–बलराम तिमिल्सिना
करोडौं जनाको पसिना
लाख जनामा जम्मा गर्छ
लाख जनाको कमाई
हजार जनामा जम्मा गर्छ
र हजार जनाको पनि कमाई
सयमा थुप्रो लगाउँछ
पूँजीवाद, धनीलाई अझ बढी धनी
र गरीबलाई अझ बढी धनी हुने राज चलाउँछ !
पूँजीवाद, घरभित्र घरकैलाई लुट्छ
गाउँभित्र गाउँलेलाई नै लुट्छ
सहरभित्र सहरकैलाई लुट्छ
देशभित्र देशकैलाई लुट्छ
पृथ्वीभित्र पृथ्वीभरीकालाई लुट्छ !
धन लुट्नु, खुसी लुट्नु
स्वतन्त्रता लुट्नु, समानता लुट्नु
सार्वभौमिकता लुट्नु, हाँसो लुट्नु, आँसु पनि लुट्नु
रगत पसिना लुट्नु, झण्डा लुट्नु, नारा लुट्नु, सपना लुट्नु
तपाईको दिमागभित्र खेलिरहेको
कल्पना पनि लुट्नु
लुट्नु, लुट्नु र लुटिरहनु
पूँजीवादको जीवनचर्या हो !
लुट्न सजिलो होस् भनेर पूँजीवाद
तिमीलाई चुला चौकाबाट बजारमा बोलाउँछ
र बजारमा एक्लै पारेर लुट्छ ।
लुट्न सजिलो होस् भनेर
तिमीले यस्तो कपडा लगाउनू भन्छ
यस्तो श्रृङ्गार गर्नू भन्छ
यस्ता गहना लगाउनु भन्छ
चाड यसरी मन्नू भन्छ
यसरी हिँड्नु, यसरी खानु
यो यो खानु, यहाँ यहाँ खानु
यसरी हाँस्नु, यसरी रुनु, यसरी सोच्नु
यसरी मस्कनु, यसरी छिल्लिनु
तिमीलाई जम्मै जम्मै कुरा सिकाउँछ ।
लुट्न सजिलो होस् भनेर
पुरुषलाई बलात्कारको तालिम दिन्छ
पूँजीवादको गुँढबाट हुर्केपछि
हरेक पुरुष
कुनै न कुनै प्रकारको बलात्कार योग्य बन्छ
लुट्न सजिलो होस् भनेर
महिलालाई बलात्कृत हुन सजिलो बनाउँछ
पूँजीवादको काँखमा हुर्केका
अधिकांश महिलाहरू
कुनै न कुनै रूपमा
र कुनै न कुनै स्तरमा बलात्कारमैत्री बन्न पुग्छन् ।
लुट्न सजिलो होस् भनेर
पूँजीवादले, आकर्षक आकर्षक स्वतन्त्रताको घोषणा गर्छ
आकर्षक आकर्षक माल र सेवाको
आकर्षक आकर्षक विज्ञापन गर्छ
आकर्षक आकर्षक विज्ञापन गर्न
आकर्षक आकर्षक युवतीहरूलाई
आकर्षक आकर्षक पहिरनमा
आकर्षक आकर्षक चालढालमा
आकर्षक आकर्षक मस्काईमा
आकर्षक मञ्चमा प्रस्तुत गर्छ
र हामी सबैलाई
नैतिक तथा भौतिक, हरेक प्रकारले
एकै पटक टाट पल्टाउँछ !
पूँजीवाद, तपाईंलाई जरु नै नपरेको कुरालाई
एकदम जरुरी हो झैं बनाउँछ
तपाईंको भोक निद्रा खाइदिन्छ
र तपाईंलाई बजारमा डाक्छ
एउटै मान्छेलाई, एउटै काम गर्ने कुरा
सय पटक बेच्छ र माग्ने बनाएर छोड्छ ।
पूँजीवाद हामीलाई, दूध बेचेर कोक खान सिकाउँछ
स्याऊ बेचेर चाउचाउ खान सिकाउँछ
किताब पढ्न छोडेर, नीला फिल्महरू हेर्न पल्काउँछ ।
पूँजीवाद, एक हातमा स्वतन्त्रताको झण्डा
र अर्को हातमा रक्तपातको तरबार बोक्छ
मुखमा मानव अधिकार
र मन मनमा मानब बेचबिखन बोक्छ
र हामी सबैलाई पालैपालो लुट्छ ।
पूँजीवाद इन्द्रजाल गर्छ
छोरालाई लुटिरहेको बेला, बाबु हाँसिरहने
छोरीलाई लुटिरहेको बेला, आमालाई थपडी बजाउने
छिमेकीलाई लुटिरहेको बेला, छिमेकीलाई भोजभतेर गर्ने
एउटा मजदूरलाई लुटिरहेको बेला
अर्को मजदुर मोबाइलमा हराइरहने बनाउँछ
यसरी पूँजीवाद
हामीभित्रको विवेक झिकेर लैजान्छ
र उपभोक्तावादी उत्तेजना हालिदिन्छ
त्यसपछि हामी बजार धाउँने रोगको शिकार बन्छौं ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies