– पाउलिन राई
हामीले पनि लडेका हौं युद्ध इतिहासमा
एउटा शासकहरूले हामीलाई साथ लिएर
अर्को शासकहरूको विरुद्ध लडाए
हामी पनि जन्मभूमि, मातृभूमि भन्दै शहीद भएका हौं
पराधीनबाट स्वाधीन हांै, शोषकबाट मुक्त
हामी सर्वहारा सबै शोषित हौं भन्दै
इनकलाबको नारा गाउँदै हामी हिँडेका हौं
अर्को शासकहरूको ढाल भएर उभिएका हौं ।
कराईबाट निस्केपनि झुप्रोमा झरे जस्तै,
एउटा शासकबाट उम्के पनि
अर्को शासकको कब्जामा परेका छौं
स्वाधीनताले कति मुक्ति दियो हामीलाई ?
हिजो पनि दास थियौं आज पनि दास छौं
हाम्रो आकांक्षा बिना शासकहरूको हस्ताक्षरमा
एक शासकबाट अर्को शासकको रैती भएका छौं
तर पनि यस भूमिलाई आमा भन्दै प्राण दिएकै छौं
तिरंगालाई छात्तीमा टाँसेर घर आएका छौं
किन मुक्तिको गीत गाउनु ? जब म पराधीन नै छु
शासकहरूले देखावटी दिएको भावनामा
संविधानले मौलिक अधिकार भन्दै पहिराई दिएको खास्टोमा
मैले मेरो मानव अधिकार गुमाएकी छु ।
तिनीहरूले छात्तीमा लगाई दिएको तक्मा भिर्दैमा
हामीलाई वीर भन्दैमा, हामी वीर पटक्क होइनौ
हामी त तिनीहरूले ल्याबमा पालेको
पुस्टिएका गिनिपिग हौँ
जसलाई समय भएपछि एक्सपेरीमेन्ट गरिन्छ ।
पुस्टिएको गिनिपिगको कुनै मुक्ति गान हुँदैन
शासकको मुहार फेरिएरता पनि शोषण शैली फेरिन्दैन
आफ्नै निम्ति जबसम्म लड्न सिक्दैनौ
हामी वीर हुँदै होइनौ
हामी स्वतन्त्र छँदै छैनौं
जबकी हाम्रै माटो हाम्रो छैन ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies