पवन जायसवाल/मध्यान्ह
नेपालगञ्ज : वरिष्ठ साहित्यकार कल्पना पौडल ‘जिज्ञासु’को कथासंग्रह 'कचहरी' एक कार्यक्रमका बीच शनिबार नेपालगञ्जमा विमोचन गरिएको छ । कल्पना फाउण्डेसन नेपाल, बाँकेद्वारा यहाँ आयोजित एक विशेष समारोहमा 'कचहरी' विमोचन कार्यक्रमका साथै दुई जनालाई पुरस्कार तथा सम्मान पनि प्रदान गरिएको थियो ।
लुम्बिनी प्रदेश विश्वविद्यालय आयोग सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यता तथा फाउण्डेसनकी अध्यक्ष जिज्ञासुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कथाकार सनत रेग्मीलाई साहित्यतर्फ 'मनिकर्णा–टिकाराम स्मृति पुरस्कार'द्वारा सम्मानित गरिएको थियो । त्यसैगरी समाजसेवातर्फ मानव सेवा आश्रम, बाँकेका संयोजक उर्विन सापकोटामार्फत 'देउकला–टीकानिधि स्मृति पुरस्कार'द्वारा मानवसेवा आश्रम नेपालगञ्जलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. घिमिरे, विशिष्ठ अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशिराम कार्की, पूर्व प्राज्ञ सनत रेग्मी, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र बहादुर भण्डारी, भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरि तिमिल्सिना, मानव सेवा आश्रम, बाँकेका संयोजक उर्विन सापकोटा, साहित्यकार किरण आचार्य, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि ‘कोपिला’, प्रगतिशील लेखक संघ बाँकेका पूर्व अध्यक्ष पंकज श्रेष्ठ, साहित्यकार मणि अर्याललगायतले कथा संग्रह 'कचहरी'बारे आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा वक्ताहरुले कचहरी कथा संग्रहमा रहेका १५ वटै कथाहरुले समाजको यथार्थ चित्रण गर्न सफल भएको, उत्पीडनमा परेका महिला, वृद्धाहरुका समस्या, वैदेशिक रोजगारका समस्या, मधेशी, मुस्लिम, थारु र पहाडी समुदायका समस्याहरुलाई सामाजिक विषयवस्तु बनाएर कथाको वनोटमा बुनिएकोले कथाहरु पठनीय रहेको, विषयवस्तु महिलावादी र प्रगतिवादी रहेको, विषयवस्तु र भाषा शैलीको हिसाबले कथा उत्कृष्ट रहेको भन्दै कृतिकारलाई बधाई तथा कृति सफलताको शुभकामना दिएका थिए ।
साहित्यकार चरित्रा शाहले कचहरी कथा संग्रहको परिचयात्मक मन्तव्य दिएकी थिइन् भने संस्थाकी अध्यक्ष तथा कृतिकार जिज्ञासुले आफ्नो कृतिको बारेमा संक्षिप्त धारणा राख्दै सम्मानित व्यक्ति तथा संस्थालाई बधाई दिएकी थिइन् ।
हिमालय टाइम्सका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको समेत उपस्थित रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य साहित्यकार तथा फाउण्डेसनका संस्थापक सदस्य ऋषिराम सापकोटाले दिएका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव लेकप्रसाद प्याकुरेलले गरेका थिए ।
फाउण्डेसनका संस्थापक सदस्य ऋषि राम सापकोटाका माता पिताको नाममा स्थापना गरिएको 'देउकला–टीकानिधि स्मृति पुरस्कार तथा सम्मान' र जिज्ञासुका माता पिताको नाममा स्थापित 'मनिकर्णा–टिकाराम स्मृति पुरस्कार तथा सम्मान' हरेक वर्ष दुई जनालाई प्रदान गर्ने गरिएको छ । पुरस्कारको राशी रु.५ हजार एक सय एक रहेको फाउण्डेसनकी अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंंघ, नेपालकी अध्यक्ष जिज्ञासुले जानकारी दिइन् ।
अध्यक्ष जिज्ञासुले गत वर्ष फाउण्डेसनबाट साहित्यतर्फ खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र बहादुर भण्डारीलाई र समाजसेवातर्फ नील सागर सेवा आश्रमलाई सम्मान गरिएको बताउँदै यस वर्षदेखि सम्मानका साथै पुरस्कार पनि वितरण गर्न थालिएको बताइन् । अध्यक्ष जिज्ञासुका अनुसार फाउण्डेसनले २०७० सालदेखि चितवनको चेपाङ बस्ती र नवलपरासीका गरिब असहाय बालबालिकाहरुलाई पढ्नका लागि छात्रवृत्ति प्रदान गर्न शुरु गरेको थियो । संस्थाले सहयोग गरिरहेका बालबालिकाहरु एसईई. परीक्षामा उत्कृष्ट जीपीए ल्याएर उत्तीर्ण भइसकेका छन् । फाउण्डेसनले बागलुङ र बाँकेमा समेत गरिब असहाय बालबालिकाहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies