कास्कीः कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरुलाई यसको प्रयोगबारे जानकारीसमेत दिएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । महानगरले हाते ट्याक्टर दुई सय ६१ थान, कम्बाइन मिल ६२ थान, थ्रेसर छ थान, ग्रास कटर एक सय आठ थान, पावर स्प्रे ३० थान, तेल पेल्ने मेसिन छ थान र ड्याङ बनाउने मेसिन २९ थान अनुदानमा उपलब्ध गराएको छ ।
कृषि महाशाखाले पोखरा महानगरका २५ वडाका कृषकलाई मागका आधारमा ती उपकरण प्रदान गरेको हो । कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले महानगरले ती उपकरण अनुदानमा दिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । किसानलाई खेती गर्न सहज होस् भनेर कृषि उपकरण प्रदान गरिएको हो ।
‘किसानले गोरु पाल्न छाडे । परम्परागतरूपमा खेती लगाउँदा समय धेरै लाग्छ, खेतीलाई सरल र सहज बनाउन कृषि उपकरण दिएका हौँ । यसले समय कम लाग्छ । खर्च पनि कम हुन्छ’, प्रमुख आचार्यले भने । कृषिमा यान्त्रीकरण, व्यावसायीकरण र बजारीकरण गर्नुपर्नेमा उनले जोड दिए । ‘कृषिमा यान्त्रीकरण गर्नसके लागत घट्छ, मुनाफा बढ्छ’, आचार्यले भने ।
अनुदान सहयोगमा हाते ट्याक्टर प्राप्त गरेकी पोखरा महानगरपालिका–३३ की कृषक ज्योति गुरुङले समय र पैसा बचत हुने बताए । ‘गाउँमा हाते ट्याक्टर थिएन । पालो कुरेर अरुलाई बोलाउनुपर्ने अवस्था थियो । अनि एक घण्टाको एक हजार रुपैयाँसम्म तिरियो, अब पैसा र समय बचत हुने भयो’, उनले भनिन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies