ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्ला उद्योग वाणिज्य संघले सदरमुकाम सिमकोटमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई सामानको मूल्य निर्धारण गरेर परिपत्र गर्दा पनि उक्त मूल्यमा सामान उपभोक्ताले नपाएको गुनासो गरेका छन् ।
उद्योग वाणिज्य संघ हुम्लाले वैशाख ४ गते ३९ प्रकारका दैनिक उपभोग हुने सामान तेल, चिनी, मसला, चाउचाउ, पेयपदार्थ, खसीको मासु, कुखुराका मासु, अण्डाको मूल्य निर्धारण गरेको थियो । तर पुरानै शैली, मनोमानी ढंगले व्यवसायीले उपभोक्ताबाट पैसा लिने गरेको उपभोक्ता प्रवजन शाहीले बताए । उनका अनुसार उद्योग वाणिज्य संघले व्यवसायीको पसल अगाडि मूल्य निर्धारण टाँसेको भएपनि त्यसको कुनै वास्ता नगरेर मनोमानी तरिकाले मूल्य लिने गरेका छन् ।
यता उद्योग वाणिज्य संघ जिल्ला अध्यक्ष रामबहादुर भण्डारीले भने,‘एक हप्ता अगाडि मात्रै मूल्य निर्धारण गरेका हौं । तर यसलाई कार्यान्वयनमा ल्याउन जिल्ला प्रशासन कार्यालय र सिमकोट गाउँपालिकाले अनुगमन गर्नुप¥यो । मूल्य निर्धारण गरेको मूल्यमा उपभोक्ताले पाउने वातावरण मिलाउनु पर्यो भनेर परिपत्र दिँदा पनि कुनै वास्ता नै गरिएन ।’
अध्यक्ष भण्डारीले बजारमा निर्धारण गरेको मूल्यमा सामान नपाउने सेवाग्राहीबाट गुनासो आएपनि संघले त्यस्ता व्यवसायीलाई कारबाही गर्न नसक्ने बताए । कारबाही गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, गाउँपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयलाई अधिकार भएपनि अहिलेसम्म कुनै कार्यान्वयन गर्न हुन नसकेको बताए ।
सिमकोट राष्ट्रिय सडक मार्गमा जोडिन नसकेको भएपनि सामान पैदल मार्गबाट आउने हुँदा ढुवानी सस्तो पर्दा मूल्य निर्धारणको सुरुवात संघले गरेपनि सम्बन्धित निकायबाट पालना नदेखिएपछि सेवाग्राहीले चर्काे मूल्यमा सामान लिनुपर्ने बाध्यता रहेको छ । त्यस्तै म्याद गुज्रिएको स्वास्थ्यलाई हानी गर्ने बस्तु बजारमा पाउने भएपनि त्यसमा कुनैको ध्यान नगएको देखिन्छ । उद्योग वाणिज्य संघले मूल्य सदरमुकामलाई मात्र लक्षित गरेर निर्धारण गरिएको छ भने जिल्लाका ६ वटा नाम्खा, खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली र ताजाकोट गाउँपालिकामा भने यो मूल्य निर्धारण उपयुक्त नभएको देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies