–मधुसूदन अधिकारी
एकजोड साडी किनिदिन्छु भनेर गुइँठेले श्रीमतीलाई भनेको थियो । देवरको बिहेमा दामीसाडी लाउन पाउँछु भनेर गुइँठेकी श्रीमति फुरुक्कै परेकी थिई । बिहेको सम्पूर्ण खर्च आफ्नै थाप्लोमा पर्न गएकाले गुइँठेलाई भित्रभित्रै सुकेनास लागे झैँ देखिन्थ्यो । नयाँ घर बनाउनु र भाईको बिहे गर्न अघि सर्नु भ्यागुतालाई तराजुमा तौलिनु जस्तै भएको थियो गुइँठेलाई ।
एकातिर मिलाउँदा अर्कोतिर मिल्दैन । बिहेको सम्पूर्ण हाटबजार, बेहुलीका गरगहना इत्यादि भइसक्यो । श्रीमतीको साडी चै किनेको थिएन । बिहेको दिन लगन नजिकै आइसक्यो श्रीमतीको साडी चै आएन यो देखेर एकदिन् उसकी श्रीमती रिसले मुरमुरिन्दै बेलुन फुलेझैं फूलेर बम् भई । कुरै कुरामा दुबै दम्पतीबीच घमासान वाक्य शब्दको कम्पिटिसन् हुन् थाल्यो । उडुस् र मच्छरले टोकेको पुरूषहरुले सहन सकलान् तर, श्रीमतीको वाक्य बान् को टोकाइ त सहन् निकै धर्यवान् व्यक्तिहरूले मात्र सकलान् । अश्रुबानको साहारा लिँदै गुइँठेकी श्रीमती भूतभुताउँन थाली, “बिहेभाको सात वर्ष बिते कहिल्यै आफूले मन खाएको साडी किन्देका छौ ? अरूका लोग्नेहरुले कस्ता–कस्ता साडी ल्याइदिन्छन् ।”
यसरी गुइँठेलाई श्रीमतीले शब्द वाणको झटारो हानी । साडीको तृष्णामा रिसाएकी श्रीमतीलाई फकाउनु गुइँठेले निकै प्रयास गर्यो तर, सकेन् । मोबाइलको जमानामा रिसाएकी श्रीमतीलाई फकाउनुभन्दा बरु नयाँ प्रेमिकालाई पट्याउँनु नै सजिलो थियो नि तर के गर्ने पड्के कोरोनाले नारी जति सबैलाई दिदी–बैनी बनाइदियो ।
तपाईं पनि जानी राख्नुहोस् रिसाएकी श्रीमतीको छेऊमा जानुअघि आफ्नो दाँत पहिले चेकगर्नु होला फोल्डिङ्ग दाँत लगाउनु भएको छ भने बाहिरै फुकाली जानुहोला । नौ ग्रह बिग्रिएमा पण्डितद्वारा शान्त होलान् तर, केही कथन नारीग्रह रुष्ट भए भने शान्त हुन् अलिक समय लिन्छन् । अझै एउटा कुरा जानी राख्नुहोस् रावणसँग युद्ध गर्न सकिएला तर, नारीजातीसँग युद्ध गर्न सकिँदैन, यसैकारण उहाँहरुलाई आदिशक्ति भनिएको होला मलाई लाग्छ ।
गुइँठे गाउँमा बिहेको निम्तो बाँड्न गयो । यता उसकी श्रीमती छेपारोले रंग फेरे झैं रङ्ग फेर्दै भित्र चुलाकोठामा पसि । हल्का रुगा (सर्दी) लागे छ क्यार, स्याक्कसुक्क नाकतान्दै घोप्टोपरि लामा लामा नङग्राका नेलपलिस् उक्काउन थाली । गाउँमा निम्तो बाँडेर गुइँठे घर आई पुग्यो र उसलाई साह्रै भोक लागेको हुनाले सरासर भान्सा कोठाभित्र पस्यो । भातदाल त पाक्न परै जाओस् त्यहाँ त ठूलो भूँइचालो आएर हो कि श्रीमतीको रणचण्डी शक्तिले हो भान्सा कोठाको भाँडाकुडा, थालबटुका सबै बाहिर आँगनमा ताण्डब नृत्य गरि रहेका थिए । घरभित्रका समान सबै छरपस्ट देखेर गुइँठे आफ्नो कोठाभित्र पस्यो त्यहाँ उसकी श्रमती व्यञ्जन वर्ण को ‘द’ जस्तै भएर सुतिरहेकी थी । गुइँठे रिसले बम किएर एकपल्ट झपारो श्रीमतीलाई तर केही असर पारेन झन् रिएक्सन गर्यो । श्रीमतीले जन्मसिद्ध पाएको बरदान उनको रुन्चे संगीत भोल्यूम बढ्दै गयो । पल्ला घरकी आमै श्रीमती रोएको सुनेर गुइँठेलाई भन्छिन् – “अइ गुइँठे यो साँझमा बुहारी किन्न रुन्छे कुटिस् कि क्या हो ?” गुइँठेले लाज पचाउँदै आमैलाई भन्यो, “ए आमै यो पाली हामीले रुन्चे संगीत प्रतियोगितामा भाग लिएका छौं अनि पूर्वाभ्यास गरेको ।” गुइँठेको कुरा सुनेर श्रीमतीलाई हाँस् त उठनु समन उठेको छ नि तर यहाँ हाँस्नु भएन किन् की श्रीमानलाई घुर्कि देखाउँनु छ । अन्त्यमा श्रीमतीदेखि गुइँठेले हारमानी मिठो बचनले भन्यो, “हेर मिना यसरी तिमी नरिसाउ । शाहजहाँले आफ्नी श्रीमतीको यादमा विश्व प्रसिद्ध ताजमहल बनाए भने के म तिमीलाई साडी किन्दिन् सक्दिन र ? साडी किन गाडी मागन् ।”
यस्तो मिठो बोलिबचन लोग्नेमान्छेबाट श्रीमतीले सुन्न पाउँदा त्यो घरभित्रका झिटीमिटीहरू अघि आँगनमा छरिएका थिए सबै भित्र प्रवेश गरेछन् । देख्नु भयो त आइमाई रिसाउँदा घरको झिटीमिटीहरू चकनाचुर हुन् कतिबेर लाग्दैन् । त्यतै लोग्ने स्वास्नी मिलेपछि सिनेमाको प्रोग्राम बनिनु कति समय लाग्दैन् । दाम्प्त्य जीवनमा बेला मौका लोग्ने स्वास्नी बीच यसो ठ्याक ठुक नपरे विवाहित जीवनको आनन्दै ।
स्वास्नीले एउटा निहुँ खोजेर कुनैदिन भाँडभैलो गरी भने आफूले पनि उखरमाउँलो लाउनु भएन । स्त्री जातिसँग मल्ल यूद्ध गरी कुटपिट गर्नु पुरुषलाई शोभा दिँदैन । भाईको बिहे भयो नयाँ दुलही घर भित्राए हर्ष उल्लासको नाचगान हुँदै थियो । बिहेमा आएका अतिथिहरुका भिडाभिड, थियो त्यही समय अचानक गुइँठे लरखराउँदै भुइँमा लड्यो । बिहे घरमा निकै खलबली मच्चियो त्यहीबेला गुइँठेकी श्रीमती अतिन्दै आई र रुँदै भन्छे, “हे भगवान यो के भयो मेरो गुइँठेलाई बचाई देऊ, मलाई केही चाहिँदैन”
यसो भन्दै श्रीमती बिलौना गर्दै थी त्यही बेला गुइँठे छातीमा हात राखी जुरुक्कै उठ्यो र भन्यो, “यो मेरो हृदयरोग हो ।” श्रीमतिले च्याप्प अंगालो हालेर रोई । सबै कुरा शान्त बन्यो । सम्बन्ध फेरि उस्तै मिठास बन्यो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies