–नारायण पौडेल
“ए हजुर हो ! सुन्नुहोस् कसैले सुनिन भन्न पाउनु हुने छैन, डाँडाघरे कान्छा हिजो दिउँसोबाट हराएकोले खोजीका लागि दुलै पिच्छेबाट एकएक जना निस्कनु अरे हो....!”
झिसमिसेमा स्कुल ग्राउन्डको डिलमा उभिएर कटुवाल बुढाले घोक हाले ।
जीवनको उकालो चढिसकेका कटुवाल बुढाको दाँत झरिसकेको थियो । त्यसैले पनि उनको बोली प्रष्ट सुनिदैनथ्यो । कतिले बुझे कतिले बुझेनन् । वल्लो गाउँका लागि स्कुल ग्राउन्डको डिलबाट र पल्लो गाउँको लागि डिलको थुम्को गरि दुई ठाउँबाट घोक्ने चलन थियो । उनले अर्काे ठाउँमा गएर घोक हाले । नबुझेकाहरूले फेरि कान थापेर सुने ।
“कहिल्यै घर नछोड्ने डाँडाघरे कान्छा बुढा कता हराए त ?” सबैको मनमा एउटै प्रश्नले डेरा जमायो । उत्तर कसैसँग पनि थिएन ।
गाउँले सबै डाँडाघरे कान्छाको आँगनमा जम्मा भए । उनकी श्रीमती राममायाले पिलपिल गर्दै भनिन् “दिउँसोसम्म कोठामै सुतेका थिए, म बाख्रालाई स्याउला लिन पाखातिर गएँ, आउँदा थिएनन् !”
उनको कुरा सुनेपछि कोही खोलातिर, कोही वनतिर र कोही भीर पाखातिर खोज्न गए । चारै दिशा खोजी कार्य शुरु भयो । उनी कतै फेला परेनन् ।
उनको खोजी कार्य पहिलो दिन, दोस्रो दिन, तेस्रो दिन हुँदै चौथो दिनमा चल्यो । खोज्दा खोज्दै गाउलेहरू सबै थाकिसके तर पनि उनको कुनै फाल फेला पर्न सकेन ।
चौंथो दिन झमक्क रात परिसकेको थियो । एउटा समाचार आयो । “एकजना भुपु लाहुरेले काजिरामको घरभित्र मान्छेले खोकेको आवाज आफूले सुनेको कुरा बतायो अरे !”
परिवार सबै शहर पसेकाले काजिरामको घर लामो समयसम्म खाली थियो । पातल वनसँग जोडिएको काजिरामको घर गाउँको किनारामा थियो । सबैले शंका गरे डाँडाघरे राती त्यो घरमा बसेका हुनसक्छन् ।
गाउँलेहरू बिहान उज्यालो भएपछि काजिरामको खाली घरमा गएर हेरे । डाँडाघरे कान्छा त भेटिएनन् तर, काफलका बियाहरू प्रशस्त भेटिए । भूइँमा पाको मान्छेका चप्पलका छाप पनि देखिए । यसबाट डाँडाघरे कान्छा बिहानै जंगल पस्ने, दिनभरि जंगलतिर ऐँसेलु काफल खाएर बस्ने र रात परेपछि काजिरामको घरमा सेल्टर लिने गरेको र त्यो बिहान पनि डाँडाघरे झिसमिसेमा जंगल पसिसकेको हुन सक्ने अनुमान लगाए गाउँलेहरूले ।
गाउँलेहरूको खोजी समूह गाउँको तलतिर झर्दै थियो बाटोमा घुराने दाइ भेट्टिए । “डाँडाघरे कान्छालाई मैले हिजो बिहान भैंसी खोज्न जाँदा भन्ज्याङको चौतारीमा भेटेको हुँ, मलाई देखेर लुक्न खोजे !” घुराने दाइले अर्काे खबर ल्याए ।
डाँडाघरे बिहानै उठेर जंगल हैन सिधाने गाउँतिर हानिएको कुरा पत्ता लाग्यो । खोजी कार्य अब भन्ज्याङ तलको सिधाने गाउँतिर सोझियो । उनको आफन्तको घर सिधानेमा थियो । त्यतै गएको अनुमान लगाएर गाउँलेहरू सिधाने गाउँतिर लागे ।
डाँडाघरे सिधाने गाउँको आफन्तको घरमा भेटिए । चार÷पाँच दिनदेखि छापामार शैली अपनाएका डाँडाघरेले गाउँलेका अगाडि खुट्टाले टेक्न मानेनन् । उनले आफू बिरामी जस्तो बनेर उठ्नै नसक्ने सिरियस बिरामीको बहाना बनाए । खुट्टा टेक्न मानेनन् । बाटो करिब चार घण्टा लामो थियो । डाँडाघरेलाई डोलीमा बोकेर लैजाने निधो भयो । गाउँलेहरूले उनलाई तन्नाको डोलीमा बोकेर घर ल्याए ।
डाँडाघरे कान्छा उपाध्याय बाहुनका छोरा थिए । राममाया क्षेत्रीकी छोरी । दुबैको घर नजिकै थियो । वन जंगल, मेलापात सँगसँगै हिँडे । एक अर्काले भित्रभित्रै मन पराए । उनीहरूको माया प्रेम झाँगियो । एक आपसमा छुट्नै नसक्ने अवस्थामा पुगे ।
त्यतिबेलाको कठोर संस्कारलाई चुनौती दिएर डाँडाघरे कान्छाले राममायालाई भगाएका थिए ।
राममायाका दाजुभाइ दिदिबहिनी कोही थिएनन् । बाउ छोरी मात्रै थिए । भएको सम्पत्ति खाने कोही थिएन । बाबुको शेषपछि त्यो सम्पत्ति राममायाको नाममा आएको थियो ।
बाउको सम्पत्तिबाट प्राप्त हुन आएको बेसी खेतबाट २० मुरी गुडुरा धान भित्र्याउँथे । त्यही बेसी खेतको अन्नले पाँच जना छोराछोरीको पालन पोषण गरे उनीहरूले । जग्गाको मूल्य पनि उतिबेला राम्रो थियो । डाँडाघरे कान्छा आफ्नो घर छोडेर ससुरालीमै घर ज्वाईँ बसे । जिन्दगीको उर्वर समय सुखद तरिकाले बित्यो उनीहरूको ।
समयक्रममा तिव्र बसाइँसराइको कारणले गाउँको जग्गाको मूल्य कम हुँदै गयो । कोदो मकै लगाउने बारीका पाटाहरू वनमाराले भरिए । स्थिति यस्तो बन्न गयो कि कसैलाई त्यसै कमाएर खाभन्दा पनि कसैले नमान्ने स्थिति बन्यो । उनीहरूका तीन वटा छोराहरू तीनतिर छरिएका थिए । छोरीको पनि बिहे भैसकेको थियो । घरमा दुई बुढाबुढी मात्रै बस्थे । हुँदाहुँदा जग्गा नै बाँझो बस्ने अवस्था सिर्जना भयो ।
बुढाले बुढी र बुढीले बुढाको मुख हेरेर चित्त बुझाएर बसेका थिए । राममायालाई बुढेसकालले छोइसकेको थियो । उनमा जैविक आवश्यकताको भोक थिएन । तर गाउँको अर्गानिक आँटो पिठो र सागपात खाएर हुर्किएका डाँडाघरे कान्छा ७० पुग्नै लागेपनि अझै हट्टाकट्टा थिए । उनी जैविक आवश्यकताका भोका थिए । तैपनि राममायाले बेला–बेला डाँडाघरे कान्छाको जैविक आवश्यकता पूरा गरेकी थिइन् ।
एकदिन सम्पत्तिको विषयमा राममाया र डाँडाघरेको बीचमा ठाकठुक पर्यो । उनले आफ्नो माइतीको पेवाले पालिएको भनेर घोचपेच गरिन् । दुुई पैसा नपर्ने सम्पत्तिको धाक देखाएर घोचपेच गरेको डाँडाघरे कान्छालाई मन परेन ।
उनीहरूबीच झगडा भयो । झगडा भएको दिनपछि जैविक आवश्यकताको भोक मेट्ने मेटाउने क्रम राममायाले अस्वीकार गरेपछि बन्द भयो ।
एकदिन बिहानको खाना खाएर डाँडाघरे कोठाभित्र पसेर बिस्तारामा पल्टिए । उनको मनमा अनेक विचार खेल्न थाले ।
“यो घर ज्वाईं बस्न त शत्रुलाई पनि नपरोस्, एउटा झुपडी नै बरु किन नहोस् आफ्नै माटोमा बनेको हुनुपर्ने रहेछ !” उनले मनमनै सोंचे । उनलाई छोराहरूले शहरमा नबोलाएका पनि होइनन् । उसैको मायाले रोकिएका थिए डाँडाघरे कान्छा ।
“थुइक्क ! छोराहरुले बोलाउँदा जानुपर्ने रहेछ, नगएर आज दुःख पाएँ ।” ग्लानीले उनको मन छियाछिया भयो ।
सम्पत्तिको धाक लगाउने र कहिलेकाहीँको चाहाना पूरा नगर्ने श्रीमती राममायालाई उनले सबक सिकाउने निधो गरे । दिउँसो बाख्रालाई घाँस लिन गएको मौका छोपेर उनी घरबाट सुटुक्क निस्किए र जंगल पसे ।
उनले साथमा केही पनि लगेका थिएनन् । खानका लागि जंगलमा प्रशस्त काफल र एँेसेलु पाकेको थियो । त्यही ऐँसेलु र काफल खाएर उनले चार दिन बिताए । उनलाई हल्का चिसोले भेट्यो । खोकी लाग्यो । खोकीलाई बलजफ्ती रोक्न खोजे तर, सकेनन् । यदि खोकी नलागेको भए डाँडाघरे कान्छालाई फेला पार्न सजिलो थिएन ।
डाँडाघरे कान्छाको प्रेम विवाह भएकोले विवाहमा डोली चढ्न पाएनन् । त्यो धोका उनले बिरामीको बहाना बनाएर डोली चढे र पूरा गरे । डोलीमा बोकेर ल्याएका डाँडाघरे कान्छा भोलिपल्टदेखि ठमठमी हिँडेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies