काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले जितेका छन् । अन्तिम दिन २–अन्डर ७० स्कोर गर्दै समग्रमा २३–अन्डर २ सय ६५ मा उपाधि जितेका हुन् । यो स्कोरमा उनले सुर्य नेपाल गल्फ टुरमा ७२–होलको स्कोरको रेकर्ड समेत बराबरी गरे । सन् २००८ को सुर्य नेपाल मास्टर्समा भारतीय समिम खानको २३–अन्डरको रेकर्ड बराबरी गरेका हुन् । यही प्रतियोगिताको दोस्रो दिन भने उनले ११–अन्डर ६१ खेल्दै नयाँ कोर्स रेकर्ड बनाएका थिए ।
भुवन नगरकोटीलाई ४ स्ट्रोकले हराउँदै करिअरको ११औं उपाधि जित्दा शुक्रले १ लाख ४० हजार प्राप्त गरे । ४–अन्डर ६८ अंक जोड्दै समग्रमा १९–अन्डर २ सय ६९ सहित दोस्रो भएका भुवनले ९० हजार हात पारे ।
४–अन्डर ६८ सहित समग्रमा १५–अन्डर २ सय ७३ मा सदभाव आचार्य तेस्रो भए । समग्रमा तेस्रो भएका १६ वर्षिय युवा गल्फर सदभावले पहिलो पटक एमेच्योरतर्फको उपाधि जितेका हुन् । उनले नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङलाई एक स्ट्रोकले हराउँदै उपाधि जितेका हुन् । सुबाशले ७–अन्डर ६५ को स्कोर कार्ड बनाए । समग्रमा १४–अन्डर २ सय ७४ सहित चौंथो स्थान प्राप्त गरे। एमेच्योरतर्फ उनी दोस्रो भए ।
प्रोफेसनलतर्फ समग्रमा २–ओभर २ सय ९० सहित निरज तामाङ तेस्रो भए। उनले २–ओभर ७४ मा खेल सकाए। निरजले ६७ हजार प्राप्त गरे । ९–ओभर ८१ को खराब प्रदर्शन गरेका जयराम श्रेष्ठले समग्रमा ५–ओभर २ सय ९३ सहित चौंथो स्थानमा प्रतियोगिता सकाए । उनले ५५ हजार नगद जिते । यसैगरी ४–ओभर ७६ सहित समग्रमा २ सय ९४ सहित टंक बहादुर कार्की पाँचौ भए । १–ओभर ७३ खेल्दै ६–ओभर २ सय ९४ सहित रामे मगर छैटौं भए । यस्तै ९–ओभर ८१ स्कोर गर्दै ८–ओभर २ सय ९६ सहित शिवराम पौडेल सातौं भए। पाँचौ, छैटौ र सातौ भएका खेलाडीहरुले क्रमश ४७ हजार, ४० हजार ५ सय र ३७ हजार प्राप्त गरे ।
समग्रमा १०–ओभर २ सय ९८ सहित सञ्जय लामा, बलभद्र राई र रबि खड्काले आठौं स्थान बाँडे । उनीहरूले जनही ३२ हजार प्राप्त गरे । सञ्जयले १०–ओभर ८२, बलभद्रले ५–ओभर ७७ र रबिले १–अन्डर ७१ मा अन्तिम दिनको खेल सकाए ।
शुक्रले १–ओभर ३७ मा फ्रन्ट नाइनको खेल सकाए । पहिलो होलमा नै बोगी खेपेपनि दोस्रो, तेस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे । छैटौ होलमा एक सट खेर फाल्दा ३–पारको आठौं होलमा ट्रीपल बोगी खेपे । नवौं होलमा भने एक सट बचाए । यसपछि ११औं, १२औं र १५औं होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याक नाइन ३–अन्डर ३३ मा पूरा गरे ।
भुवनले फ्रन्ट नाइन २–अन्डर ३४ मा पूरा गर्ने क्रममा आठौं होलको बोगीका विरूद्ध तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । यसपछि १५औं र १६औ होलमा एक–एक सट बचाउँदै ब्याक नाइन २–अन्डर ३४ मा पूरा गरे ।
राष्ट्रिय टिमका सदस्य सदभावले करियरकै उत्कृष्ट नतिजा निकाल्ने क्रममा अन्तिम दिन फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए। तेस्रो र छैटौ होलमा बर्डी प्रहार गर्दा पाँचौ र नवौं होलमा बोगी खेपे भने उनले ५–पारको सातौ होलमा इगलको सफलता प्राप्त गरे । यसपछि सदभावले ११औं, १२औं र १५औं होलमा एक–एक सट बचाए भने १७औं होलमा बोगी प्रहार गर्दै ब्याक नाइन पनि २–अन्डर ३४ मा पूरा गरे ।
सुबाशले ७–अन्डर ६५ को सानदार नतिजामा फ्रन्ट नाइनको खेल सकाए। उनले पहिलो, तेस्रो, चौंथो, छैटौं, सातौं र आठौं होलमा कुल ६ बर्डी प्रहार गरे । पाँचौ होलमा भने बोगी खेपे। उनले ब्याक नाइन २–अन्डर ३४ मा पूरा गरे । ११औ र १४औ होलमा एक–एक सट बचाए भने ५–पारको १२औं होलमा इगलको सफलता प्राप्त गरे। तर सुबाशले १५औं र १८औं होलमा बोगीको सामना गरे ।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा सम्पन्न प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा उत्कृष्ट २१ मा पर्ने प्रोफेसनल खेलाडीहरूले नगद पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरुलाई सुर्य नेपालका मार्केटिङ भाइस–प्रेसिडेन्ट दीप्रा लहीरी तथा पीजीए नेपालका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies