दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै जिम्बावेमा आयोजना हुने विश्वकप छनोटको यात्रा तय गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा यूएईलाई डीएल पद्दतिको आधारमा ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको हो ।
लिगको अन्तिम खेल भएकाले खेलाडीलाई हौसला दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड क्रिकेट मैदानमा पुगेका थिए । उनीसँगै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका विशिष्ट व्यक्तिलगायत हजारौं दर्शकहरु खेल हेर्न क्रिकेट मैदानमा पुगेका थिए ।
यूएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ४४ ओभरमा छ विकेटको क्षतिमा २६९ रन बनाएको थियो । त्यसपछि पर्याप्त प्रकाश नभएका कारण अम्पायरले खेल रोकेपछि नेपाल डीएल पद्दतिको आधारमा विजयी भएको हो ।
नेपालका लागि कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की र गुलशन झाले अर्धशतकीय इनिङ खेले । कुशलले ५० रन बनाए भने आरिफले ५२ रन तथा भीमले ६७ रनको योगदान दिए । गुलशन ५० रनमा अविजित रहे ।
त्यसैगरी कप्तान रोहित पौडेल १६ रनमा आउट हुँदा कुशल मल्लले पाँच रन जोडे । दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे । यूएईका जुनेद सिद्दिकीले तीन विकेट लिए । त्यस्तै आयान अफजल खानले दुई तथा जाहोर खानले एक विकेट झारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । एकदिवसीयमा नेपालविरुद्ध कुनैपनि टोलीले बनाएको यो सर्वाधिक ठुलो योगफल हो । यस अघि नेपालविरुद्ध पीएनजीले २ सय ९२ रन बनाएको थियो ।
यूएईका लागि आसिफ खानले शतकीय इनिङ खेले । विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा ११ छक्का र ४ चौकासहित अविजित १ सय १ रन बनाए । यस्तै भ्रित्य अरबिन्दले ९४ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मुहमद वासिमले ६३ रनको अर्धशतकीय इनिङ खेले । रोहन मुस्तफा २० रनमा आउट भए । सिपि रिजवान ७, आर्यन लाक्रा ६ र आयन अफजल खान ३ रनमा आउट भए ।
नेपालका दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले १÷१ लिए ।
यूएईलाई हराएसँगै नेपाल लिग टू को तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुग्न सफल भयो । सन् २०१९ बाट शुरु भएको लिग टू मा नेपालले ३६ खेलमा ४० अंक जोड्यो । यूएईले ३६ खेलमा ३३ अंक जोडेर छैटौं स्थानमा रहदै लिग टू को अन्त्य गरेको छ ।
लिग टू को उपाधि स्कटल्याण्डले जित्यो । शीर्ष स्थानमा रहेको स्कटल्याण्डले ५० अंक जोड्यो । ओमान पनि ४४ अंक जोडेर दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगिसकेको छ ।
विश्वकप छनोट आगमी जुन जुलाईमा जिम्बावेमा हुनेछ । यूएई, नामिबिया, अमेरिका र पपुवा न्युगिनीले प्लेअफ क्वालिफायर खेल्नुपर्ने भएको छ । नामिबियामा यसै महिना अन्तिममा हुने प्लेअफमा शीर्ष दुईमा पर्न सके पुनः विश्वकप छनोट खेल्न पाउनेछन् ।
जिम्बावेमा आगमी जुन जुलाईमा हुने छनोटमा कुल १० टोली हुन्छन् । विश्वकप छनोटमा सुपर लिग–२ का पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरि कुल १० टोली हुनेछन् ।
जिम्बावेमा हुने छनोटमा कुल १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट हरेक समूहबाट शीर्ष तीन तीन टोली सुपर सिक्समा स्थान बनाउँछन् । सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।
ठाउँ ठाउँमा दीप प्रज्वलन
नेपालले विश्वकप छनोटमा स्थान बनाएको खुसीयालीमा देशका बिभिन्न ठाउँमा दीप प्रज्वलन भएको छ । युवाहरूले दीप प्रज्वलन गरेका हुन् ।
कैलालीको पहलमानपुरमा खेलकुद प्रेमी युवाहरूले दीप प्रज्वलन गरेर नेपालको जितमा खुसीयाली मनाए ।
दीप प्रज्वलन गरेर नेपालको जितमा खुसीयाली मनाउँदै कैलालीको पहलमानपुरमा खेलकुद प्रेमी युवाहरू
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies