एजेन्सी : टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् । बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ ।
दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बिहीबार बिहान सार्वजनिक गरेको तथ्याङ्कमा सो जानकारी दिइएको समाचारमा जनाइएको छ । बिहीबार बिहानसम्म टर्कीमा भूकम्पबाट ज्यान जाने नागरिक १२ हजार तीन सय ९१ जना पुगेका छन् । टर्कीको बिपत व्यवस्थापन विभागलाई उद्धृत गर्दै सो समाचार दिइएको छ ।
त्यस भूकम्पबाट टर्कीका धेरैको मृत्यु भएको बताइएको छ । टर्कीका राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी १२ हजार तीन सय ९१ जनाको मृत्यु भएको छ । यसअघि टर्कीको विपद् व्यवस्थापन निकायले ४४ हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो । घाइते भएकाहरु अस्पताल पुर्याइएको छ र अस्पतालमा नै मानिसहरुको निधन भएका समाचारहरु आइरहेका छन् ।
उता सिरियामा पनि सो भूकम्पमा परी बिहीबारसम्म ज्यान जाने व्यक्तिको सङ्ख्या एक हजार दुई सय नाघेको छ । त्यहाँ दुई हजार जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७।७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६।४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
टर्की र सिरियामा सोमबार गएका दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि जुटेका छन् । धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् ।
यसै क्रममा चिनियाँ उद्धार टोली पनि चार्टर्ड विमानबाट टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधबार अदाना विमानस्थलमा आइपुगेको छ ।
उता अमेरिकी अधिकारीहरुले पनि उद्धारको कामका लागि अमेरिकी टोली पठाइएको बताएकमा छन् । संयुक्त राष्ट्रसङ्घले पनि विभिन्न सहायता एजेन्सी पठाएर सहयोग गरिरहेको जनाएको छ । सिन्ह्वा
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies