–दमयन्ती मैनाली फयेल
आमाको नाकको फूली खोलेर, उसले भूँईमा लडिरहेकी आमालाई नाघेर हतार–हतार बजार तिर लाग्यो । एउटा सुन पसलेकहाँ गएर एकछिन टक्क अडियो । दुई/चार जनाले पसलमा सामान हेर्दै रहेछन् । एकान्त भएपछि कुरा गर्न उचित हून्छ उसले सोंच्यो ।
“साहूजी एउटा फूली बेच्नु पर्यो ।”
“यहाँ, नचिनेका सँगबाट सुन खरिद हूँदैन । तपाईँ जान सक्नुहून्छ ।”
पसलेको रूखो व्यवहार देखेर उसलाई धेरै रिस उठ्यो । “पर्ख बाँचिराखिस् भने आजको बदला अवश्य लिन्छु”, विस्तारदै फलाक्दै उ निस्कियो । अलिक पर सानो पसल देख्यो ।
“साहूजी, यो फुली बेच्न आएको ।”
“चोरी सामान यहाँ खरिद हुँदैन ।”
“चोरेको होइन साहूजी, यो मेरो आफ्नु हा ।”
“ए फूली पो लाउने गरेको थियो । फटाहा ढाँटछस् ? कसको चोरेर ल्याइस् भन ?” नत्र पुलिसलाई खबर गर्छु ।
“यो जाबो फूली ल्याउँदा पनि पुलिस बोलाउने ? यो मेरी आमाको हो । रक्सीको तलतल लागेर ल्याएको । जाबो यत्रो पसलेको पनि कत्ति फुई क्या ! बेचदिन म तपाईं कहाँ !” भन्दै उ त्यहाँबाट हिँड्यो ।
परबाट लखर लखर धनेलाई आएको देखेर रक्सी पसलवाला थापाले बुढीलाई भने, “ऐ बुढी, त्यो धने एतै आउँदै छ । त्यसलै पैसा हूँदा अरूकोमा खान्छ र आज रित्तो गोजी भएर यता आएको जस्तो छ । त्यसलाई पसलमा छिर्नै नदे है ।”
“अँ... त्यसको पुरानै पचास रुपैयाँ बाँकी छ ।”
धने छेउ पर्ना साथ दुबैका ओँठ मुस्काउछन् ।
“अनि कता धने..?” पसलभित्र पस्ने साथ उ एउटा टेबलमा बस्यो ।
“लौ साहूनी, एक गिलास लोकल पाउँ त ।”
“भर्खरै सकियो त । ए साँच्चै अस्तिको पचास दिएर जाऊ है । रक्सी बनाउन पैसा नभएर आपत् पर्यो ।”
“यत्रो ठूलो पसलको साहूनी भएर पनि के..सारो गरेको हौ..! भै गो हाम्री साहूनीको पैसा तिर्छु भनेरै आएको । यता आऊनु त साहूनी यो सुनको फुलीको कति पैसा दिनुहून्छ भन्नुहोस त ।”
“ए, यो जाबो फुलीको कति हून्छ भन्नु ? सय रुपैयाँ दिन्छु ।”
“सुनको मूल्य पनि सय रुपैयाँ ? भयो बेच्दिन भनेर हिँडन लागेको देखेर साहूजीले झम्टिदै भने, “खोई कस्तो फूली ? कसको हो ? ए, ठीकै छ । यसरी लगाको सुन बेच्न जाँदा पुलिसमा दिन्छन् कि भन्ने डर हून्छ । एउटा काम गरौँ । साहूनी, पहिले एक गिलास रक्सी दे, अनि भाईलाई फूलीको डेढ सय दे ।”
“यसरी सुन किन बेच गर्न कम खतरा छ भाई ?”
बीस रूपैयाँको थप रक्सी पिएर ऊ त्यहाँबाट हिँड्यो । जति सक्यो छिटो छिटो उसलाई घर पुग्नु छ । किनकी आमालाई उसले बेहोस पारेर नाकको फूली खोसेको थियो । जड्याहा भनेर काम गर्न कसैले दिँदैनन् । घरमा खान छैन । आमाले बनीबुतो गरेको पैसाले जसो तसो दुई छाक नून भात खाँदै थिए । तर, उसको शरीर रक्सी पीउन नपाउँदा पागल झैँ हुन्छ । केही बेच्ने छैन । कहिले चोरेर, कहिले मागेर र कहिले घरको समान बेचेर पनि उ रक्सी पीउन बाध्य छ । त्यहाँबाट निस्किएर धनेले आमाको लागि एउटा पाउरोटी किन्यो । आमा छोरा चियासँग खाने भनेर । घरमा पुग्दा आँगनमा धेरै मान्छेको हुल देखेर कौतुहलको साथ उ अघि बढ्यो । उसकी आमाको शवलाई घेरेर बसेकाहरूले उसलाई देख्ता बाटो छोड्दै गए । उसले देख्यो आमाको मुख खुलेको थियो, केश छरपट्ट थियो । हातको मुठीमा बिहान उसले ल्याएको निद्राको गोलीको डिब्बा थियो । आमाको अनुहार हेरेको हेरै भयो उसले ।
मरेर पनि उसकी आमाका खुल्ला आँखाले भन्दै थिइन्, “मैले तेरो बाटो खुला गरिदिए धने ! अब तँ जसरी चाहान्छस् बाँच्न सक्छस् । तैँले मेरो लागि ल्याएको सबै गोली मैलेखाइदिएँ । अब खान केही थिएन अनि के खानु ? यदि दिन कराएर पनि बाटो नदेख्ने अब यो काम क्रियाबाट कसरी उक्सन्छस् ? भोलिको छाक कसरी टार्छस् ? तँलाई यो समाजबाट साथ दिने कोही हँदैनन् । भोलिको दिनमा तेरो हाल पनि मेरै जस्तो हाल हुन्छ ।”
उसले धेरै हेर्न सकेन । गएर आमाका आँखा बन्द गर्ने प्रयास गरेर पनि बन्द नहुँदा आमाको आँचलले मुख छोपिदियो । उसको मस्तिष्क चल्दै थियो, “अब यही घरभेटी बेचेर आउने दिनको जोगाड गर्नुपर्ला ।”
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies