एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन अचानक युक्रेनको राजधानी किएभ पुगेका छन् । बाइडेन सोमबार युक्रेनसँग जोडिएको पोल्याण्डको सीमाबाट रेल चढेर किएभ पुगेका हुन् । सुरक्षाका कारण उनको भ्रमण गोप्य राखिएको थियो ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीहरूले यसअघि राष्ट्रपति बाइडेन एउटा कार्यक्रमका लागि वार्सा पुग्ने जानकारी मात्रै दिएको थियो । तर निर्धारित योजनाभन्दा पहिला नै पोल्याण्ड पुगेका बाइडेन रेल चढेर किएभ गएका हुन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो टेलिग्राम खातामा बाइडेनसँग हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गरेका छन् । ‘जोसेफ बाइडेन, (तपाईंलाई) किएभमा स्वागत छ, तपाईंको भ्रमण सबै युक्रेनीहरूको लागि समर्थनको अत्यन्त महत्वपूर्ण संकेत हो,’ उनले लेखेका छन् ।
अमेरिकी राष्ट्रपति बाइडनले आफ्नो किएभ भ्रमणले युक्रेनको लोकतन्त्र, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रतिको हाम्रो अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने बताएका छन् । एक वर्षअघि युक्रेनमाथि आक्रमण गर्दा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सजिलै युद्ध जित्ने सोचे पनि त्यस्तो हुन नसकेको बाइडेनको भनाइ छ ।
‘एक वर्षअघि रुसले आक्रमण शुरु गर्दा पुटिनले युक्रेन कमजोर रहेको र पश्चिमा राष्ट्रहरू विभाजित रहेको ठानेका थिए । उनले हामीलाई परास्त गर्न सकिने ठानेका थिए । तर उनी पूर्ण रूपमा गलत थिए,’ बाइडनले भने । विज्ञप्तिमा रुसमाथि थप प्रतिबन्धहरू लगाइने समेत उल्लेख गरिएको छ ।
रूसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्न लाग्दा बाइडेनले किएभमा गरेको भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ । गत वर्ष फेब्रुअरी २६ मा रूसले युक्रेनमाथि आक्रमण शुरु गरेको थियो । रुसविरुद्ध लड्न युक्रेनलाई अमेरिका, बेलायतलगायत पश्चिमा र नेटो राष्ट्रले सैन्य तालिम र सामग्री दिँदै आएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies