२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

नक्कली डाक्टर पक्राउ, स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा हुन्थ्यो अवैध उपचार

Nada
२०८३ असार १० गते १९:२१
Shares
नक्कली डाक्टर पक्राउ, स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा हुन्थ्यो अवैध उपचार

काठमाडौं : चिकित्सा शिक्षाको कुनै पनि आधिकारिक उपाधि हासिल नगरी र नेपाल मेडिकल काउन्सिलमा दर्ता समेत नभई डाक्टरको भेषमा बिरामीको उपचार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

ncell

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ८ मा सञ्चालित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा कार्यरत ४७ वर्षीय चेतन ए.एम. (पौडेल)लाई नियन्त्रणमा लिएको हो ।

नेपाल मेडिकल काउन्सिल बाँसबारीले गरेको नियमित अनुगमनका क्रममा काठमाडौं जिल्ला साविक मातातीर्थ गा.वि.स. वडा नं. ७ स्थायी ठेगाना भएका पौडेलले अनधिकृत रूपमा चिकित्सकको उपाधि प्रयोग गरिरहेको फेला परेको थियो । काउन्सिलको छानबिनका क्रममा उनले कुनै पनि चिकित्सकीय उपाधि प्राप्त नगरेको र काउन्सिलको दर्ता प्रमाणपत्र समेत नलिएको पुष्टि भएको छ ।

पौडेलले बिरामीहरूको आधुनिक चिकित्सा पद्धतिबाट रोगको निदान, उपचार र औषधि सिफारिस समेत गर्ने गरेको प्रमाण फेला परेपछि काउन्सिलले आवश्यक कारबाहीका लागि ब्युरोमा प्रतिवेदनसहित उजुरी दिएको थियो ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर ब्युरोको टोलीले पौडेललाई असार ९ गते मंगलबार चन्द्रागिरी नगरपालिका वडा नं. ८ बाट पक्राउ गरेको हो । उनलाई अहिले मुलुकी अपराध संहिता, २०७४ को 'इलाज सम्बन्धी कसुर' अन्तर्गत अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.ले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर