर नखाएको । कोदोको रोटी–पदिना र रामभेडाको अचारसँग चोभेर नखाएको । नयाँ चामलको (जाउलोको) खोले भातमा गहुँको पिठोको डल्ला बनाई उमालेर नखाएको । बेपारीको पातमा मकैको रोटी पोलेर नखाएको । ती स्वादहरू अब कल्पना मात्र रहे । सम्झना मात्र । दुधमानेको डाँक्ला ताछेर फर्सीको मुण्टासँग मिसाएर मकैको भातसँग नखाएको झन कति भो कति ! कस्ता यादहरू !
तिर्खा जस्तो अनुभूति । एउटा अतृप्त तृष्णा । चाहेर पनि खान नमिल्ने स्थिति छ आजकल । त्यसको प्राप्ति अनुकुल छैन अब । असम्भव । चलन नै छैन । अप्राप्य । भनौं मासिएको, बिर्सिइएको छ या छोडिइएको एउटा पुरानो सभ्यता । ठूलो छलाङ्ग लिएको छ समयले । मेरै समयमा मेरै उमेरको आयतनभित्र पनि यत्रो परिवर्तन !
धेरै भयो हो‘ खानेतेलको रित्तो बोतल बोकी छिमेकी घरहरूमा एक औंली तेल पैंचो नमागेको । बिहानी उठ्दा एक सिन्का सलाईको अभावले तल्लो घर माथ्लो घरबाट झरिलो अगुल्ठोको आगो नल्याएको । घरमा पाहुना आउँदा एउटा बर्को ओडी परालको माचमा रात नकाटेको झन वर्षौं बित्यो । अनि पानी झरी पर्दा भएभरको भाँडा वर्तनहरू भेला पारी खरले छाएको छानाबाट चुहुन पुगेको प्रत्येक तप्कनाहरूमा यत्रतत्र थाप्न नपरेको अनि भाँडा नथापिएको ठाँउको पानी सोहोरेर झुम्रोमा निचोर्दै फाल्न नपरेको धेरै भयो ।
ओहो झण्डै बिर्सिएछु‘ वैशाखको तेजिलो हावाको निर्मम प्रहारले क्षतविक्षत घरको धुरीमा खरलाई चेप्ने बाँसको भाटालाई चोयाले कस्सेर नबाँधेको पनि वर्षौं बित्यो । घर लड्न लाग्दा तलतिरबाट अर्को नयाँ दह्रो बाँसको टेवा लाएको सम्झँदैछु यतिबेला । ती कस्ता अनुभवहरू थिए !
सुख बिर्सन्छ्न् रे मान्छेले छोट्टो ! तर दुःख पनि बिर्सिइँदो छ यति छिटै ! भने पछि, स्थायित्व के’मा छ र !
आमाको पोल्टाबाट निकै यत्नले साँचो चोरी ठूलो काठको बाकसबाट घीउ चिनी अनि मह चोरेर खाएको आलो याद छ । कस्तो अतृप्त भो हुन ती ! ती बालसुलभ खेल क्रिडाहरू गर्न नमिल्ने खल्लोपन छ यहाँ यतिबेला साँच्चै !
आहा ! त्यो आलो गोबर माटोले लिपेको घरको चुल्हाको गन्ध सुँघ्ने इच्छा लागेको महिनौं भयो । यो चिसो सिमेण्टले बनेको घरमा त्यो गन्ध कहाँ छ र ! बल्न नमानेको चिसो दाउराको पिरो धुवाँमा रूमलिन मन परेको पनि धेरै भयो । अगेनाको डिलमा बसेर आमैको मुखार्वृन्दबाट दन्तेकथा सुनिन्थ्यो । आमै हुनुहुन्न अब । अनि अगेना पनि ! दाउरा पनि बल्दैन यो घरमा । आगो अरू नै प्रक्रियाले बल्छ । भात पनि अर्कै प्रयोजनले पाक्छ ।
गमलाको कम्पोज मल अञ्जुलीभरी उठाएर सुँघें तर आएन खोजेको माटोको त्यो सुगन्ध । तिख्खर । अलकत्रे सडकको छेउभित्ता कोट्याएर खोजें त्यो वास्तविक माटो । आफ्नो माटो। आफ्नो तिर्जा । निजी । तर‘ ।
असारे हिलो खेतमा जिउभरी लछेप्रै हिलो नलागेको कति भो कति । दाँतेमाथि चडेर हाहाहोहो नकराएको‘ हाँसी रमाइलो नगरेको युग जस्तै पुरानो भो ।
कतै माटोको पनि तिर्खा लाग्छ ? तर मलाई अनौठो प्रकारले माटोको तिर्खा लागिरहेछ । ठाँउको । अस्तित्वको । जमीनको। स्वामित्वको। अधिकारको। स्वतन्त्रताको । स्वच्छन्दताको‘ ।
घर मालिकको अग्लो बिल्डिङ्गको टुप्पामा चढ़ेर जोडसित चिच्च्याउँ चिच्च्याउँ लाग्दैछ यतिबेला । भित्र कतै अल्झेको बोझ हो कि कुण्ठा हो कि वेदना हो कि पीडा । यस्तै के के’को वान्ता एकैसाथ ओकलौं ओकलौं लागिरहेछ । पोखौं पोखौं लाग्दैछ यो गह्रौं अट्टहास !
ठूलो, खुल्ला र सम्पूर्ण आकाश नदेख्नुको यो ऐंठन । आफ्नो नहुनुको आभासको अर्को तीब्र पराकम्पन । जति सम्झँदैछु उति लाम लागेर आउँदैछन् ती प्यारा–प्यारा, मीठा–मीठा सम्झनाहरू । मेरो धरातलको, मेरो शैशवको, आफ्नोपनको । जहाँ टेकेर म पहिलो पल्ट उभिएँ । जुन माटोको कोमल स्पर्श अनि उपयुक्त शिक्षाले म मान्छे बनेँ । सम्झिरहेछु‘ यतिबेला ती सबै–सबै । जान्दै बुझ्दै जाँदा; आफुबाट खोसिँदै गएका आफ्नापनहरू ! आफुले अधिकार जमाउन नसकेका निर्धापनहरू । बिडम्बनाहरू ! सम्झिरहेछु– ती सबै सबै माझ तिमीलाई पनि !
सुन्न चाहन्छु म तिम्रो पनि कथा । भनन् तिमी कुन माटोले मान्छे बनिएकी हौ ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies