काठमाडौं : नियात्राकार राजेन्द्रमान डंगोलद्वारा रचित नियात्रा संग्रह ‘बादलडाँडा'को लोकार्पण गरिएको छ । प्रमुख अतिथि प्रा.डा. रमेशप्रसाद भट्टराईले एक कार्यक्रमका बीच नियात्रा संग्रह ‘बादलडाँडा'को लोकार्पण गरेका हुन् ।
उक्त संग्रह लोकार्पण गर्दै प्रा.डा. भट्टराईले डंगोलका नियात्रामा आत्मपरक लेखनको प्रभाव, पर्यावरण संरक्षण र स्थानीय जनजीविकाका सवालमा नियात्रा रचिएको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि ,नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा समालोचक डा. धनप्रसाद सुवेदीले नियात्राकारले भूगोल, संस्कृति र समाजको सौन्दर्यलाई आत्मसात गर्दै रचिएको ‘बादलडाँडा’ नियात्रा संग्रह स्तरीय र पठनीय रहेको बताए । उनले चीनमा अध्यापनरत रहँदा चिनियाँ विद्यार्थीहरूलाई उत्कृष्ट सामग्री सिफारिस गर्न धौधौ परेको धारणा राख्दै ‘बादलडाँडा’ जस्ता कृतिले त्यस अभावलाई मेट्ने बताए । साथै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरू रारा साहित्यिक महोत्सवमा सहभागी हुँदा जेजस्ता टीकाटिप्पणीहरू भएपनि त्यो नियात्रा लेखनका लागि महत्वपूर्ण साहित्यिक खुराक भएको दृष्टिकोण सबैले राख्नुपर्ने उनले बताए ।
यस्तै कवि तथा समालोचक डा.विन्दु शर्माले नियात्राकार डंगोलको 'बादलडाँडा'मा यथार्थ र तथ्यपरक सूचना समेटिएको बताउँदै घुमफिरका क्रममा स्थानीय ठाउँको सूक्ष्म दृष्टिकोणसहित पर्यटन प्रवर्द्धन,आर्थिक विकास, विसंगति, जीविकोपार्जनको अवस्था, पर्यावरणमा आएका असर र जोखिमका बारेमा स्पष्ट पारेको बताए ।
यसैगरी समालोचक राम लोहनीले नियात्राकार डंगोलको लेखनशैली र भाषामा परिष्कार रहेको बताए । कवि तथा समालोचक आर.एम. डंगोलले नियात्राकार डंगोलको परिचय, व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै नियात्रा लेखनमा डंगोलले नयाँपन दिएको आभास भएको बताए ।
नियात्राकार डंगोलले लेखकका कृतिहरू सार्वजनिक भएपछि सबैको सम्पत्ति हुने बताउँदै ‘बादलडाँडा’ पाठकको मनमस्तिष्कमा रहे मात्र नियात्राकार बाँच्न सक्ने बताए ।
कार्यक्रममा प्रा.डा. ऋषिराम शर्मा, पर्यटन व्यवसायी तथा समाजसेवी आङछिरिङ शेर्पा, टानका पूर्वअध्यक्ष नवराज दाहाल र नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले शुभकामना मनतव्य राखेका थिए । यसैगरी गाउँ पर्यटन मञ्च (भिटोफ)का महासचिव निशेष थापाले स्वागत मनतव्य र भिटोफका पूर्वअध्यक्ष बोधराज भण्डारीले धन्यवाद ज्ञापन गरे । भिटोफ नेपालका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण कवियत्री लक्ष्मी रूम्बाले गरेकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies