–बलराम तिमल्सिना
भो फाइल नखोल
फाइलभित्र कमरेड हुनुहुन्छ
फाइलभित्र कमरेड नाङ्गै हुनुहुन्छ
फाइलभित्र नाङ्गै बसेर
कमरेड समृद्धिको सपना देख्दै हुनुहुन्छ !
भो फाइल नखोल
फाइलभित्र कमरेडका छोरा छन्
फाइलभित्र कमरेडनी पनि हुनुहुन्छ
कमरेडनी पनि कान्छी कमरेडनी
तिनीहरू पनि नाङ्गै छन्
फाइलभित्र नाङ्गै बसेर तिनीहरू
कमरेडको समृद्धिको बिरुवामा
मल हाल्दै छन्÷पानी हाल्दै छन् ।
फाइल नखोल भनेको सुनेनौ ?
फाइलभित्र जय नेपाल जी हुनुहुन्छ
फाइलभित्र जय नेपाल जी नाङ्गै हुनुहुन्छ
नाङ्गै बसेर जय नेपाल जी
तपस्या गरिरहनु भएको छ
शुशासनको तपस्या
ऐले फाइल खोल्यौ भने
तपस्या भङ्ग हुन्छ
शुशासन भरङ्ग हुनेछ ।
फाइलभित्र
जयनेपालजीका
स्वास्नी छोराछोरीहरू पनि छन्
ती पनि चरि नाङ्गै छन्
फाइलभित्र चरि नाङ्गै बसेर
तपस्यारत जय नेपाल जीलाई
ती चमर हम्किरहेछन् !
भएभरका फाइल खोल्यौ भने
नेपाल ह्वाङ्गै देखिन्छ
सबै नाङ्गै देखिन्छन्
हाकिम, न्यायधीश
उद्योगपति, व्यापारी
सबै नाङ्गा नाङ्गै देखिन्छन् !
फाइल खोलेर हेर्न बानी परेपछि
कपडा लगाएका मान्छे देख्दा पनि
तिमीलाई अनौठो लाग्न थाल्ने छ
तिमी आफैले पनि
कपडा लगाएको छु भनेर यकिन गर्न
पटक–पटक जीउ छाम्नु पर्नेछ
पटक–पटक ऐना हेर्नु पर्ने छ ।
कम्ता गाह्रो छ
फाइलभित्र लुकेर बस्न
त्यो पनि नाङ्गै बस्न !
कुन बेला भूइँचालो आइदिन्छ
र नाङ्गै भुतुङ्गै दौडनु पर्छ ।
यसरी मान्छेलाई
नाङ्गै दौडनु पर्ने काम गर्दै नगर
भो अब फाइल खोल्ने काम गर्दै नगर ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies