एजेन्सी : चिनियाँ सेनाले ताइवानलाई घेरा हाल्ने अभ्यास शुरु गरेको छ । चीनको यो तीन दिने सैन्य अभ्यास ताइवानका राष्ट्रपति साई इङ–वेन अमेरिका भ्रमणबाट फर्केको केही घण्टापछि शुरु भएको हो । त्यसैले चीनले यो अभियानलाई ताइवान सरकारका लागि ‘कडा चेतावनी’ भनेको छ ।
ताइवानका रक्षामन्त्रीले चिनियाँ सेनाका ४२ विमान र ८ जहाजले ‘ताइवान स्ट्रेट मेडियन लाइन’ पार गरेको जानकारी दिएका छन् । समुद्रको बीचमा बनेको यो गैर–आधिकारिक लाइनले ताइवानलाई चीनबाट अलग गर्छ । चीनको सरकारी मिडियाका अनुसार यो सैन्य अभ्यास ताइवानको टापु वरिपरि हुनेछ । ताइवान वरिपरि चीनको तीन दिने सैन्य अभियानलाई ‘युनाइटेड शार्प स्वर्ड’ भनिएको छ । यो अभियान सोमबारसम्म चल्ने पिपुल्स लिबरेसन आर्मी (पीएलए)को पूर्वी थिएटर कमाण्डले जनाएको छ ।
यस अभ्यासमा चिनियाँ सेनाले लामो दुरीका रकेट, नौसेना विध्वंसक, मिसाइल डुंगा, वायुसेनाका लडाकु, बमवर्षक, ज्यामर र इन्धन भर्ने सवारी साधनहरू तैनाथ गरेको छ ।
ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न देश ठान्दछ । यद्यपि चीनले ताइवान आफ्नो हिस्सा भएको दाबी गर्दै आएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानसँगको ‘पुनः एकीकरण’ पूरा गर्नुपर्ने बताएका छन् ।
चीनले प्रायः ताइवानको वरिपरि यस्तो खालको सैन्य अभ्यास गर्ने गर्छ । तर यसपटक ताइवानकी राष्ट्रपतिले बुधवार अमेरिकी तल्लो सदनमा सभामुखसँग भेटेपछि त्यसको प्रतिक्रियास्वरुप अहिलेको सैन्य अभ्यास गरेको ठानिएको छ ।
ताइवानी राष्ट्रपति शनिबार उनको सरकारले अमेरिका र अन्य लोकतान्त्रिक राष्ट्रहरूसँग काम गरिरहने बताएकी छन् । उक्त टापुले चीनबाट निरन्तर अधिनायकवादी विस्तारवादको सामना गरिरहेको उनको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies